'बेपत्ता बस र यात्रुको खोजीमा नेपालको सबै जनशक्ति र प्रविधि प्रयोग गरेका छौँ'

असार २९, २०८१

रमेशकुमार पौडेल, अंगद ढकाल

”We have used all the manpower and technology of Nepal to search for the missing bus and passengers”

सिमलताल (चितवन) — सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र बेपत्ता रहेका करिब ५० जना यात्रुको खोजी कार्य शनिबार पनि निरन्तर छ । शुक्रबार बिहानैदेखि खोजी कार्य भएपनि अहिलेसम्म एक जना यात्रुको शव फेला पर्नेबाहेक अरु केही भेटिएको छैन । दुवै बसमा कति यात्रु सवार थिए र तिनीहरू कहाँका थिए भन्ने पूरै विवरण समेत सार्वजनिक हुन सकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बस र बेपत्ता यात्रुको खोजी कार्यका लागि नेपालमा भएको जलउत्पन्न विपद् उद्धारको जनशक्ति र प्रविधि सबै उपयोग गरिरहेको दाबी गरेका छन् ।

'हामीसँग देशभित्र भएको दक्ष जनशक्ति र प्रविधि यहाँ प्रयोग भएको छ । हिजो दिनभरको खोजी कार्यभन्दा आज हामीले रणनीति बदलेका छौँ । यो नदी साँघुरो, तर धेरै गहिरो छ । पानी धमिलो छ । गति धेरै छ । त्यसकारण गोताखोरहरुले पनि पानी भित्र गएर खोजी गर्न जोखिमपूर्ण अवस्था छ,' यादवले भने, 'आज हामीले पानीमा प्रयोग हुने ड्रोन समेतको प्रयोग गरेर खोजी गरिरहेका छौँ ।'

उनका अनुसार शनिबार खोजी गर्ने क्रममा भारत विहारका ऋषिपाल साहको शव गोलाघाटमा भेटिएको छ । 'अहिले गोलाघाटमा ऋषिपाल साहको शव भेटिएको छ भने उहाँको परिवारले सनाखत समेत गरिसकेको छ,' प्रजिअ यादवले भने । 

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोमा परेर वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल यातायातको बस र काठमाडौंबाट रौतटहटको सदरमुकाम जाँदै गरेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीले बगाएको थियो ।

चितवनका प्रजिअ यादवका अनुसार वीरगञ्जबाट हिँडेको बसमा २४ जना यात्रु थिए भने गौर जाँदै गरेको बसमा २७ यात्रु थिए । 'चलानमा उल्लेख भएभन्दा पनि बढी यात्रु रहेको खुलेको छ । को-को थिए भनेर हामी खोजी गरिरहेका छौँ,' उनले भने ।

खोजीमा शनिवार दुरविनको पनि प्रयोग गरिएको छ । साथै वारीपारीबाट मोटरबोटहरु समेत लगाएर खोजी भइरहेको छ । घाम लागेर पानीको सतह घटेका कारण शुक्रबारभन्दा शनिवार खोजीका लागि केही सजिलो महसुस भएको प्रजिअ यादवले बताए ।

'हामीसँग भएको जनशक्ति र प्रविधि यति नै हो । योभन्दा बढी जनशक्ति खटाउनका लागि हामीले वैदेशिक जनशक्तिको सहयोग लिनुपर्ने हुन्छ, त्यो पनि गोताखोरले गर्ने भनेको सतहको पानीमा हो । यस्तो वेगमा रहेकोमा पानीमा गोताखोरले पनि खोजी गर्न सक्ने अवस्था हुदैन रहेछ,' उनले भने ।

उनका अनुसार अहिले यात्रुका आपन्तहरु सम्पर्कमा आइरहेका छन् भने सोधपुछ गर्नेहरुका लागि हेल्प डेस्कको समेत प्रबन्ध गरिएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully