उडेको ३ मिनेटमै डाइनेस्टीको हेलिकोप्टर दुर्घटना : क्याप्टेनसहित ५ जनाको मृत्यु

दुई साताअघि पोखराका लागि उड्दाउड्दै सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटना सेलाउन नपाउँदै हेलिकोप्टर दुर्घटनाले नेपालको हवाई सुरक्षामा थप प्रश्न

श्रावण २४, २०८१

सुरज कुँवर

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captain

काठमाडौँ — एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्लले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुइँ छाड्नुअघि ‘फ्लाइट डिस्प्याचर’ लाई ‘स्याफ्रुबेसीबाट चाँडै फर्किन्छु, अलमलिन्न,’ भनी उडेका थिए । तर त्यसको तीन मिनेटमै शिवपुरी जंगल कट्नासाथ हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा पर्दा उनीसहित चार चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा क्याप्टेन मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको हो । 

हेलिकोप्टर उडानमा ६ हजार ३ सय ३० घण्टा बिताइसकेका ५८ वर्षीय क्याप्टेन मल्लको बुधबार यो तेस्रो उडान थियो । बिहान १०:३९ बजे उनी डाइनेस्टीको ‘नाइन नोभेम्बर–अल्फा जुलियट डेल्टा’ हेलिकोप्टर लिई लुक्लातर्फ उडान भरेका थिए । त्यहाँबाट उनी फेरिचे पुगेर २ जना विदेशीलाई ल्याई १२ बजे काठमाडौं ओर्लिएका थिए । 

‘फेरिचेमा रेस्क्यु फ्लाइट थियो,’ डाइनेस्टीका प्रबन्धक बालकृष्ण पण्डितले कान्तिपुरसँग भने, ‘त्यहाँबाट पर्यटकहरूलाई उद्धार गरेर काठमाडौं फर्केपछि उहाँ १:५४ बजे रसुवाको स्याफ्रुबेसीका लागि उड्नुभएको थियो ।’ कैलाश मानसरोवरको तीर्थयात्रा सकेर स्याफ्रुबेसीमा आइपुगेका ५ भारतीय मूलका अमेरिकी नागरिकले गरेको चार्टर उडानका लागि उनी त्यहाँ जाँदै थिए । जहाजबाट भन्दा स्याफ्रुबेसी नाकाबाट सडकमार्ग हुँदै घर फर्किंदा चाँडो पुगिने भएकाले चार चिनियाँ नागरिक पनि यो हेलिकोप्टरमा थिए । 

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captainतस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

एयरलाइन्सले दिएको जानकारीअनुसार यो चार्टर उडान महाराजगन्जको रिचा टुर्सको थियो । काठमाडौंबाट यो हेलिकोप्टरलाई उडाउँदा काठमाडौं विमानस्थलमा रहेको काठमाडौं टावरले ‘टेकअफ’ अनुमति दिएको थियो । निश्चित दूरी पर उडेपछि उक्त टावरले जहाज तथा हेलिकोप्टर अर्को ‘एप्रोच टावर’ लाई जिम्मा लगाउँछन् । क्याप्टेन मल्ललाई पनि काठमाडौं विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले त्यसैगरी ‘एप्रोच टावर’लाई सम्पर्क गर्दै स्याफ्रुबेसी उड्न निर्देशन दिए ।

दिउँसो १ बजेर ५४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकोप्टरको काठमाडौं टावरसँगको अन्तिम संवाद १ बजेर ५७ मिनेटमा भएको थियो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार, क्याप्टेन मल्लले काठमाडौं टावरसँग आफू स्याफ्रुबेसी पुग्न सतहबाट ९ हजार फिटको उचाइ हुँदै जाने भनेका थिए । तर उनले ९ हजार फिट उचाइमा हेलिकोप्टर पुर्‍याइसकेका थिएनन् । 

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captainप्रवक्ता झाका अनुसार, उडेको तीन मिनेटपछि ‘एप्रोच टावर’मा सम्पर्क गर्दै जानु भनिएको थियो । १:५७ बजेपछि क्याप्टेन मल्ल बोलेनन् । हेलिकोप्टरको सम्पर्क टावरबाट गुमेपछि एटीसीले काठमाडौं वरिपरिको आकाशमा उडिरहेका जहाजलाई ‘अल्फा जुलियट डेल्टा’ हेलिकोप्टर भीएचएफबाट बोलाउन अनुरोध गरे । उडिरहेका पाइलटले क्याप्टेन मल्ल र उनको हेलिकोप्टरको कलसाइन नै तोकेर डाके । तर, जवाफ आएन । 

उड्डयन नियमअनुसार उडिरहेको विमानसँग सम्पर्क विच्छेद भएको अवस्थामा ३० मिनेटलाई (अनसर्टेनिटी) ‘अनिश्चितता’ को अवधि मानेर खोजी गर्नुपर्छ । तर, ३० मिनेट नबित्दै नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा दुर्घटनामा परेको खबर विमानस्थलमा स्थानीयबाट प्राप्त भयो । 

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captainनिकुञ्जमा रहेको सेना, ककनीस्थित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय घटनास्थलमा पुगेर शव उद्धार गर्दै गर्दा काठमाडौंबाट खोजीका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण घटनास्थल पुग्न सकेन । हरेक हवाई दुर्घटनापछि विमानस्थलमा सक्रिय हुने गृह, रक्षा, पर्यटन मन्त्रालय तथा वायुसेवा कम्पनीसहितको उद्धार समन्वय केन्द्र (आरसीसी) ले प्रभुको बीथ्री हेलिकोप्टर त्यहाँ पठाएको थियो भने नलिञ्चोकमा डाइनेस्टीको अर्को हेलिकोप्टर ‘स्टान्ड–बाइ’ राखिएको थियो । 

काठमाडौं विमानस्थलबाट दुर्घटनास्थल करिब ११ किलोमिटर दूरीमा देखिएको छ । उडिरहेका हेलिकोप्टरलाई काठमाडौंबाटै ट्र्याक गर्ने एयर डाइनेस्टीको भी–टू ट्र्याक गर्ने यन्त्रमा यो हेलिकोप्टर ५५ सय मिटर उचाइसम्म उडेको देखिएको छ । ‘१३ वर्षदेखि उडानमा रहेका क्याप्टेन मल्लको उडानमा हामी ढुक्कै हुन्थ्यौं,’ प्रबन्धक पण्डितले भने, ‘यो हाम्रा लागि सोच्दै नसोचेको दुर्घटना भयो ।’ 

उनका अनुसार, बुधबार क्याप्टेन मल्लले उडान गर्नुअघि काठमाडौंका भिजिविलिटी प्रस्ट (कम्तीमा ५ किलोमिटर) थियो । उता रसुवाको स्याफ्रुबेसीमा पनि मौसम सफा थियो । काठमाडौंबाट उडेको हेलिकोप्टर ककनी हुँदै सूर्यचौरबाट नुवाकोटको त्रिशूली नदीलाई आधार बनाउँदै स्याफ्रुबेसी पुग्छ । यो रुटमा हेलिकोप्टरको एकतर्फी उडान समय २० मिनेट हाराहारी हो ।

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captain तर, काठमाडौंबाट उडेको ३ मिनेटमै करिब ११ किलोमिटर पर पुगेर हेलिकोप्टर दुर्घटना भएको छ । ‘यदि एकाएक बादल सामना गर्नुपर्ने अवस्था थियो भने फर्किनुपर्ने दूरीमै हेलिकोप्टर थियो, कसरी यस्तो बर्बादी आइलाग्यो हामी नै आश्चर्यमा परेका छौं,’ प्रबन्धक पण्डितले भने । 

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captainम्याग्दीका क्याप्टेन मल्ल १३ वर्षदेखि एयर डाइनेस्टीमा थिए । उनी पुरानामध्येका पाइलट हुन् । मल्लका २ छोरी र पत्नी छन् । ३० वर्षदेखि चार्टर उडानमा रहेको डाइनेस्टीसँग चारवटा हेलिकोप्टर थिए । बुधबारको दुर्घटनापछि डाइनेस्टीसँग अब तीन हेलिकोप्टर बाँकी रहेका छन् । 

नेपालमा हेलिकोप्टरतर्फ भएको यो ४१ औं दुर्घटना हो । हेलिकोप्टर दुर्घटनामा ९८ व्यक्तिले ज्यान गुमाएका छन् । यसअघि साउन ९ गते बुधबारै सौर्य एयरलाइन्सको सीआरजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उड्दा उड्दै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । दुई साताको अन्तरमै अर्को दुर्घटना भएपछि यसले सन् २०१३ मा जस्तै नेपालको हवाई सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । 

Dynasty helicopter crash within 3 minutes of flight: 5 people died including the captainयसैबीच सरकारले यो दुर्घटनाको जाँच गर्न सैनिक पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । यसको सदस्यमा सिम्रिक एयरका इन्जिनियर विष्णु बस्न्यात सदस्य र पर्यटन मन्त्रालयकी उपसचिव तनुजा पोखरेल सदस्य सचिव रहेका छन् । दुर्घटनामा संकलन गरिएका सबै शवलाई सडकमार्ग हुँदै शववाहनमा साँझ शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि ल्याइएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

हेलिकप्टर दुर्घटना

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully