सूर्यदर्शन र सुप्रिमबाट रास्वपा सहमहामन्त्री विपिन र दीपेशका नाममा ऋण

गोर्खा मिडिया नेटवर्कसाग औपचारिक सम्बन्ध नै नभएका दीपेशलाई कम्पनीबाट २ करोड ३४ लाख रुपैयाँ ऋण तथा पेस्की, विपिनका नाममा सूर्यदर्शनबाट १ करोड र सुप्रिमबाट २ करोड ३१ लाख ऋण प्रवाह

आश्विन ५, २०८१

कान्तिपुर संवाददाता

Loans from Suryadarshan and Supreme in the name of RSVP Joint General Minister Bipin and Dipesh

काठमाडौँ — पोखरास्थित सूर्यदर्शन सहकारी र रूपन्देहीको सुप्रिम सहकारीबाट रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमा छोरा दीपेशकुमार पुनका नाममा ऋण प्रवाह भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार आचार्यका नाममा सूर्यदर्शनबाट एक करोड र सुप्रिमबाट २ करोड ३१ लाख ऋण प्रवाह भएको छ ।

यस्तै, गोर्खा मिडिया नेटवर्कसँग औपचारिक सम्बन्ध नै नभएका पुनलाई कम्पनीले २ करोड ३४ लाख ऋण तथा पेस्की दिएको छ । के प्रयोजनका लागि कुन मितिमा पुनलाई रकम दिइएको थियो भन्नेबारे प्रतिवेदनमा खुलाइएको छैन । पुनले सूर्यदर्शन सहकारीबाट पनि ५० लाख ऋण लिएर नतिरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आचार्यलाई गोर्खा मिडियाले ऋण तथा पेस्की शीर्षकमा ३ करोड ३१ लाख दिएको छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने आफैंले चेकमा हस्ताक्षर गरेर नोबडी प्रोडक्सन प्रालिलाई विभिन्न मितिमा गरी ५ करोड ८ लाख भुक्तानीसमेत गरेका छन् । नोबडी प्रोडक्सन आचार्यकी श्रीमती सुरक्षा अधिकारीका नाममा स्थापना भएको कम्पनी हो । यसका साथै विपिनले गोर्खा मिडियाबाट लिएको ९ लाख ७९ हजार पेस्की पनि फर्छ्योट हुनै बाँकी छ ।

गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर रहेका आचार्यले आफ्नो निजी कम्पनीबाट कार्यक्रम उत्पादन गरी टेलिभिजनलाई बेच्ने गर्थे । उनको कम्पनीबाट उत्पादित ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ कार्यक्रम ग्यालेक्सी टेलिभिजनमा प्रसारण भएको थियो । यो कार्यक्रम ग्यालेक्सीबाट ३७ भाग प्रसारण गरिएको थियो ।

सहकारीबाट रकम लिएको बारे आचार्यले संसदीय छानबिन विशेष समितिमा इन्कारी बयान दिएका थिए । आफूले गोर्खा मिडिया मात्र चिनेको तर सहकारी संस्था नचिन्ने दाबी उनले गरेका थिए । सुप्रिमबाट आचार्यका नाममा गोर्खा मिडियाको खातामा जम्मा भएको १ करोड ५६ लाखका विषयमा छानबिन समितिले प्रश्न गर्दा उनले आफूलाई त्यसबारे केही थाहा नभएको बयान दिएका छन् । ‘यस विषयमा पनि मिडियामा आएपछि मात्र थाहा भएको हो । म सहकारीको सेयर सदस्य नै छैन,’ उनले बयानमा भनेका छन्, ‘म गोर्खा मिडिया नेटवर्कका लागि ऋण लिने पदमा नभएको बखतमा मेरा नाममा उल्लिखित ऋण कसरी आयो, जानकारी भएन । मेरा लागि मेरो खातामा तलब दिए, नदिएको र मलाई तोकिएको कामसँग मात्र मतलब थियो, अरू मलाई जानकारी भएन ।’

यस्तै सुप्रिमबाटै २०७७ कात्तिक ६ मा आचार्य सञ्चालक रहेको नोबडी प्रोडक्सन प्रालिका नाममा रहेको एनआईसी एसिया बैंकको खातामा ७५ लाख १ रकम जम्मा भएको सन्दर्भमा पनि उनले टालटुले उत्तर दिएका छन् । ‘सन् २०२० सेप्टेम्बर २८ मा मेरी श्रीमतीको स्वामित्वमा रहेको नोबडी प्रोडक्सन प्रालि र गोर्खा मिडिया प्रालिका बीचमा ग्यालेक्सी फोर के टीभीका लागि वार्षिक ३ वटा गरी ५ वर्षमा जम्मा १५ सिजन कार्यक्रम बनाउने सम्झौता भएको थियो । कार्यक्रमहरू ः को बन्छ करोडपति, सारेगमप लिटिल च्याम्प्स नेपाल, क्राइम पेट्रोल नेपाल कार्यक्रमहरूका लागि १५ करोड प्रतिवर्षको सम्झौता भएको थियो,’ उनले भनेका छन्, ‘उक्त मितिमा आएको रकम यस प्रालिको खातामा आएको थियो, जुन गोर्खा मिडिया नेटवर्क प्रालिबाट कार्यक्रम उत्पादन गर्नका लागि पेस्की रकम आएको हो । सम्भवतः पहिलो पटक आएको रकम हो ।’

यसका साथै नोबडी प्रोडक्सनले गोर्खा मिडियाबाट आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा गरेर ९ करोड ५६ लाख रुपैयाँ पेस्की लिएर पनि फर्छ्योट नगरेका विषयमा पनि छानबिन समितिले प्रश्न गरेको थियो । आचार्यले विभिन्न कार्यक्रम निर्माण गर्न पेस्की लिए पनि बीचमै काम रोकिएकाले फर्छ्योट हुन बाँकी रहेको हुन सक्ने जवाफ दिएका थिए । उनले भनेका छन्, ‘को बन्छ करोडपतिका लागि तयारी सबै पूरा भएको थियो तर सुटिङ हुने बेला रोकियो । त्यही कारणले हिसाबकिताब फरफारक भएको थिएन, त्यसैले पेस्की नै कायम रहेको होला । यस्तो स्थितिमा पनि नोबडीले पाउनुपर्ने लगभग ६ करोड रकम प्राप्त भएको छैन ।’

यस्तै, पुन सुप्रिम सहकारीको सचिव पदमा थिए । उनले आफ्नो जानकारीबिना नै उक्त पदमा राखिएको दाबी गर्ने गरेका छन् । तर, संसदीय समितिको प्रतिवेदनअनुसार गोर्खा मिडियाबाट उनलाई बिनाकारण २ करोड ३४ लाख रुपैयाँ पेस्की दिइएका कारण पुन र गोर्खा मिडियाका अध्यक्ष जीबी राईको सम्बन्ध थियो भन्ने तथ्य स्थापित हुन्छ । सुप्रिम सहकारीको रकम हिनामिना गरेको अभियोगमा पुन पक्राउ परी धरौटीमा रिहा भइसकेका छन् । 

सुप्रिमको बचत अपचलन भएको ठहर गर्दै गत वैशाख ३ मा जिल्ला सरकारी वकिलको कार्यालयले रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । आफ्नो बचत रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनाले रूपन्देही प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा सहकारीको १ अर्ब ३१ करोड रकममध्ये जीबी राई र पुनलगायतको समूहले ८६ करोड १८ लाख अपचलन गरेको प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सुप्रिम सहकारीमा १९ हजार ३ सय ९१ सदस्य छन् ।

सहकारीका पूर्वपदाधिकारी तथा संरक्षक जीबी र दीपेशले उक्त सहकारी चलाउने प्रस्ताव २०७२ मा गरेका थिए । सोहीअनुसार २०७२ मा साधारणसभा गरी सहकारीको अध्यक्षमा जीबी राई चयन भए । ओमप्रकाश गुरुङ उपाध्यक्ष हुँदा जीबी समूहका राजु बराल सचिव, दीपेश कोषाध्यक्ष बने । यस्तै जीबीका दाइ देवेन्द्रबाबु राई, सुरज श्रेष्ठ, भूपेन्द्र राई सदस्य बने । नयाँ सञ्चालक समितिसँगै सहकारीको नाम पनि मैत्रेयबाट परिवर्तन भई सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

कान्तिपुर

Link copied successfully