बंगलादेशमा युनुसको नेतृत्वमा अन्तरिम सरकार

सेनाले सरकार गठन गरे विद्यार्थीले नमान्ने अडान लिएपछि नोबल पुरस्कार विजेता मुहम्मद युनुस बन्ने भए अन्तरिम सरकारको प्रमुख सल्लाहकार 

श्रावण २३, २०८१

बुद्धिसागर मरासिनी

Interim government in Bangladesh led by Yunus

काठमाडौँ — बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । रास्ट्रपति कार्यालय बंगभवनले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने जनाएको हो । युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुनेछन् ।

आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेताहरू र रास्ट्रपति मुहम्मद शहाबुद्दीनबीचको बैठकपछि उक्त निर्णय भएको हो । बैठकमा तीनवटै सशस्त्र सुरक्षा बलका प्रमुखहरूको समेत उपस्थिति थियो ।

शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट राष्ट्रपति मुहम्मद शहाबुद्दीनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका थिए । विद्यार्थी नेताहरूले संसद् भंग गर्न राष्ट्रपतिलाई मंगलबार दिउँसो ३ बजेसम्मको समयसीमासमेत तोकिदिएका थिए । राष्ट्रपति शहाबुद्दीनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थीसँग भएको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् विघटन गरेका थिए । 

विद्यार्थीहरूले नोबल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिनुपर्ने माग पनि अघि सारेका थिए । अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताहरूबीच मंगलबार साँझ वार्ता भएको थियो । उक्त वार्ताले युनुसको नेतृत्वमा सरकार बन्ने निश्चित गरेको हो । 

युनुस हाल उपचारका लागि फ्रान्सको राजधानी पेरिसमा छन् । उनले सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर स्वदेश फर्किने जनाइसकेका छन् । ८४ वर्षीय युनुस अर्थशास्त्री हुन् । उनले बंगलादेशमा ग्रामीण बैंक स्थापना गर्नुका साथै लघुवित्तको अवधारणा सुरु गरेका थिए । उनको अवधारणाले दसौं लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइन्छ । उक्त कामका लागि युनुसलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार दिइएको थियो । हसिनाले भने युनुस ‘गरिबहरूलाई चुस्ने परजीवी’ भएको र उनले गरिबलाई ऋण दिएर धेरै ब्याज लिने गरेको आरोप लगाउँदै आएकी थिइन् । 

युनुसलाई गत जुनमा बंगलादेशको एक अदालतले आर्थिक अपचलन मुद्दामा दोषी ठहर गरेको थियो । यद्यपि युनुसले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । युनुसका समर्थक पनि हसिना नेतृत्वको सरकारले राजनीतिक दुराशयका कारण झूटा मुद्दा लगाएको दाबी गर्छन् ।

बंगलादेशको राजनीतिमा लामो समयदेखि हसिना नेतृत्वको अवामी लिग र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) बीच तीव्र प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धाले सन् २००६ मा पनि यस्तै अन्तरिम सरकार बनेको थियो । बंगलादेशमा लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता सम्हालिन । तर, यसबीचमा हसिना र जियाबीचको सम्बन्ध चिसियो । जसका कारण बंगलादेशको राजनीति अस्थिर बन्न पुग्यो ।

हसिना भने १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसको पाँच वर्षपछि भने उनी जियासंग पराजित भइन् । जसका कारण २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री भइन् । यसबीचमा दुई नेतृहरूबीचको सम्बन्ध थप बिग्रियो । उनीहरूबीचको द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो । दुई नेतृबीचको राजनीतिक प्रतिशोधसंगैका विरोध प्रदर्शन, हिंसा र झडपहरूका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लिएको थियो । पछि सेना प्रमुख जर्नेल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिएका थिए । 

बंगलादेशमा फेरी यसैगरी नयाँ सरकार बन्ने भएको छ । बीएनपी प्रमुख एवं पूर्वप्रधानमन्त्री खालिदा जियालाई मंगलबार दिउँसो रिहा गरिएको छ । राष्ट्रपतिको निर्देशनअनुसार मंगलबार औपचारिक राजपत्रमा रिहाको सूचना जारी गरिएको हो । राष्ट्रपतिले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै जियालाई रिहा गर्ने घोषणा गरेका थिए । उनले पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न पनि निर्देशन दिएको बंगलादेशी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

लामो समयदेखि हसिनाकी प्रतिद्वन्द्वी रहेकी जियालाई २०१८ मा भ्रष्टाचार मुद्दामा १७ वर्षका लागि जेल सजाय दिइएको थियो । जियालाई यथेष्ट प्रमाणबिना नै राजनीतिक प्रक्रियाबाट अलग गर्ने उद्देश्यले मुद्दा लगाइएको टिप्पणी अमेरिकाले गरेको थियो । त्यस्तै, एमनेस्टी इन्टरनेसनलले पनि उनलाई ‘निष्पक्ष सुनुवाइको अधिकार’ नदिइएको उल्लेख गरेको थियो । स्वास्थ्य अवस्था बिग्रेपछि जियालाई २०१९ मा उपचारका लागि अस्पताल सारिएको थियो ।

२०२० मार्चमा उनलाई आफ्नो घरबाहिर जान, राजनीतिक प्रक्रियामा सहभागी हुन र विदेशी जान नपाउने सर्तमा ६ महिनाका लागि रिहा गरिएको थियो । त्यसयता छैटौं पटकसम्म म्याद थपेर उनलाई निवासमै नजरबन्दमा राखिएको थियो । विद्यार्थीको अगुवाइमा भएको आन्दोलनका कारण हसिनाले देश छाडेपछि जियाको रिहाइका लागि बाटो खुलेको हो । जियाको रिहाइसँगै विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेका अन्यलाई पनि रिहा गर्ने प्रक्रिया सुरु भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जियाको दल बीएनपीले २०१४ र २०२४ को निर्वाचन बहिष्कार गरेको थियो । हसिना नेतृत्वको सरकारले देशमा स्वतन्त्र र निष्पक्ष चुनाव गर्न नसक्ने भन्दै बीएनपीले तटस्थ कामचलाऊ सरकारले चुनाव गराउनुपर्ने माग गर्दै आएको थियो । हसिनाले अस्वीकार गरेको उक्त माग अब पूरा हुने सम्भावना छ । बीएनपीले हालसम्म प्रधानमन्त्री पदमा दाबी भने गरेको छैन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बीएनपीले विद्यार्थी नेताहरूलाई पूर्ण समर्थन गर्ने जनाएको छ । नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारणलाई शान्त रहन जियाले आग्रह गरेको बीएनपीले जनाएको छ ।

समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले बंगलादेशको सेनाको प्रशंसा गरेको छ । पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले धैर्यता देखाएको भन्दै अमेरिकाले अन्तरिम सरकारको गठनमा जोड दिएको छ । युरोपेली संघ (ईयू) ले पनि लोकतान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न सेनासँग आग्रह गरेको छ । दक्षिण एसियाको शक्तिकेन्द्र तथा बंगलादेशको छिमेकी भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि आन्दोलन चर्किएका बेला पनि दिल्लीले त्यो बंगलादेशको आन्तरिक मामिला भएको जनाएको थियो ।

देश छाडेकी हसिना भने हाल भारतमा छिन् । उनी भारतबाट तेस्रो मुलुक सम्भवतः बेलायत जाने अनुमान गरिएको छ । उनले बेलायतमा राजनीतिक शरण माग्ने विवरण विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका छन् । तर त्यसको पुष्टि हुन सकेको छैन । हसिनासँगै भारत पुगेकी उनकी बहिनी शेख रेहाना बेलायती नागरिक हुन् । रेहानाकी छोरी ट्युलिप सिद्दिक अहिले बेलायतकी सांसद छिन् ।

विद्यार्थीको अगुवाइमा आइतबार र सोमबार गरिएका प्रदर्शनमा हिंसात्मक झडप भएका थिए । ती दुई दिनमा कम्तीमा एक सय ७० जनाको ज्यान गएको थियो । गत जुलाईमा आन्दोलन सुरु भएयता आन्दोलनमा कम्तीमा चार सय जनाको ज्यान गइसकेको छ । दक्षिणपश्चिम जशोर सहरमा हसिनाको पार्टी अवामी लिगका एक नेताको स्वामित्वमा रहेको जबिर इन्टरनेसनल होटलमा सोमबार प्रदर्शनकारीले आगो लगाइदिएका थिए । त्यसमा परेर कम्तीमा २४ जना मारिएको विवरण मंगलबार बिहान मात्रै सार्वजनिक भएको थियो । होटलमा लगाइएको आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो ।

अग्निनियन्त्रकलाई प्रदर्शनकारीले अवरोध गरेकाले आगो निभाउन बढी समय लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मंगलबार भने केही छिटपुट घटनाबाहेक स्थिति शान्त देखिएको छ । सोमबार राति सेनाले एक घोषणा गर्दै मंगलबारदेखि सबै शैक्षिक संस्था खुल्ने जनाएको थियो । तर कक्षा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

(एजेन्सीको सहयोगमा)

बंगलादेश आन्दोलन

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully