कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बंगलादेशका विद्यार्थी नेता भन्छन् : अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्छ

श्रावण २२, २०८१
बंगलादेशका विद्यार्थी नेता भन्छन् : अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्छ

काठमाडौँ — बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताएका छन् । 'विभेदविरोधी विद्यार्थी आन्दोलन' का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो ।

युनुस सन् २००६ मा नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री हुन् । उनी बंगलादेशको ग्रामीण बैंकका संस्थापकसमेत हुन् । पछिल्लो समय उनी नागरिक अभियन्ताका रूपमा समेत सक्रिय छन् । सोमबार राति पत्रकार सम्मेलनमा विद्यार्थी आन्दोलनका संयोजक नाहिद इस्लामले २४ घण्टाभित्र अन्तरिम सरकार गठन हुनुपर्ने बताएका हुन् ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस

सोमबार राति नै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकार गठनका लागि पहल गर्न भनिसकेका छन् । राष्ट्रपति भवनमा सेना प्रमुख, जलसेना प्रमुख, वायुसेना प्रमुख, विभिन्न दलका नेता र नागरिक समाजका अगुवाहरूसँगको कुराकानीपछि राष्ट्रपतिले अन्तरिम सरकार गठन गर्न भनेका हुन् ।

त्यसअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेसँगै सेनाप्रमुख जनरल वाकर उज जमानले छिट्टै नै अन्तरिम सरकार गठन हुने बताएका थिए ।

प्रकाशित : श्रावण २२, २०८१ ०६:१४
×