अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमन

डेमोक्र्याट प्रतिस्पर्धी कमला ह्यारिसको भन्दा करिब ५० लाख बढी लोकप्रिय मत, दोस्रो चुनाव हारेर तेस्रोमा जित हासिल गर्ने ग्रोभर क्लेभल्यान्डपछि ट्रम्प दोस्रो राष्ट्रपति

कार्तिक २२, २०८१

बुद्धिसागर मरासिनी

Trump's return to the US presidency

काठमाडौँ — अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । २७० भन्दा बढी इलेक्टोरल मतसहित ट्रम्प विजयी भएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ मतमध्ये कम्तीमा २७० इलेक्टोरल मत ल्याउनुपर्छ । चार राज्यको नतिजा सार्वजनिक गर्न बाँकी रहँदा ट्रम्पले २९२ मत प्राप्त गरेका छन् ।

डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गरेकी छन् । निर्णायक ठानिएका सात ‘स्विङ स्टेट्स’हरू पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, विस्कन्सिन र नेभादा ट्रम्पले जितिसकेका छन् । अमेरिकाका ५० राज्यमा जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ मा ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । 

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ । दुईमध्ये जुनसुकै उम्मेदवार विजयी हुन सक्ने राज्यलाई ‘स्विङ स्टेट्स’ भनिन्छ । ट्रम्पको पुनरागमन अमेरिकामा विरलै हुने मध्येको घटना हो । यसअघि १८८५ देखि १८८९ सम्म राष्ट्रपति रहेका ग्रोभर क्लेभल्यान्ड चार वर्षपछि १८९३ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

ट्रम्प सन् २०१६ देखि २०२० सम्म राष्ट्रपति थिए । २०१६ मा उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई अनपेक्षित रूपमा हराएका थिए । उनी २०२० मा भने जो बाइडेनसँग पराजित भएका थिए । संयोग, उनले पराजित गरेका दुवै उम्मेदवार महिला परेका छन् । बाइडेनसँग पराजित हुँदा ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेका थिए । त्यसक्रममा ट्रम्पले कार्यकर्तालाई उक्साएका कारण २०२१ जनवरी ६ मा संसद् भवन क्यापिटोल हिलमा दंगा मच्चिएको थियो । त्यसले अमेरिकी राजनीतिमा उनको छवि नराम्ररी बिग्रिएको थियो । उक्त कदमपछि ट्रम्पको डेमोक्रेटिकका साथै कतिपय रिपब्लिकन नेताले पनि चर्को निन्दा गरेका थिए । 

त्यसयताका चार वर्षमा उनले विभिन्न झमेला झेले । उनीविरुद्ध संघीय र विभिन्न राज्यका अदालतमा मुद्दा दायर भए । केही मुद्दामा दोषी ठहर भए । तर उनी पार्टीभित्रको दबदबा कायम राख्दै रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न सफल भएका थिए । त्यसपछि सम्हालिएका ट्रम्प अन्ततः अमेरिकी राजनीतिको सर्वोच्च पदमा आइपुगेका छन् । 

मतदाताले किन रुचाए ? 

मतदाताले खासगरी ट्रम्पलाई आप्रवासन तथा अर्थतन्त्रको मुद्दामा विश्वास गरेको सर्वेक्षणहरूमा देखिएपछि उनको निर्वाचन अभियानले यिनै विषयलाई प्राथमिकतामा राख्यो । तर डेमोक्रेटिक पार्टीका उम्मेदवार राष्ट्रपति जो बाइडेन चुनावी दौडबाट अलग भएपछि उपराष्ट्रपति ह्यारिसको प्रवेश भयो । त्यसपछि ट्रम्पको अभियान केही अन्योलमा परेको थियो । तर केही दिनमै उनी आफ्ना चुनावी एजेन्डा र सत्ताको विरोधमा रहेका मतदाताको आडमा अघि बढे । 

Trump's return to the US presidencyविभिन्न एक्जिट पोलका अनुसार ट्रम्पले परम्परागत रूपमा डेमोक्रेटिकको कब्जा रहेको मानिने युवा, हिस्पानिक र अश्वेत वर्णका मतदातालाई आकर्षित गर्न सफल भए । त्यसका लागि उनले अर्थतन्त्र, युद्ध र आप्रवासनको मुद्दालाई निकै प्राथमिकताका साथ उठाए । 

खाद्यान्न र आवासका लागि बढ्दो खर्च मतदाताका लागि आर्थिक वृद्धि र बेरोजगारी दरमा आएको कमीभन्दा महत्त्वपूर्ण देखियो । अमेरिकामा २०२२ मा मुद्रास्फीति ४० वर्षयताकै उच्च पुगेको थियो । तर पछिल्लो समय मुद्रास्फीति घटे पनि ट्रम्पले यसलाई डेमोक्रेटिकविरुद्ध चुनावी हतियारका रूपमा प्रयोग गरे । 

उनको अभियानले वेबसाइटमा राखेका २० वटा मुख्य वाचामध्ये ‘मुद्रास्फीति अन्त्य गर्ने र अमेरिकालाई फेरि किफायती बनाउने’ भन्ने एउटा हो । उनले कागजात नभएका आप्रवासीलाई देश निकाला गरेर र गैरकानुनी आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएर संघीय भूमिमा घर निर्माण कार्यक्रम सुरु गरी आवास लागत घटाउने बताए । उनले अमेरिकी ऊर्जा उत्पादन विस्तार गर्ने र आर्कटिक मरुभूमि जस्ता क्षेत्रलाई तेल उत्खननका लागि खोल्ने र ऊर्जा लागत घटाउने बताएका छन् । 

ट्रम्पले कर कटौतीको योजना पनि अघि सारेका छन् । उनले धेरैजसो विदेशी सामानमा १० देखि २० प्रतिशत र चीनबाट आयात हुने सामानमा ६० प्रतिशत कर लगाउने प्रस्ताव गरेका छन् । यसले स्वदेशी उत्पादकलाई प्रवर्द्धन गर्ने र आउटसोर्सिङ रोकिने उनको दाबी छ । यसले उपभोक्ताका लागि मूल्य बढ्ने जोखिम भने छ । 

ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा आप्रवासनको मुद्दा जोडतोडका साथ उठाएका थिए । ‘मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने’ उनको नारा नै थियो । ट्रम्पले पर्खाल बनाएर सीमा बन्द गर्ने वाचा गरेका छन् । उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सले दस लाख मानिस ‘डिपोर्ट’ गर्ने बताएका छन् । ट्रम्पले कागजात नभएका बासिन्दाका बालबालिका अमेरिकी नागरिकताका लागि योग्य नहुने नीति प्रस्ताव गरेका छन् ।

ट्रम्पले रुससँग वार्ता गरी २४ घण्टाभित्र युक्रेनमा युद्ध अन्त्य गर्ने वाचा गरेका छन् । रुस–युक्रेन युद्ध समाप्त गर्नु अमेरिकाका लागि सबैभन्दा राम्रो कदम भएको उनको भनाइ छ । ट्रम्पले युक्रेनका लागि आर्थिक सहयोग रोक्ने पनि बताएका छन् । आफूलाई इजरायलको कट्टर समर्थकका रूपमा प्रस्तुत गरेका ट्रम्पले अमेरिकी विश्वविद्यालय र कलेजमा प्यालेस्टिनी समर्थकले गरेको आन्दोलनको निन्दा गरेका छन् । तर उनले कहिलेकाहीं इजरायलले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । 

सन् २०२२ मा सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेपछि अमेरिकामा भएको यो पहिलो राष्ट्रपतीय चुनाव हो । उक्त निर्णय गर्ने तीन न्यायाधीश ट्रम्पले राष्ट्रपति हुँदा नियुक्त गरेका थिए । तर ट्रम्पले गर्भपतनसम्बन्धी छुट्टै कानुन बनाउन राज्यहरू स्वतन्त्र रहेको बताउने गरेका छन् । राष्ट्रपतीय बहसमा पनि उनले देशभर गर्भपतन प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर नगर्ने बताएका थिए । जसका कारण प्रतिस्पर्धी ह्यारिसले गर्भपतनको अधिकारको पक्षमा रहेका मतदाताको पनि सोचेअनुसारको समर्थन जुटाउन असमर्थ देखिएकी छन् । 

ट्रम्पले संघीय रूपमा वृद्ध व्यक्तिका लागि स्वास्थ्य बिमा प्रदान गर्ने मेडिकेयर कटौती नगर्ने वाचा गरेका छन् । पदमा रहेका बेला उनले पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको लाखौं मानिसलाई बिमासँग जोडेको ‘अफोर्डएबल केयर याक्ट’ खारेज गर्ने असफल प्रयास गरेका थिए । त्यस्तै, ट्रम्पले वातावरण संरक्षण गर्ने र सवारी साधनबाट कार्बन डाइअक्साइड उत्सर्जनमा सीमितता ल्याउने र अमेरिकी कार उद्योगलाई मद्दत नीति ल्याउने वाचा गरेका छन् । 

को हुन् ट्रम्प ? 

ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका हुन् । उनका बाबु घरजग्गा व्यवसायी र आमा म्यारी म्याकलियोड एक समाजसेवी थिइन् । तेह्र वर्षको उमेरमा न्युयोर्क सैनिक विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सिटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा अर्थशास्त्रमा स्नातक पूरा गरेका थिए । 

ट्रम्पले १९६० र ७० को दशकमा न्युयोर्क, ओहायो, भर्जिनियालगायतका राज्यमा घरजग्गा व्यवसाय सञ्चालन गरेका थिए । सन् १९७१ देखि अमेरिकाको धनाढ्यका रूपमा चिनिन थालेका ट्रम्पले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेपछि उनी अमेरिकामा चर्चामा आएका थिए । उनले १९८० को दशकमा 

Trump's return to the US presidencyएट्लान्टिक सिटीमा क्यासिनो व्यवसायमा ठूलो लगानी गरेका थिए । व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रूपमा सञ्चालन गरे । १९९० को दशकमा अमेरिकी अर्थतन्त्रमा मन्दी आएसँगै ट्रम्पका कतिपय कम्पनी टाट पल्टिएका थिए । जीवनभर र मादक पदार्थ सेवन नगरेका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत भोड्का उत्पादनसमेत गरेका थिए ।

१९८७ मा म्यानह्याटनमा रिपब्लिकन पार्टीको सदस्यका रूपमा नाम दर्ता गरेका ट्रम्प १९९९ मा रिफर्म पार्टी प्रवेश गरेका थिए । २००१ मा डेमोक्रेटिक पार्टीमा लागेका ट्रम्प २००९ मा रिपब्लिकन पार्टीमा फर्केका थिए । पहिलो पटक उनी सन् २००० मा राष्ट्रपतीय उम्मेदवार बनेका थिए तर पराजित भए । 

ट्रम्प अमेरिकाको सबैभन्दा धनी राष्ट्रपति हुन् । फोर्ब्स म्यागेजिनले उनलाई सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा ३२४ औं स्थानमा राखेको थियो । त्यतिबेला उनको कुल सम्पत्ति ३ अर्ब ७ करोड अमेरिकी डलर थियो । फोर्ब्सका अनुसार हाल उनको सम्पत्ति करिब ६ अर्ब ६ करोड अमेरिकी डलर छ । 

ट्रम्पले १९७७ मा चेक मोडल इभाना जेल्निच्कोभा विंकल्मायरसँग विवाह गरेका थिए । १९९२ मा सम्बन्ध टुट्नुअघि उनीहरूका डोनाल्ड जुनियर, इभांका र एरिक गरी तीन सन्तान भएका थिए । त्यसपछि ट्रम्पले अमेरिकी अभिनेत्री मार्ला मापलेससँग विवाह गरेका थिए । उनीहरूले १९९३ मा एक सन्तान जन्माएका थिए । मापलेससँग १९९९ मा सम्बन्धविच्छेद गरेपछि ट्रम्पले २००५ मा स्लोभानियाकी मोडेल मेलानिया क्नाउससँग विवाह गरेका थिए । उनीहरूको एक सन्तान छन् । 

अमेरिकी जनताको सानदार जित : ट्रम्प 

अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित ट्रम्पले ‘अमेरिकी जनताको सानदार जित भएको’ प्रतिक्रिया दिएका छन् । ‘यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन अनुमति दिएको छ,’ फ्लोरिडा राज्यको पाल्मबिचमा समर्थकलाई सम्बोधन गर्दै उनले भने । 

Trump's return to the US presidencyट्रम्पले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरेका छन् । ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ,’ उनले भने, ‘तपाईंको ४७ औं राष्ट्रपति र ४५ औं राष्ट्रपति निर्वाचित भएकोमा म अमेरिकी जनतालाई असाधारण सम्मानका लागि धन्यवाद दिन चाहन्छु ।’ ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा विजयी मात्र नभई लोकप्रिय मत पनि जितेको बताए । ट्रम्पलाई समर्थकले अर्बपति इलन मस्कबारे बोल्न आग्रह गरेका थिए । त्यसपछि उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ का रूपमा वर्णन गरे । ट्रम्पले मस्कलाई ‘अद्भुत व्यक्ति’ समेत भने ।

मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिस बचाउन मद्दत गरेको ट्रम्पले बताए । ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवारमा जेडी भान्सलाई छनोट गर्नु पनि निकै राम्रो कदम भएको बताए । सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् । 

सिनेटमा रिपब्लिकनको बहुमत 

रिपब्लिकन पार्टीले अमेरिकाको माथिल्लो सदन सिनेटमा बहुमत ल्याएको छ । सीएनएनका अनुसार एक सय सिटको सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५२ सिट जित्ने निश्चित भएको छ । ओहायो र वेस्ट भर्जिनिया राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूले डेमोक्रेटिक पार्टीका वर्तमान सिनेटरलाई पराजित गरेसँगै डेमोक्रेटिक पार्टीले २०२१ यता सिनेटमा बहुमत गुमाएको हो । 

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उपराष्ट्रपतिमा जेडी भान्स स्वतः निर्वाचित भएका छन् । अमेरिकामा सिनेटको अध्यक्ष उपराष्ट्रपति हुन्छन् । उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन् । सिनेटले विधयेक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ ।

४३५ सदस्यीय तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा १८० र रिपब्लिकन पार्टीले १९९ र डेमोक्रेटिक दलले १८० सिटमा जित हासिल गरेका छन् । ५६ सिटको नतिजा सार्वजनिक हुन बाँकी छ । 

(एजेन्सीहरूको सहयोगमा)

अमेरिकी राष्ट्रपति निर्वाचनराष्ट्रपति निर्वाचन

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully