काठमाडौँ — रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच सहकारीबाट ६५ करोड ५४ लाख प्रवाह भएको र सबैजसो रकम उनी आफैंले चेक काटेर खर्च गरेको मात्र पुष्टि भएको छैन, बुटवलको सुप्रिम सहकारीबाट आएको दुई करोड रुपैयाँ गोर्खा मिडिया हुँदै सिधै लामिछानेका नाममा गएको पनि खुलासा भएको छ ।
तर, यो बीचमा उनले तलबभत्ताबापत १ करोड ४ लाख रुपैयाँ छुट्टै बुझेका थिए । सडक छेउ मकै पोल्ने, चिया बेच्ने, सार्वजनिक शौचालय सफा गर्ने नागरिकले जम्मा गरेको पैसामा जीबी र रविको रजगज कतिसम्म चलेको थियो भन्ने यसले पनि प्रस्ट पारेको छ ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा पैसा सारिएको थियो । कम्पनीको जुन खातामा पैसा सारिएको थियो, त्यो लामिछानेसहितका कम्पनी सञ्चालकको हस्ताक्षरमा सञ्चालन भइरहेको थियो । लामिछाने आफैंले हस्ताक्षर गरेर कम्पनीको खर्च परिचालन गरेका मात्र होइनन्, आफ्नै तलबबाहेक २ करोड र १७ लाख लगेको पनि छानबिनबाट पुष्टि भएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट दुई करोड लामिछानेका तर्फबाट गोर्खा मिडियामा आएको सहकारी र ग्लोबल आईएमई बैंकको ‘स्टेटमेन्ट’ बाट पनि देखिन्छ । तर, यो दुई करोड गोर्खा मिडियाबाट लामिछानेको खातामा गएको पनि पुष्टि भएको छ । उता सहकारीबाट उनका नाममा निकालिएको दुई करोड र ब्याजसमेत गरेर कुल २ करोड १३ लाख ६८ हजार २ सय २० रुपैयाँ २३ पैसा तिर्न बाँकी नै रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
संसदीय विशेष समितिको प्रतिवेदनअनुसार सुप्रिम सहकारीबाट लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ मा २ करोड निकालेर ४ लाख सेवा शुल्क कट्टी गरी १ करोड ९६ लाख गोर्खा मिडियाको खातामा जम्मा गरिएको थियो । सहकारीकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा उक्त रकम जम्मा गरेकी हुन् । प्रतिवेदनको अनुसूची १३ मा विभिन्न सहकारीबाट गोर्खा मिडियाको ग्लोबल आईएमई बैंक खातामा आएको रकम भनेर उल्लेख गरिएको विवरणले पनि त्यसलाई पुष्टि गर्छ ।
उता, गोर्खा मिडियाबाट ऋण तथा पेस्कीका रूपमा लामिछानेले २ करोड रुपैयाँ लिएको देखिन्छ, तलबभत्ताबाहेकको यो रकम ऋण तथा पेस्कीको शीर्षकमा लिए पनि लामिछानेले फर्छ्योट गरेका छैनन् । बरु, उनले कर्मचारी पेस्कीका रूपमा थप १७ लाख १ सय ८६ रुपैयाँ पनि लिएका छन्, यो रकम फर्छ्योट नभएको प्रतिवेदनमा उल्लेख छ ।
२०७७ फागुन ११ मा गोर्खा मिडियाले ग्यालेक्सी टीभी सञ्चालनमा ल्याउने औपचारिक घोषणा गर्ने क्रममा लामिछानेले आफू प्रबन्ध निर्देशक रहेको सार्वजनिक गरेका थिए । उनले २०७७ माघदेखि गोर्खा मिडियामा आबद्ध भएर तलब लिन थालेका थिए । कम्पनी रजिस्ट्रारको कार्यालयमा उनका नाममा सेयर दाखिला भने २०७८ वैशाख १५ मा भएको थियो ।
रास्वपा सभापति लामिछानेले आफू कुनै रकम लगानी नगरी ‘स्वेट सेयर’ का रूपमा गोर्खा मिडियाको सञ्चालक बनेको दाबी गर्दै आएका छन् । संसदीय छानबिन विशेष समितिले प्राप्त गरेको कागजातमा भने ग्यालेक्सी टीभी सञ्चालनको घोषणा हुनु तीन दिनअघि अर्थात् २०७७ फागुन ८ मा लामिछानेका नामबाट गोर्खा मिडियाको खातामा ७५ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । चैत २५ मा लामिछानेका तर्फबाट बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा जम्मा भएपछि त्यही नै आफ्नो लगानी हो भन्ने दाबी विवरण दिएर उनले कम्पनी रजिस्ट्रार कार्यालयबाट १५ प्रतिशतको सेयर कायम गराएका थिए ।
कम्पनीका पूर्वप्रबन्ध निर्देशक लामिछानेले कम्पनीको आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई नै जिम्मेवार रहेको बयान संसदीय छानबिन विशेष समितिलाई दिएका थिए । तर, समितिले प्रतिवेदनमा उल्लेख गरेको विवरणअनुसार लामिछानेको हस्ताक्षरमा गोर्खा मिडियाबाट विभिन्न कम्पनी र व्यक्तिलाई २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको चेक काटिएको छ । लामिछानेले एउटै चेक ३ करोड रुपैयाँसम्मको काटेको पाइएको छ ।
प्रतिवेदनअनुसार नोबडी प्रोडक्सन प्रालिलाई विभिन्न मितिमा गरेर दिइएको ५ करोड ८ लाख ३७ हजार ५ सय रुपैयाँको चेकमा लामिछानेको हस्ताक्षर छ । नोबडी प्रोडक्सन प्रालि गोर्खा मिडियाका तत्कालीन क्रिएटिभ डाइरेक्टर विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीका नाममा खुलेको कम्पनी हो । आचार्य अहिले रास्वपामा सहमहामन्त्री छन् । गोर्खा मिडियाबाट कम्युनिकेसन एन्ड ब्रोडकास्ट प्रालिका नाममा विभिन्न मितिमा कुल १६ करोड ३५ लाख ९२ हजार २ सय ३१ रुपैयाँको चेक पनि लामिछानेकै हस्ताक्षरमा काटिएको छ ।
गोर्खा मिडियाका अध्यक्ष जीबी राई र निजसँग सम्बन्धित व्यक्तिहरूले विभिन्न सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपचलन गरेको संसदीय छानबिन समितिको निष्कर्ष छ । त्यसमध्ये ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ विभिन्न सहकारीबाट गोर्खा मिडियामा सारेर हिनामिना गरिएको पाइएको छ । त्यसमा २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता र साहारा सहकारीबाट सिधै गोर्खा मिडियाका नाममा जम्मा गरिएको थियो भने ४३ करोड ७ लाख ७४ हजार ५ सय ३८ रुपैयाँ भने विभिन्न व्यक्तिका नाममा ऋण देखाई गोर्खा मिडियामा जम्मा गरिएको थियो । यो रकम आउने खाता भने जीबी, रवि र छविलाल जोशीको संयुक्त नाममा खोलिएको थियो ।
