बाढीपहिरोले वाग्मती र कोशीमा क्षति धेरै

ललितपुरमा २०, काठमाडौंमा १२ र भक्तपुरमा ५ जनाको मृत्यु, उपत्यकामा २२ सय ५७ घर डुबानमा

आश्विन १३, २०८१

कान्तिपुर टिम

Floods caused a lot of damage in Bagmati and Koshi

काठमाडौँ — बिहीबारदेखिको निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा ३७ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्मको प्रहरी तथ्यांकअनुसार ललितपुरमा २०, काठमाडौंमा १२ र भक्तपुरमा ५ जनाको ज्यान गएको छ भने २० जना बेपत्ता भएका छन् ।

बाढी र डुबानमा परेर १८ जना घाइते भएका छन् भने १ हजार ९ सय ८८ जनाको उद्धार गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Floods caused a lot of damage in Bagmati and Koshiभक्तपुरको जगाती क्षेत्रमा बाढीमा फसेकाको उद्धार गर्दै सुरक्षाकर्मी ।तस्बिर : अंगद ढकाल/कान्तिपुर

उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोला, बल्खु र नख्खु खोलामा बाढी आउँदा किनारमा रहेका बस्ती प्रभावित भएका हुन् । ‘काठमाडौंमा १ हजार ३ सय ४०, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा २ हजार २ सय ५७ घर डुबानमा परेका छन्,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले भने ।

Floods caused a lot of damage in Bagmati and Koshiवाग्मती नदीले डुबानमा परेको काठमाडौंस्थित थापाथली क्षेत्र ।तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

बाढीको मारमा सबैभन्दा बढी खोला किनार रहेका सुकुम्बासी बस्ती परेका छन् । बल्खुको सुकुम्बासी बस्तीका स्थानीयलाई उद्धार गर्न शनिबार बिहान नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली खटिएका थिए ।

Floods caused a lot of damage in Bagmati and Koshi भक्तपुरको जगाती क्षेत्रमा बाढीमा फसेकाको उद्धार गर्दै सुरक्षाकर्मी ।तस्बिर : अंगद ढकाल/कान्तिपुर

उद्धार र राहतका लागि काठमाडौंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटाइएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

माइक्रोबस पुरिँदा १४ को मृत्यु

धादिङस्थित झ्याप्लेखोलामा आएको पहिरोले माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार झ्याप्लेखोलामा अरू बस पनि पुरिएको अनुमानमा खोजी कार्य भइरहेको छ ।

Floods caused a lot of damage in Bagmati and Koshiधादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधन । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौंदी, झ्याप्लेखोलालगायत खण्डमा पहिरो खसेको छ । नागढुंगाको सुरुङ मार्ग आसपास अड्किएका करिब ४ सय यात्रुलाई धादिङ प्रहरीले गृह मन्त्रालयसँगको समन्वयमा सुरुङ मार्गबाट काठमाडौं ल्याएको छ । धादिङ प्रहरी प्रमुख गौतम केसीका अनुसार चन्द्रागिरिका ४ वटा बसमा उद्धार गरिएको हो ।

राजमार्गमा पहिरोको जोखिम भएकाले सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेर बस्न सूचना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । धादिङको थाँक्रे गाउँपालिका–६, महादेवबेसीका ४५ वर्षीय सानु राईको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

धादिङको मलेखु खोलामा माछा मार्न गएका बेनीघाट रोराङ गाउँपालिकाको वडा ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ भने शुक्रबार पहिरोमा परेर बेपत्ता भएका थिए । खोला बढेपछि नजिकैको ओढारमा ओत लाग्ने क्रममा पहिरो खसेर उनीहरू बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी डिल्लीराज पाण्डेले बताए । धादिङको गजुरी गाउँपालिकाको वडा ७ र ८ को बीचमा पर्ने घट्टेखोलाले बगाएर दोभान खर्ककी ६ वर्षीया सइरा तामाङ पनि बेपत्ता भएकी थिइन् ।

काभ्रेमा ३४ जनाको मृत्यु, १४ बेपत्ता

बिहीबार रातिदेखिको अविरल वर्षाले काभ्रेका विभिन्न स्थानमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीपहिरोबाट धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, भुम्लुमा गरी १० जना, रोशी गाउँपालिकामा ११ र तेमाल गाउँपालिका १२ जनाको मृत्यु भएको पालिका अध्यक्षहरूले जनाएका छन् । जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

Floods caused a lot of damage in Bagmati and Koshiडुबानका कारण यातायात अवरुद्ध भएको बनेपास्थित पुलबजार क्षेत्र ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धुलिखेल नगरपालिकाका १० र ११ वडामा १–१ जना, बनेपा नगरपालिका–१४ मा २ महिला, बनेपा–१० मा १ बालक, पनौती नगरपालिका–१२ मा १ महिला, पनौती–४ मा १ बालक, नमोबुद्ध नगरपालिका–२ मा १ बालक र १ बालिका, भुम्लु गाउँपालिका–८ मा १ पुरुष गरी १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार बाढी र पहिरोमा परी हालसम्म १३ जना बेपत्ता छन् भने १६ जना घाइते भएका छन् ।

काभ्रेको तेमाल गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्द्र लामाले बताए । उनका अनुसार तेमाल–२ स्थित चुखामा एकै परिवारका ८ जनाको मृत्यु भएको छ । त्यस्तै तेमाल–७ स्थित चापाखोरीमा पहिरोले घर पुरिएर दुई महिलाको मृत्यु भएको लामाले बताए । उनका अनुसार मृत्यु हुनेमा ५५ वर्षीया एकल महिला पुतली तामाङ र उनकी बहिनी तथा तेमाल–४ मा २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको उनले बताए ।

रोशी गाउँपालिकाका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको पालिकाका अध्यक्ष दिनेश लामाले बताए । शनिबार राति ९ बजेसम्म ४ जनाको शव निकाल्न सकिएको उनले बताए । रोशी–१ मा १ जना, वडा ३ मा ३ जना, वडा ४ मा एकै परिवारका ५ जना, वडा ९ मा २ जना र वडा १० का १ जना गरी १२ जनाको मृत्यु भएको छ । उनका अनुसार रोशी–१० मा पहिरोमा पुरिएर १ जना बेपत्ता छन् ।

रोशी–७ स्थित थाङसिङ पक्की पुल बाढीले बगाएको छ । वडा ११ मा रहेको औद्योगिक ग्राम, डम्फु पार्कमा पनि बाढीले क्षति पुर्‍याएको छ । बन्दै गरेको १० शय्याको अस्पतालमा पूर्ण रूपमा क्षति भएको अध्यक्ष लामाले बताए । बाढी र पहिरोले जिल्लास्थित अरनिको र बीपी राजमार्ग खण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशीस्थित शान्ति बुद्ध आधारभूत विद्यालयमा करिब १ सय ५० जना, नार्केमा ५० जना, पिंथलीबेसीमा ९० जना यात्रु शुक्रबारदेखि अलपत्र परेका छन् ।

सिन्धुपाल्चोकमा ४ को मृत्यु

सिन्धुपाल्चोकका तीन गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा ४ जनाले ज्यान गुमाएका छन् भने ७ जना बेपत्ता छन् । जिल्ला प्रहरी सिन्धुपाल्चोकका अनुसार शनिबार सुनकोशी–४ च्यानेस्थित सिन्धुबीच रिसोर्टछेउ पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

इन्सपेक्टर किरण लामाले दुई मृतकको शव फेला परे पनि पहिचान भइनसकेको बताए । लिशंखुपाखर गाउँपालिका–३ मा तृष्णा मोक्तानको घर पहिरोले पुरिँदा उनीसहित छोरा र छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ । लिशंखुपाखर–३ मा पनि पूर्ववडाध्यक्ष काजीबहादुर तामाङसहित श्रीमती सुन्तली तामाङको मृत्यु भएको छ । 

कोशीमा १० को मृत्यु, १० बेपत्ता

बाढीपहिरोमा परी कोशी प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । जसमा पाँथचरका ६, झापाका ३ र मोरङका १ जना छन् । धनकुटामा २ र ओखलढुंगामा १ जना घाइते भएका छन् ।

फिदिम–४ मा २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरी डोल्माको पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यसैगरी फिदिम–८ भोटेगाउँका ८२ वर्षका पश्चिमा शेर्पा, फिदिम–२ मजिटेकी ३५ वर्षीया रञ्जना राई र फिदिम–१ दुमाका ५० वर्षीय गोपी विश्वकर्माको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरको फिदिम–१ साँगेबोटका राजकुमार नेम्वाङको घर बगाउँदा डेरा गरी बस्ने फुरुङ्गा हाइड्रो पावरमा कार्यरत विश्वकर्माको मृत्यु भएको हो भने हाइड्रोकै कर्मचारी फिदिम–१ का कृष्ण दास र उनकी श्रीमती कमला, फिदिम–१ का धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती सरस्वती बेपत्ता छन् । बाढीले बगाउँदा फालेलुङ–५ की ३६ वर्षीया कमला राई पनि बेपत्ता छिन् ।

त्यस्तै, धनकुटाको पाख्रीबास–५, गुराँसे देवीथानमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घर पहिरोमा किचिएर उनकी श्रीमती आशा र सासु रामकुमारीको मृत्यु भएको हो भने मिनमाया तामाङ घाइते छिन् । धनकुटाकै छथरजोरपाटी–२ मा पहिरोमा परी सृजना मगर घाइते भएकी छन् ।

सोलुखुम्बुको टाप्टिङमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड–१० टाप्टिङको चैलुङ गाउँमा टेकबहादुर मगरको घर पहिरोले पुर्दा उनकी छोरी कविता र बुहारी रुपाको मृत्यु भएको वडाध्यक्ष होमबहादुर मगरले बताए । इलामको सेते खोलाले बगाउँदा माई नगरपालिका–८ का मैतबहादुर लिम्बूको मृत्यु भएको छ । बाढीमा परेर झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका छन् । झापा, मोरङलगायतका जिल्लामा करिब ५ सय घर डुबानमा परेका छन् भने झन्डै एक हजार जना विस्थापित भएका छन् ।

नुमा थाम्सुहाङ (काठमाडौं), पोषनाथ अधिकारी (धादिङ), ज्योति श्रेष्ठ (काभ्रे), पर्वत पोर्तेल (विराटनगर), लक्ष्मी गौतम (पाँचथर) र अनिश तिवारी (सिन्धुपाल्चोक)

बाढी पहिरो

कान्तिपुर

Link copied successfully