शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

चालु आर्थिक वर्षमा कुल बजेटको ११.२६ प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि १०.०९ प्रतिशत मात्र

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

Allocation of 2 trillion 3 billion 66 crore rupees for education

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो ।

तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ ।  २०८०/०८१ मा ११.२६ प्रतिशत बजेट छुट्टाइएको थियो भने २०८१/०८२ लागि १०.०९ प्रतिशतमा सीमित रहेको छ ।  सरकार र राजनीतिक दलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत बजेट खर्च गर्ने घोषण सहित प्रतिबद्धता दोहोर्‍याउँदै आएका थिए ।

अर्थमन्त्री वर्षमान पुनले संसदले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएर बजेट बनाएको बताएका थिए । शिक्षा क्षेत्रमा अधिकांश गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको छ । 'समृद्धिको आधार : शिक्षामा गुणात्मक सुधार' नारा दिइएको छ । कक्षा ५ सम्मका ३० लाख बालबालिकाका लागि दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।

अतिविपन्न र सीमान्तकृत वर्गका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न विद्यालय तहमा छात्रवृत्ति प्रदान गर्न ६० करोड छुट्टाइएको अर्थमन्त्री पुनले बताए । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा ५ सय विद्यालयमा खानेपानी र शौचालय निर्माण गरिने घोषणा गरिएको छ । अपाङ्गमैत्री, लैङ्गिक संवेदनशील र सुरक्षित एक हजार कक्षाकोठा निर्माण गर्न २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।  प्राविधिक धारतर्फ १ अर्ब ५९ करोड र उच्च शिक्षातर्फ २१ अर्ब ४५ करोड बजेट छुट्टाइएको अर्थमन्त्री पुनले बताए ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully