अर्को वैकल्पिक सडक सञ्चालनमा, भकुन्डेबेंसीबाट तिमाल हुँदै सित्खा ३५ किमि मात्रै

आश्विन १९, २०८१

राजकुमार कार्कीर्

Another alternative road is in operation, from Bhakundebensi via Timal to Sitkha only 35 km

नेपालथोक (सिन्धुली) — काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाटबाट सुनकोसी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक आजबाट सञ्चालनमा आएको छ ।

भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले जानकारी दिएका छन् ।

धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सुनकोसी गाउँपालिका-३ को बीपी राजमार्गमा जोडिन्छ । रामेछाप र सिन्धुलीको सीमानाको सुनकोसी नदीको पक्की पुल सञ्चालनमा छ ।

राज्यमन्त्री तामाङ बीपी राजमार्ग भएर सित्खाहुँदै सोही रुट प्रयोग गरेर काठमाडौं जानका लागि यात्रारत छन् । मोटरसाइकल र साना सवारीका  लागि सडक खुलिसकेको र भोलिबाट यात्रुसवाहक बस सञ्चालनमा आउने राज्यमन्त्री तामाङको भनाइ छ ।

खुर्कोट–नेपालथोक खण्ड अन्तर्गत बीपी राजमार्ग भएर खुर्कोटबाट सित्खा पुग्नको लागि २० किलोमिटर छ । भकुन्डेबेंसीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै  खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ । यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डमा अस्थायी सडक निर्माण जारी छ ।

काभ्रेको मंगलटारसम्मको ८ किलोमिटर सडक आजै दिउँसोसम्ममा सञ्चालन हुने स्थानीयले जनाएका छन् । दोलखाबाट रामेछाप हुँदै बीपी मार्गमा जोडिने सडकमा पहिरो गएर अवरुद्ध भएकाले साना सवारीका लागि भकुन्डेबेंसी–सित्खा सडक उपयुक्त हुनसक्छ ।

बाढी पहिरोबाढीपहिरो

राजकुमार

Link copied successfully