काठमाडौँ — सरकारले स्वास्थ्यतर्फ आर्थिक वर्ष २०८१/०८२ का लागि ८६ अर्ब २४ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ रूपैयाँ पाएको थियो ।
आगामी वर्षका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट घोषणा गरेको सरकारले स्वास्थ्य क्षेत्रका लागि भने कुल बजेटको केवल ४.६४ प्रतिशत हिस्सा छुट्याइएको छ । जुन गत वर्षहरूकै तुलनामा पनि निकै न्युन हो । अंकमा चालु आर्थिक वर्षको तुलनामा बजेट २ अर्ब २५ करोड रुपैयाँले बढेको देखिए पनि कुल बजेटको तुलनमा भने न्युन हो । गत वर्ष सरकारले स्वास्थ्यमा कुल बजेटको ४.८ प्रतिशत विनियोजन गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो । जुन त्यसबेलाको कुल बजेटको ५.७५ प्रतिशत रहेको थियो । यस्तै सरकारले कोभिडको माहामारीका कारणले आर्थिक वर्ष २०७८/०७९ का लागि करिब १ अर्ब ३५ खर्ब रुपैयाँको बजेट घोषणा गरेको थियो । जुन कुल बजेटको ७.४५ प्रतिशत रेहको थियो ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत हिस्सा छुट्याउनु पर्ने विज्ञहरूले बताउँदै आएपनि सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा कुल बजेटको तुलनामा हिस्सा घटाउँदै लगेको छ ।
सरकारले यस वर्ष स्वास्थ्य क्षेत्रमा पुराना कार्यक्रमलाई नै निरन्तरता दिएको देखिन्छ । यो वर्ष स्वास्थ्यमा काठमाडौं विश्विवद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माण गर्नेबाहेक अन्य पूर्वाधार निर्माणको योजना घोषणा गरिएको छैन ।
