काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेश पाण्डेले बुधबार भएको हेलिकप्टर दुर्घटनाका विषयमा अनुमानका भरमा कुरा गर्न नहुने बताएका छन् ।
उनले संसदीय समितिले यस्ता विषयमा खुल्ला छलफल गर्न पनि नहुने बताए । 'अनुमानका भरमा यस्ता घटनाबारे बोल्न मिल्दैन । अहिले समिति गठन गरिसकेपछि यस्ता कुरा भन्न मिल्दैन,' उनले भने
सचिव पाण्डेले संसदीय समितिमा हेलिकप्टर दुर्घटना जस्ता विषयमा छलफल गर्दा यहाँ भएका कुरा सार्वजनिक भएमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबारे खराब सन्देश जाने भन्दै गोप्य बैठकको माग गरेका थिए । हेलिकप्टर दुर्टघनाबारे सम्पूर्ण विषय मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले ल्याउने उनको भनाइ थियो ।
काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी ९एन-एजेडी कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो ।
