वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेको प्रमुख जिल्ला अधिकारीको भनाइ
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको उद्धारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । पहिरोमा बगेर बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई अपिलसमेत गरेका छन् ।
नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।
