कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस सहमत

श्रावण २२, २०८१
बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल विजेता मोहम्मद युनुस सहमत

काठमाडौँ — नोबेल शान्ति पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत भएका छन् । द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । 

युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ, 'सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ । तर विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।'

युनुसलाई विद्यार्थीले गरेको आग्रह भन्दै डेली स्टारमा लेखिएको छ, 'यस आन्दोलनमा धेरै मान्छेहरूले ज्यान गुमाएका छन् जसमा विद्यार्थी र सर्वसाधारण छन् । अब बंगलादेशलाई ठीक ढंगले चलाउने अवसर आएको छ । र, यो तबमात्र सम्भव छ कि जब तपाईंले जिम्मेवारी लिनुहुन्छ । यदि तपाईं तयार हुनु भएन भने हाम्रा लागि राम्रो हुँदैछ । त्यही भएर पनि हामीले तपाईंलाई जिम्मेवारी लिन आग्रह गरेका हौँ ।'

युनुस यतिबेला विदेशमा रहेका छन् । उनी पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन गएका थिए । तयसपछि उपचारका लागि भन्दै उनको विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उनी स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश 'स्वतन्त्र' भएको टिप्पणी गरेका थिए ।

हसिनाको कब्जामा रहेको मुलुक स्वतन्त्र भएको उनले भारतीय सञ्चारमाध्यम द प्रिन्टसँगको कुराकानीमा भनेका थिए । अवामी लिग नेतृत्वको सरकारले युनुसलाई १९० भन्दा बढी आरोप लगाएको छ । हसिनाले आफ्नै बुवा बंगबन्धु शेख मुजिबुर रहमानको विरासत ध्वस्त पार्ने काम गरेको युनुसको आरोप छ ।

प्रकाशित : श्रावण २२, २०८१ १३:०५
×