हवाई दुर्घटनामा छानबिन समिति बन्छन्, प्रतिवेदन सार्वजनिक हुँदैनन् : सांसद साउद

श्रावण २४, २०८१

कान्तिपुर संवाददाता

An investigation committee is formed in the air crash, the report is not made public: MP Saud

काठमाडौँ — सत्तारुढ कांग्रेसका सांसद एनपी साउदले हवाइ दुर्घटना भएपछि बन्ने छानबिन समितिका प्रतिवेदन सार्वजनिक नहुनु, प्रतिवेदनमा दिइएका कारणको समीक्षा र सुझावको कार्यान्वयन नहुँदा दुर्घटना रोक्न नसकिएको बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा सांसद साउदले हवाइ दुर्घटनापछि गठन हुने छानबिन समितिका प्रतिववेदन सार्वजनिक गर्नुपर्ने र सुझाव कार्यान्वयन हुनुपर्ने बताए । 'हवाइ दुर्घटना निरन्तर भइरहेका छन् । दुर्घटना कसरी नियन्त्रण गर्ने ? के कारणले दुर्घटना भयो ? दुर्घटना दर किन तीव्र छ ? भन्ने बारे पटकपटक प्रश्न उठ्ने गरेको छ,' सांसद साउदले भने, 'दुर्घटनापछि छानबिन आयोग बनाउँछौं र प्रतिवेदन आउने गरेका छन् । प्रतिवेदन, के कारणले दुर्घटना भएको हो र दुर्घटना न्यूनीकरणको सुझाव के छन् भन्ने कुरा सार्वजनिक हुँदैन ।'

नेपाल नागरिक उड्डयन प्राधिकरणमा आफैं सेवाप्रदायक र आफैं नियामक निकाय हुनुका कारणले दुर्घटनापछिका प्रतिवेदन सार्वजनिक हुन नसकेको सांसद साउदको भनाइ थियो । प्राधिकरणलाई किन सेवाप्रदायक र नियामकमा विभाजन गर्न नसकिएको हो ? भन्ने प्रश्न उनले गरेका छन् । 'प्राधिकरण नियामक र सेवा प्रदायक एउटै भयो । किन विभाजन गर्न सकिएन ? कर्मचारी बलिया भएर हो कि सरकार कमजोर भएर हो ?,' उनले सोधे, 'सेवा प्रदायक र नियामक छुट्याउँदा कमिकमजोरी वा प्राविधिक खराबी हुने हो ?'

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा विभाजन गर्नुपर्ने साउदको माग थियो । 'नियामक निकाय स्वतन्त्र भयो र त्यसको छनोट सरकारको सामान्य छनोटभन्दा पनि संवैधानिक प्रक्रियाबाट स्वतन्त्र प्रतिनिधित्व भएर नियामक निकायको स्थापना हुने भयो भने सेकेन्ड ह्यान्ड जहाज किन्ने जहाजका मालिकहरूलाई पनि समय-समयमा मेन्टिनेन्स गर्नस् भनेर दबाब दिन सक्छौं,' उनले भने । 

अहिले छानबिन जुन व्यक्तिहरूमाथि हुने हो उनीहरूले नै छानबिन गर्ने अधिकारी नियुक्त गरिरहेको साउदको भनाइ थियो । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई ठोस पहलकदमी लिन माग गरेका छन् । 

अहिले नियामक र सेवा प्रदायक एउटै हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नै नेपालको हवाइ सेवाबारे नराम्रो सन्देश गइरहेको साउदले बताए । 'हालैको विमान दुर्घटनापछि अमेरिकी अखबारमा नै एउटै शरीरमा दुईवटा टाउका भनेर नेपालको समाचार आएको छ । कारबाही गर्ने र प्रशासन हेर्ने निकाय एउटै हुँदा समस्या भएको भन्ने छ । आइकाओले पनि यसअघि नै प्रश्न उठाइसकेको छ,' उनले भने ।

नियामक र सेवा प्रदायक निकाय एउटै हुँदा छानबिन समितिका प्रतिवेदन लुकाउने गरिएको सांसद साउदको भनाइ थियो । 'छानबिन आयोगका रिपोर्ट कहाँ छन् ? त्यसमा सुझाव के थिए र कहाँ छन् ? कमिकमजोरी सच्याउन के प्रयत्न गरियो ?,' उनले प्रश्न गरे ।

हेलिकप्टर दुर्घटना

कान्तिपुर

Link copied successfully