कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

कांग्रेस-एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

कांग्रेस-एमाले सहकार्य कसैले मिलाइदिएको हो : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत माग्दै उनले यस्तो बताएका छन् । उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ सुरु गरेको जिकिर गरे । 

उनले भने, ‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ ।'

उनले आफूले विधिको शासन सुरु गरेको जिकिर गरे । उनले कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए ।

'सिधै कांग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसद्मा सुरु गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ,' उनले भने, 'स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईंहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईंहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’

उनले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाएको दाबी गरे ।

प्रकाशित : असार २८, २०८१ १२:४२
x
×