कास्की — सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप भएपछि प्रदर्शनमा रहेका रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोडेका छन् ।
त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । वाई चोकबाट निषेधित क्षेत्र तोडेका प्रदर्शनकारीहरूले प्रहरीले धकेलेर राष्ट्र बैंक चोक पुर्याएको छ ।
प्रदर्शनमा रास्वपाका उपसभापति एवं सांसद डिपी अर्याल, सांसदहरू तोसिमा कार्की, सोविता गौतमलगायत नेताहरू समेत सहभागी छन् ।
गत शुक्रबार पक्राउ परेका लामिछानेलाई अदालतले बिहीबार थप ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
