अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने
काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले विश्वविद्यालय गाभिने तथा पुनर्सरचनाका बिषयमा सरकारले अध्ययन गर्ने बताएका छन् । संघीय र प्रदेश सरकारले नयाँनयाँ विश्वविद्यालय स्थापना गरिरहँदा सरकारले आगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालय गाभ्ने र पुनर्संरचना गर्ने विषयमा अध्ययन गर्ने जनाएको हो ।
सबैभन्दा ठुलो र जेठा त्रिभुवन विश्वविद्यालयलाई पुनसंरचना गर्न विज्ञहरूले यसअघि नै सुझाव दिइसकेका छन् । विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापनमा एकरूपता कायम गर्न एकीकृत ऐन तर्जुमा गर्ने घोषणा गरिएको छ । त्यसका लागि विश्वविद्यालय अनुदान आयोगलाई समेत पुनःसंरचना गर्ने घोषणा गरिएको छ ।
विश्वविद्यालय, शैक्षिक प्रतिष्ठान र विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानबीचको सहकार्यमा विद्यार्थीलाई नविनतम ज्ञान, सीप र प्रविधि आदानप्रदान गरिने बजेटमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विकास गर्ने गत वर्षकै कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको छ । अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थीलाई भिसा प्रक्रियामा सहजीकरण गरिने अर्थमन्त्री पुनले जनाए । विश्वविद्यालयलगायत सरोकारवालाले बिदेशी विद्यार्थीको भिसा प्राप्ति प्रक्रिया सरलीकरण गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए ।
