निधिको प्रश्न : सहकारी ठगी रकमको चेक काट्नेलाई नभई घाँस काट्नेलाई हत्कडी लगाउने त ?

आश्विन ५, २०८१

कान्तिपुर संवाददाता

Nidhi's question: Shall the handcuffs be applied to the grass cutter and not to the one who cuts the checks of cooperative fraud?

काठमाडौँ — कांग्रेस सांसद विमलेन्द्र निधिले सहकारी ठगी गरी गोर्खा मिडिया ग्रुपमा ल्याएको रकम अपचलन गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेस जिल्ला कार्य समितिको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका निधिले सहकारीको रकम अपचलन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारले कदम चाल्नुपर्ने बताए ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भइसक्दा पनि रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेको कुराको निधिले आलोचना गरे । 

संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सहकारी रकम अपचलनमा दोषी ठहर्‍याएर कारबाही सिफारिस गरेको निधिले उल्लेख गरेका थिए । समितिबाट 

दोषी ठहर हुँदा पनि लामिछानेलाई क्लिन चिट दिएको भनेर रास्वपाका नेताहरूले अभिव्यक्ति दिइरहेको बताउँदै निधिले भने, 'क्लीन चीटको परिभाषा बदलिएको हो ?'

लामिछानेले गोर्खा मिडियामा आएको रकम परिचालन मात्रै गरेकाले सहकारी ठगीमा संलग्न नरहेको भन्ने अभिव्यक्तिको पनि निधिले विरोध गरेका छन् । उनले भने, 'त्यसो भए के घास काट्नेलाई हत्कडी लगाउने त ?'

कम्पनीमा आएको रकम परिचालनका लागि लामिछानेले चेक मात्रै काटेकाले सहकारी ठगीमा उनको संलग्नता नरहेको भन्दै रास्वपाका नेताहरूको तर्कको निधिले खण्डन गरेका हुन् ।

त्यस्तै, निधिले काठमाडौं जिल्ला समितिलाई आगामी स्थानीय तहको उपनिर्वाचनका लागि तयारी थाल्न आग्रह गरेका छन् । कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बाँनियाले स्थानीय निर्वाचनको तयारीमा पार्टी लागिसकेको बताएका थिए ।  

कान्तिपुर

Link copied successfully