कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ जनासहित ११ को मृत्यु [अपडेट]

असार २८, २०८१

दीपक परियार

11 dead including 7 from same house after landslide in Kaski [Update]

पोखरा — बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् ।  पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । 

पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर निधन भएको थियो । 

पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

बाढीपहिरो

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully