पूर्वडीआईजी जोशीलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

म गलत संगतमा परेँ : छविलाल जोशी

आश्विन ७, २०८१

दीपक परियार

Kaski court permission to detain former DIG Joshi for 5 days

पोखरा — जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई सोही साँझ जहाजबाट कास्की लगिएको थियो । प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । 

म्याद थपअघि सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

जोशीका तर्फबाट अधिवक्ता रोचक जोशी, रोहितराज बाँस्तोला र कृष्ण थापाले बहस गरेका थिए । आरोपित जोशीले पनि इजलाससमक्ष आफ्ना कुरा राखेका थिए । त्यस क्रममा उनले ‘म गलत संगतमा परेँ, सहकारीबाट पैसा लैजाँदा सही पनि छैन, मैले पहिल्यै सेयर फरफारक गरेर गोर्खा मिडिया नेटवर्कबाट बाहिरिसकेको हो’ भनेर बताएका थिए । 

गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्षका रुपमा थिए । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष, रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । जसमध्ये राई हाल फरार छन् भने रम्तेल सूर्यदर्शन सहकारी प्रकरणमै पुर्पक्षका लागि जेलमा छन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully