काठमाडौँ — सरकारले बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई १ अर्ब ५० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्ने सरकारले बताएको छ । नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाउने सरकारको लक्ष्य रहेको छ । राष्ट्रिय सेवा दल तालीमलाई स्थानीयस्तरसम्म विस्तार गर्ने अर्थमन्त्री पुनले बताए ।
‘देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिनेछ । नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइनेछ । बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई रु. १ अर्ब ५० करोड विनियोजन गरेको छु । राष्ट्रिय सेवा दल तालीमलाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ,’ अर्थमन्त्री पुनले भने । सरकारले रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड विनियोजन गरेको छ ।
