एमालेले पार्टी निर्णयविरुद्ध उभिएको भन्दै रावल, पाण्डे र तिम्सिनालाई सोध्यो स्पष्टीकरण

कार्तिक ४, २०८१

कान्तिपुर संवाददाता

UML asked Rawal, Pandey and Timsina for an explanation saying that the party stood against the decision

काठमाडौँ — एमाले पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सचिवालयको आइतबारको बैठकले पूर्व उपाध्यक्ष भिम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

एमाले महासचिव शंकर पोखरेललले पार्टीको निर्णयविरुद्ध अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । उनीहरुले  व्यापारीबाट मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी भवन निर्माण गर्ने कुरा गलत भएको भन्दै अभिव्यक्ति दिएका थिए । रावलले त अन्य अन्य विषयमहरूमा पनि यसअघि देखि नै  बोल्दै आएको महासचिव पोखरेलले बताए ।

'केन्द्रीय कार्यालयको भनव निर्माणको बहसमा पार्टी निर्णयको विरुद्धमा जाने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । पार्टीको नीतिसँग असहमत भइ विचार प्रकट गर्ने पूर्व उपाध्यक्ष  भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय छ' महासचिव पोखरेलले बैठकपछि भने,'के कति कारणले त्यस्ता गतिविधि गर्नुभएको भन्ने सोधिएको छ ।'

स्थायी कमिटी सदस्य पाण्डेले 'पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो' भनेकी थिइन् ।

व्यापार व्वसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनले उल्लेख गरेकी थिइन् । 'दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ' स्थायी कमिटी सदस्य पाण्डले भनेकी थिइन्,'समय घर्की सकेकेा छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गैारव जोगाउने हो भने यो ग़लत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं ।'

केन्द्रीय सदस्य तिम्सिनाले व्यापारीले बनाइदिएको महलभन्दा आफ्नै पसिनाले सिञ्चित भवन प्यारो हुने बताएकी थिइन् । उनले निर्णय फिर्ता लिन अनुरोध गर्दै भनेकी थिइन्- हामीलाई कुनै व्यापारीले बनाइदिएको ठूलो महलभन्दा मदननगरमा जति मिल्छ त्यति नै आफ्नो पसिनाले सञ्चिएको भवन प्यारो र गर्विलो हुनेछ । म नेतृत्वसमक्ष निवेदन गर्न चाहन्छु यो निर्णय फिर्ता लिइयोस् ।हामीलाई बाँचुञ्जेल एमाले भएर स्वाभिमानकासाथ उभिनेर भूमि बाँकी राखिदिनुहोस् ।'

एमाले जग्गा दान प्रकरण

कान्तिपुर

Link copied successfully