काठमाडौँ — सरकारले सहरी विकास मन्त्रालयलाई ६ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ । 'वाग्मती नदी प्रणालीको शान, सभ्यताको उत्थान' भन्ने सोचका साथ वागमती नदीको सफाइ अभियानलाई निरन्तरता दिने र वाग्मती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । सहर तथा बस्तीलाई आर्थिक रूपमा गतिशील, वातावरणीय रूपमा स्वच्छ, सुरक्षित, व्यवस्थित र उत्थानशील बनाउन सहरी पूर्वाधारमा लगानी केन्द्रित गरेको बताएको छ । व्यवस्थित सहरी विकासको लागि सघन सहरी कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्चालन गर्न २७ अर्ब विनियोजन भएको छ । आगामी आर्थिक वर्ष संघीय संसद भवन निर्माण कार्य सम्पन्न गर्न २ अर्ब १२ करोड विनियोजन भएको छ ।
