सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त

शनिबार साँझसम्म दुई शवको मात्र सनाखत, दुई बससहित अझै ४६ जना बेपत्ता, ५१ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाएका थिए   

असार ३०, २०८१

रमेशकुमार पौडेल

Relatives of the missing are crying in Simaltal

चितवन — सुदन दासकी छोरीको बिहे शनिबारलाई तय थियो । काठमाडौंमा सामान्य ज्यालादारी काम गर्ने सिनोज दास बहिनी (काकाकी छोरी) को बिहेका लागि बिहीबार साँझ रौतहट घर जान काठमाडौंबाट बस चढेका थिए ।

तर उनी चढेको बसले चितवन भरतपुरको सिमलताल पार गर्न पाएन । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले बगाएर सिनोज चढेकोसहित दुई बस त्रिशूलीमा बेपत्ता छन् । 

दुई बसमा गरी ५१ यात्रु रहेकामा ३ जनाले हामफालेर ज्यान बचाएका थिए भने शनिबार साँझसम्म फेला परेका तीन शवमध्ये दुईको मात्र सनाखत भएको छ । शनिबार साँझसम्म फेला परेका दुई शवमध्ये एक भारतको बिहार सीतामणि बर्गनिया जमुवाका २८ वर्षीय ऋषिपल साह र अर्का १९ वर्षीय रमितकिशोर माझी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पुष्टि गरे । 

गणपति यातायातमा सवार साहको शव घटनास्थलभन्दा करिब ५० किलोमिटर पश्चिम भरतपुर–२८ गोलाघाटमा भेटिएको थियो भने एन्जल यातायातमा सवार माझीको शव गैंडाकोटमा फेला परेको हो । माझीसहित फेला परेको अर्को शवको भने सनाखत हुन बाँकी रहेको प्रजिअ यादवले बताए ।

घटनाबारे थाहा पाएलगत्तै सुदनले छोरीको बिहे रोकेर सिनोजका बुबा बुधनसहित शनिबार मध्याह्न सिमलताल आइपुगे । बुधन बोल्न सक्ने अवस्थामै छैनन् ।

Relatives of the missing are crying in Simaltal बेपत्ता सिनोजका बुवा बुधन दास । 

‘छोरा हराएको बाउको मुखबाट के शब्द निस्कन्छ र ? हामीलाई छोरो ज्युँदै भेटिन्छ भन्ने आशा अब हराइसकेको छ । सरकारले कम्तीमा लाससम्म खोजेर दिए हुने,’ सुदनले बिलौना गरे । त्रिशूलीमा शुक्रबारको जस्तो बाढी नउर्लिए पनि पानी अझै घटिसकेको छैन । चारवटा र्‍याफ्टिङ बोटको सहयोगमा सेना र सशस्त्र प्रहरीका गोताखोर शनिबार बिहान ८ बजेदेखि नै खोजीमा जुटेका थिए । 

‘जसरी हुन्छ छोराको मुख देख्न पाए हुन्थ्यो,’ बुधन बर्बराइरहेका थिए । बेपत्ता भएका यात्रुका आफन्तहरू यतिबेला घटनास्थलमा आर्तनाद गरिरहेका छन् । घटनाको एक दिन बितिसक्दा पनि बेपत्ता भएका नभेटिएपछि आफन्तमा पीडासँगै आक्रोश पनि उस्तै छ । उद्धार र खोजी कार्य प्रभावकारी नभएको भन्दै आफन्तहरूले गुनासो गरिरहेका छन् । 

Relatives of the missing are crying in Simaltalभाइका छोरा प्रिन्स जैसवालको खोजीमा आएका रौतहट बौधीमाई नगरपालिका–४ का शशिभूषण जैसवाल पनि सिमलतालमा शोकमग्न अवस्थामा भेटिए । ‘काठमाडौंमा कक्षा १० मा पढ्दै थियो । यो बेला बिदा छ भन्दै घर आउँदै थियो । बाटोमै पहिरोमा हरायो,’ शशिभूषणले भने । उनीसहित आफन्त र गाउँले पनि सिमलताल आइपुगेका छन् । त्रिशूली नदीमा भइरहेको बेपत्ताको खोजीप्रति उनीहरू सन्तुष्ट छैनन् ।

‘यति ठूलो दुर्घटना भएको छ । तर खोजी र उद्धारका लागि सरकारले त्यति ठूलो चासो दिएको जस्तो लाग्दैन । ठूलाबडा यस्तोमा परेको भए अहिलेसम्म भेट्टाइसक्ने गरी उद्धार टोली खटिन्थ्यो होला । जनताका छोराछोरी परेका छन्, कसलाई मतलब र ?,’ शशिभूषणसँगै आएका मोहनप्रसाद जैसवालले भने । आफन्तहरू कम्तीमा शव मात्रै भए पनि देख्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुगिसकेको उनले बताए । ‘उद्धारमा खटिएका टोलीले निस्कन त निस्कन्छ तर नदीमा पानी धेरै छ भन्छ । सरकारले विदेशबाट भए पनि उद्धार गर्न सिपालु मान्छे मगाओस् । कम्तीमा हामीले लास त पाउनुपर्‍यो,’ मोहनप्रसादले भने । 

Relatives of the missing are crying in Simaltalचितवनका प्रमुख जिल्ला अधिकारी यादव भने जल उद्धारका लागि देशमा उपलब्ध सक्षम जनशक्ति र उन्नत उपकरणहरू खोजीमा प्रयोग भइरहेको बताउँछन् । ‘यहाँ विगतमा बंगलादेशबाट समेत गोताखोर नल्याएको हैन । तर सेना र सशस्त्र प्रहरीका गोताखोर तुलनात्मक रूपमा धेरै सक्षम र कुशल छन्,’ प्रजिअ यादवले भने । 

काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बस शुक्रबार बिहान झिसमिसे नहुँदै नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएको हो । दुई बसमा गरी चालक दलसहित ५१ जना सवार थिए ।

Relatives of the missing are crying in Simaltal गणपति यातायातका तीन यात्रु भने पौडेर ज्यान जोगाउन सफल भएका थिए । हालसम्म एञ्जल बसमा २४ र गणपति बसमा २७ यात्रु रहेको पुष्टि भएको प्रजिअ यादवले बताए । बेपत्तामध्ये शनिबार साँझसम्म दुई शवको मात्र सनाखत भएको हो ।

Relatives of the missing are crying in Simaltalसिमलताल पहिरोमा परेर शुक्रबारदेखि त्रिशूली नदीमा हराइरहेका बस र यात्रु खोजी गर्दै सुरक्षाकर्मीको टोली । तस्बिर : अंगद ढकाल/कान्तिपुर

वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा सात र काठमाडौंबाट गौर आउँदै गरेको बसमा दुई गरेर नौ जना भारतीयसमेत रहेको पुष्टि भएको छ । उनीहरूका आफन्त पनि घटनास्थलमा आइपुगेका छन् । चितवन प्रशासनले बेपत्ताको खोजी कार्यमा ठूलो चुम्बकको प्रयोग गर्ने जनाएको छ ।

 चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गोताखोरसहितको टोलीले पानीभित्र हेर्न मिल्ने क्यामरा, फलामे हुकलगायतले खोजी गरिरहेको जनाएका छन् । उनका अनुसार दुर्घटनास्थलभन्दा तल नदी तटमा पनि खोजी गर्न त्रिशूली रिभरसाइड रिसोर्टको कायाक टोली परिचालन भएको, ड्रोन क्यामरा र मोटरबोट पनि प्रयोग गरिनेछ । उद्धार टोलीले राति भने खोजी कार्य स्थगित गर्छ । हराइरहेका बस र यात्रुको खोजी कार्य आइतबार पुनः बिहान ८ बजेबाट सुरु गरिने प्रजिअ यादवले बताए ।

सिमलताल दुर्घटना

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully