काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२९ नेपालको विषयवस्तु प्रस्तुतिका लागि मौका भएको बताएका छन् । अजरबैजानको ट्रेन्ड न्यूज एजेन्सीलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् ।
कोप-२९ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको राजधानी बाकु पुगेका राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारणले गर्दा मानवीय सभ्यता, संस्कृत र पृथ्वीलाई नै असर परेको कारण मानव इतिहास नै संकटमा परेको बताए । ट्रेन्ड न्यूज एजेन्सीको अग्रेंजी संस्करणमा आएको अन्तर्वार्तामा पौडेलले संयुक्त राष्ट्रसंघले उक्त संकटको बारेमा सबैलाई भने पनि जलवायु परिवर्तनका सम्बन्धमा आवश्यक तयारी नभएको उल्लेख गरेका छन् ।
पौडेलले भनेका छन्,‘यही हिसाबमा हुने हो भने यो शताब्दीको अन्त्यसम्ममा ३.१० डिग्री सेल्सियस तापक्रम पुग्नेछ ।’ उनले तापक्रम बढ्नबाट रोक्न सबै मिलेर भूमिका खेल्नु पर्नेमा जोड दिए । 'यसको लागि नेपालले सहयोग पनि गर्ने छ,' उनले भने,‘बाकु कोप-२९ सफलताको लागि नेपालको पूर्ण सहयोग रहने छ ।’
