पारिश्रमिकवापत्‌को १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित स्थानीय तहलाई दिने पाँचखालका मेयरको घोषणा

आश्विन २१, २०८१

ज्योती श्रेष्ठ

Panchkhal mayor's announcement to give 15 lakh rupees as salary to local level affected by flood and landslide

काभ्रे — पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो सेवासुविधावापत आउने रकम बाढीपहिरो प्रभावित स्थानीय तहलाई दिने घोषणा गरेका छन्। उनले आफ्नो सेवासुविधावापत तीन वर्षको एकमुष्ट १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित स्थानीय तहलाई हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।

 आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर मेयर खरेलले आफ्नो तीन वर्षको नगरबाट प्राप्त हुने सेवासुबिधा काभ्रेपलान्चोक जिल्लामा गतसाताको वर्षाका कारण क्षति भएका पालिकाहरुलाई राहत स्वरूप सहयोग गर्ने घोषणा गरेका हुन् ।

'पाँचखाल नगर भन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भएपनि सहयोग होस् भनेर यो निर्णय गरेको हुँ,' खरेलले भने । बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिव प्रसाद हुमगाई, मधु प्रसाद आचार्य,  गणेश लामा लगायतले नमोबुद्द, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपालसमेत वितरण गरेका छन् । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully