पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको रकम आफ्नो खातामा नआएको दाबी गरेका छन्, तर सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमईको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो
काठमाडौँ — सञ्चालक : जीबी राई, रवि लामिछाने, छविलाल जोशीकम्पनी : गोर्खा मिडिया नेटवर्क प्रालि, हाँडीगाउँ, काठमाडौंबैंक: ग्लोबल आईएमई बैंकखाता नम्बर : ०४०१०१००००५७७मिति, कम्पनी, सञ्चालकको नाम, ठेगाना, तीनपुस्ते, तस्बिर, औंठाछाप र हस्ताक्षरसहित बैंकमा खाता खोलिएको थियो । यी सबै स्पष्ट भए पनि बैंक खाता ‘बेवारिस’ बनाउने प्रयास जारी छ किनकि पाँच सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर धमाधम चेक काटी खर्च गरेको विषयमा कानुनी कारबाही सुरु हुँदै छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको रकम आफ्नो खातामा नआएको दाबी गरेका छन्, तर सहकारीबाट ६५ करोड ५४ लाख ग्लोबल आईएमईको खाता नम्बर ०४०१०१००००५७७ मा आएको थियो, जीबी, रवि, छविको नाम, ठेगाना, तीनपुस्ते, फोटो, औंठाछाप र हस्ताक्षरसहित यो खाता खोलिएको थियो, यो खाता चेक काट्ने रविको पनि होइन भने कस्को हो ? के बैंक खाता बेवारिस हुन्छ ? कानुन भने स्पष्ट छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन भन्छ– हस्ताक्षर जसको चल्छ, खाता उसैको हो ।
नेटवर्किङ बिजनेस हुँदै मिडियामा आएका जीबी राई अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेर विश्वस्तरीय टेलिभिजन सञ्चालन गर्ने दाबी गर्दै ग्यालेक्सी टेलिभिजन सुरु गरेका थिए ।
आफ्नो कार्यक्रम सिधाकुरामा लामिछानेले भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ नगर्नुहोला । यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ।’ तर अहिले प्रमाणित भएको छ, जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएका थिए । सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि भएको छ । तर, नाम, ठेगाना, तस्बिर र हस्ताक्षरसहित खाता खोलेका रवि लामिछानेले यो खाताप्रति उत्तरदायी नहुने भन्दै उनी नेतृत्वको पार्टी रास्वपाले आफ्नै कार्यकर्तालाई अन्धकारमा राख्न प्रयास गरिरहेको छ ।
आफ्नो एकल हस्ताक्षरबाट पनि गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाता सञ्चालन गर्न तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले भरेको ग्राहक पहिचान (केवाईसी) फारम ।
लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशकसमेत रहेकाले कानुनअनुसार जवाफदेही हुनुपर्ने संसदीय समितिले प्रतिवेदनमा स्पष्ट पारेको छ । राष्ट्र बैंकका अधिकारी पनि आफ्नो संलग्नतामा खुलेको खातामा आउने र जाने रकमबारे सञ्चालक जिम्मेवार हुने बताउँछन् । ग्लोबल आईएमई बैंकको ज्ञानेश्वर शाखामा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा तीन जना सञ्चालक रहने गरी २०७७ कात्तिक ४ मा ०४०१०१००००५७७ नम्बरको खाता खोलिएको थियो । उक्त खाता गोर्खा मिडियाका अध्यक्ष जीबी राई, सञ्चालक रवि लामिछाने र छविलाल जोशीमध्ये एकको हस्ताक्षरसहित कम्पनीको छापमा सञ्चालन हुन्थ्यो ।
यही खातामा सहकारीबाट धमाधम पैसा आउने र सञ्चालक खासगरी लामिछानेको हस्ताक्षरमा खर्च प्रक्रिया चलिरहेको थियो । ‘सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, ‘जसमध्ये २२ करोड ४६ लाख ३० हजार सहकारी संस्थाबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ भने ४३ करोड ७ लाख ७४ हजार ५३८ सहकारीको रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोर्खा मिडियाको बैंक खातामा जम्मा भएको देखिन्छ ।’ त्यो खाता कम्पनीको हुने तर आफ्नो नहुने अनौठो तर्क लामिछानेले गर्दै आएका छन् ।
रविको समेत नाममा सहकारीबाट आएको पैसा र अन्य कारोबारको ‘बैंक स्टेटमेन्ट’ ।
चेकमा हस्ताक्षर गर्ने कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले कम्पनीको आर्थिक कारोबारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । समितिलाई दिएको बयानमा लामिछानेले कम्पनीमा आएको रकमबारे राईलाई थाहा हुने बताएका थिए । तर, समितिको प्रतिवेदनमा ‘ग्लोबल आईएमईमा गोर्खा मिडियाको संस्थागत खाता खोल्दा तीनै जनाले आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आएको’ उल्लेख गरेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘बैंकमा खाता खोल्दाका बखत पेस गरिएको ग्राहक पहिचान फाराम (केवाईसी) को विवरण र दस्तखत नमुना कार्डमा भएको हस्ताक्षर र सोसँगै रहेको संस्थागत खाता खोल्ने फारामको दोस्रो पानामा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने बेहोरा रहेको देखिन्छ, समितिमा प्राप्त चेकहरूमा लामिछानेका एकल हस्ताक्षरमा जारी चेक धेरै छन् ।’
कम्पनीका नाममा रहेको आफ्नो हस्ताक्षर चल्ने बैंक खातामा आउने रकमको स्रोतबारे सञ्चालकहरू राई, लामिछाने र जोशीले प्रश्न गरेको, कुनै विमति वा फरक मत दर्ज गराएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । ‘सञ्चालकद्वय लामिछाने र जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेबापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनको निष्कर्ष छ ।
प्रतिवेदनको निष्कर्षमा संस्थाका नाममा आफ्नो हस्ताक्षर चल्ने गरी खोलिएको खातामा आएको रकमको स्रोतबारे लामिछाने जिम्मेवार रहेकाले नै कारबाहीका लागि लेखिएको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाको भनाइ छ । ‘उहाँ आफू सञ्चालक रहेको खातामा आएको पैसामा जिम्मेवार हुनुपर्छ भन्ने विश्लेषण गरेका छौं । उहाँ मालिक हो र मालिक भएको कारणले जिम्मेवार हुनुपर्छ, कानुनबमोजिम कारबाही हुनुपर्छ भनेर सिफारिस गरेका छौं,’ उनले कान्तिपुरसँग भने ।
समितिको प्रतिवेदन मन्त्रिपरिषद्, अर्थ मन्त्रालय हुँदै राष्ट्र बैंक पनि जाँदै छ । अनुसन्धान र कारबाहीको जिम्मेवारी आउन लागेकाले अहिले सार्वजनिक प्रतिक्रिया दिन असहज हुने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ । तर एक अधिकारीले भने, ‘आफैं ग्राहक पहिचान फाराम (केवाईसी) भरेर खाता सञ्चालन गर्ने व्यक्तिले त्यो खाता मेरो होइन, त्यसमा कहाँबाट पैसा आयो, स्रोत के हो भन्नेबारे म जिम्मेवार छैन, मैले त चेक मात्र काटेको हुँ भन्न पाउँदैन, यो विषयमा कानुन स्पष्ट छ ।’
खातावालाहरू जिम्मेवारीबाट नपन्छिउन् भन्नकै लागि राष्ट्र बैंकको एकीकृत निर्देशन १९ मा ग्राहक पहिचानसम्बन्धी व्यवस्था गरिएको उनले बताए । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, दफा ७ अनुसार ग्राहक पहिचान फाराम भरेर खाता सञ्चालन गर्ने व्यक्ति आफ्नो खातामा कहाँबाट पैसा आयो र कहाँ गयो भन्नेबारे पूर्ण जिम्मेवार हुनुपर्छ,’ ती अधिकारीले भने, ‘खातावालाले आफ्नो नागरिकता, फोटो, तीनपुस्ते विवरण, हस्ताक्षर, औंठाछापलगायत विवरण दिएको हुन्छ, त्यो व्यक्तिले कुनै पनि बहानामा मलाई जानकारी/थाहा छैन भनेर छुट पाउँदैन ।’
गोर्खा मिडियाको बैंक खाताको सञ्चालक रहेको भन्दै राई, लामिछाने र जोशीले आफ्नो तस्बिरसहित हस्ताक्षर गरी विवरण बैंकमा बुझाएका थिए । संसदीय छानबिन विशेष समितिले राई, लामिछाने र जोशीले गोर्खा मिडियाको बैंक खाता खोल्दा भरेको फारामसहितका कागजातका तस्बिर प्रतिवेदनमा राखेको छ । लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको समयमा २०७७ माघ १ देखि २०७९ असार १ सम्ममा कम्पनीको खातामा विभिन्न सहकारीबाट करोडौं रकम आएको र लामिछानेको हस्ताक्षरले खर्च भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेले गोर्खा मिडियाबाट बाहिरिएर दल खोलेपछि २०७९ असार ८ मा तीन जनाका नाममा रहेको बैंक खाता कार्यकारी अध्यक्ष राईका नामबाट सञ्चालन गर्ने निर्णय भएको थियो । खाता सञ्चालन तथा अख्तियारीका विषयमा भएको निर्णयमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यस प्रालिको २०७९ असार ८ को निर्णयअनुसार यस गोर्खा मिडिया नेटवर्क प्रालिको तहाँ बैंकमा कारोबार सहजताका लागि खाता नं ०४०१०१००००५७७ मा कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राई, सञ्चालक छविलाल जोशी र रवि लामिछानेमध्ये कुनै एकको एकल हस्ताक्षरबाट खाता सञ्चालन भइरहेकामा अबदेखि कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईको एकल हस्ताक्षरबाट सञ्चालन गरिदिनुहुन अनुरोध गर्दछु ।’
सहकारीको बचत हिनामिना भएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरुद्ध जारी राख्दा बजेटसमेत पेस गर्न नसकिने अवस्था बनेपछि प्रतिनिधिसभाले गत जेठ १५ मा एमाले सांसद थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको थियो । समितिमा एमाले र कांग्रेसका दुई–दुई, माओवादी, रास्वपा र राप्रपाका एक–एक सदस्य थिए । समितिले भदौ ३१ मा प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेको थियो भने त्यसको पूर्णपाठ शुक्रबार सार्वजनिक भएको थियो । प्रतिवेदन आएपछि लामिछानेले सहकारी ठगीमा आफूले ‘क्लिन चिट’ पाएको अभिव्यक्ति दिँदै आएका छन्, रास्वपाका नेताहरूले पनि सोही अभिव्यक्ति दोहोर्याइरहेका छन् ।
