कांग्रेस नेताहरूको प्रधानमन्त्रीलाई प्रश्न : कान्तिपुर अध्यक्षलाई किन पक्राउ गरेको ?

जेष्ठ १२, २०८१

कान्तिपुर संवाददाता

Congress leaders' question to the prime minister: Why was the Kantipur president arrested?

काठमाडौँ — कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रहपूर्ण ढंगले किन पक्राउ गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गरेका छन् ।

संसदीय छानबिन समितिको क्षेत्राधिकारको विषय मिलाउन प्रधानमन्त्री दाहालले शुक्रबार बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलाले कान्तिपुर अध्यक्ष सिरोहियाको पक्राउमा सरकारको कदम दुराशयपूर्ण रहेको बताएका हुन् ।

‘कान्तिपुरले सहकारी ठगीका विषयमा समाचार छापेकै आधारमा पूर्वाग्रह राखेर अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको छ,’ कांग्रेस नेता सिटौलाले भने, ‘प्रहरीमा जाहेरी दिने मानिस को हुन् ? कुन पार्टीका कार्यकर्ता हुन् ? कसरी प्रहरी अदालतमा पुग्यो, कसरी काठमाडौंमा पक्राउ गरियो ? कसरी त्यहाँ राखियो भन्ने कुरा हेर्दाखेरि नै दुराशय देखिन्छ भन्ने कुरा हामीले प्रधानमन्त्रीलाई भनेका हौं ।’ प्रधानमन्त्री दाहालले भने सरकारले नभएर अदालती प्रक्रियाबाटै अघि बढेको भनेर सरकारको प्रतिरक्षा गरेको कांग्रेस नेताहरूले बताए ।

यो विशुद्ध अदालती प्रक्रिया भएको र व्यक्तिको नागरिकताको विषयलाई लिएर प्रेस स्वतन्त्रता कुण्ठित भयो भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरिनु दुःखद भएको प्रधानमन्त्रीको भनाइ रहेको उनीहरूले सुनाए । 

कांग्रेस नेताहरूले प्रधानमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै अदालतलाई सक्रिय गर्ने काम कसले गरेको हो भनेर प्रश्न गरेका थिए । ‘प्रधानमन्त्रीले अदालतको प्रक्रिया भनेर भन्नुहुन्छ । तर, सरकारले अदालतमा पक्राउ पुर्जी पाऊँ भनेर गएको होइन ? सरकारका तर्फबाट प्रहरीले नभनी अदालतले पक्राउ पुर्जी कसरी दिन्छ ? अदालतले आफ्नो खुसीबाट पक्राउ पुर्जी जारी गर्छ र ? सरकारका तर्फबाट प्रहरीले मागेरै अदालतले पक्राउ पुर्जी दिने काम गर्‍यो,’ महामन्त्री थापा र सिटौलाको भनाइ थियो, ‘अदालतलाई एक्टिभेट गर्ने काम सरकारले नै गरेको हो । प्रधानमन्त्रीले अदालती प्रक्रिया भनेर पन्छिन कसरी मिल्छ ?’ सिटौलाले कुनै पनि विषयमा राज्यलाई अनुसन्धान गर्न पाउने अधिकार भए पनि जुन समय र परिस्थितिमा कान्तिपुर अध्यक्ष सिरोहियामाथि पक्राउ पुर्जी जारी गरिएको छ, त्यसलाई सही नियतका साथ भएको भनेर भन्न नमिल्ने बताए ।

महामन्त्री थापाले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेर सरकारले प्रेसको मुख थुन्न खोजेको दाबी गरे । गृहमन्त्री आफैंले दुई देशको राहदानी बोक्ने गरेको प्रसंग जोड्दै महामन्त्री थापाले सहकारी ठगीमा संलग्न रहेको तथ्यसहितका समाचार प्रकाशित गरेकै आधारमा सिरोहियालाई पक्राउ गरिएको उनको तर्क थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार संसद्मा दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले कांग्रेसले प्रधानमन्त्रीसँग यसको पनि जवाफ माग गर्ने बताए । ‘राज्यको सूचना विदेशीलाई बेच्नेहरू संसद्मै छन् भनेर आफ्ना नेताप्रति लक्षित गरिएको लामिछानेको अभिव्यक्तिलाई कांग्रेसले गम्भीर रूपमा लिएको छ,’ उनले भने, ‘इतिहासमा यस्तो गम्भीर आरोप कांग्रेसमाथि लागेको थिएन । अहिलेका गृहमन्त्रीले आपत्तिजनक, हिंस्रक अभिव्यक्ति जसरी राख्नुभएको छ, त्यसमा प्रधानमन्त्रीको भनाइ के छ भनेर हामी जवाफ माग्नेवाला छौं ।’

कान्तिपुर

Link copied successfully