सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

कान्तिपुर अध्यक्षका कानुन व्यवसायीले तीन दिनदेखि माग गर्दा पनि नागरिकताको फरेन्सिक परीक्षणका लागि प्रहरीले आलटाल गरिरहेको थियो, त्यही परीक्षणका लागि भन्दै फेरि म्याद थप

जेष्ठ १२, २०८१

अजित तिवारी

धनुषा — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई अनुमति दिएको छ । 

सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षण गर्न बाँकी रहेको भन्दै सरकारी वकिलले म्याद मागेकाले अदालतले सोही अनुसारको आदेश दिएको हो, जबकि सिरोहिया पक्राउ परेदेखि नै उनका वकिलले नागरिकताको तत्काल फरेन्सिक जाँच गर्न माग गर्दै आएका थिए । प्रहरीले भने आलटाल गर्दै आएको थियो । 

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो । 

सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसै आधारमा आएको प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर मुख्यालयमा कार्यकक्षबाटै पक्राउ गरी धनुषा ल्याएको थियो । भोलिपल्ट बुधबार जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तोकिएको अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमार्फत थप ५ दिन हिरासतमा राख्ने अनुमति मागेकामा अदालतले आइतबारसम्मको म्याद दिएको हो ।

सिरोहियाका तर्फबाट कानुन व्यवसायीहरूले उनलाई गैरकानुनी रूपमा धरपकड गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका थिए । कानुन व्यवसायीहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, टीकाराम भट्टराई, रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झालगायतले सिरोहियाका तर्फबाट बहस गरेका थिए ।

कानुन व्यवसायीले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणको समाचार फलोअप गरेको प्रतिशोधमा सिरोहियालाई गिरफ्तार गरिएको र नागरिकतामा हुँदै नभएको कैफियत निकालिएको भन्दै रिहाइ गर्न माग गरेका थिए ।

लामो बहसपछि शुक्रबार अबेर इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट २०३६ भदौ २५ मा नागरिकता लिएका थिए, त्यतिबेला नागरिकतामा उमेर मात्र लेख्ने चलन थियो । पछि मात्र जन्ममिति पनि लेख्न थालिएको हो । 

सिरोहियाले २०५७ मा प्रतिलिपि लिँदा फाँटवाला कर्मचारीले उमेर १८ वर्ष लेखेकामा प्रमाणित गर्ने अधिकारीले कोष्ठभित्र २०१९।०८।२९ भनेर थप स्पष्ट पारेका छन् । थपिएको अक्षरलाई दुवैतिर हस्ताक्षरले बन्द गरिएको छ, जसमा रातो मसी प्रयोग भएको छ । यो हस्ताक्षरको फरेन्सिक जाँच गर्न सिरोहियाका वकिलहरूले तीन दिनदेखि माग गरिरहेका थिए । तर प्रहरीले आलटाल गर्दै आएको थियो । 

‘खासमा यो काम पक्राउ पुर्जी जारीभन्दा अघि नै गर्नुपर्ने थियो । पक्राउ गरेपछि पनि हामीले परीक्षणका लागि पठाउन अनुरोध गरेका थियौं,’ अधिवक्ता रमणकुमार कर्णले भने, ‘फरेन्सिक परीक्षण गर्न बाँकी रहेको भनेर थप तीन दिन हिरासतमा राखिएको छ, यो जसरी पनि हिरासतको बसाइ लम्ब्याउने सरकारी प्रपञ्च हो ।’

गीतेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत अपचलन गरेको समाचार कान्तिपुरले शृंखलाबद्ध रूपमा प्रकाशन गर्दै आएको छ । त्यसकै कारण लामिछानेले संसद्देखि पार्टीका कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । 

लामिछाने सभापति रहेको रास्वपाको मधेश प्रदेश कार्यसमिति सदस्य महतोले सिरोहियाविरुद्ध धनुषा प्रहरीमा नागरिकतासम्बन्धी कसुरमा जाहेरी दिएका हुन् । 

लामिछानेबाट भएको सहकारीको बचत अपचलनको विषयलाई लिएर सीआईबीले खोजबिन गरेका प्रमाण पनि प्रहरीले योजनाबद्ध रूपमा लुकाएको छ । लामिछानेले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई संसद्को राज्य व्यवस्था समितिमा बोल्न लगाएर आफूलाई निर्दोष देखाउने प्रयाससमेत गरेका थिए । सीआईबीको अनुसन्धान प्रतिवेदनमा शंकास्पद ऋणीको सूचीमा लामिछानेको नाम छ । त्यस्तै रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोजनपत्रमा पनि लामिछानेले कुनै पनि प्रक्रिया पूरा नगरी सहकारीको बचत ऋणका रूपमा लिएको स्पष्ट उल्लेख छ । उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले ४ सहकारीको ९५ करोड ८० लाख अपचलन गरेको पुष्टि भइसकेको छ । तर उनी छानबिनका लागि अझै पनि तयार भएका छैनन् । 

बचत अपचलनको समाचार लेखेको प्रतिशोधमा सिरोहियालाई पक्राउ गरिएको भन्दै राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरबाट विरोध भइरहेको छ । विभिन्न दल, पेसागत संघ/संगठन, नागरिक समाज, सञ्चार सम्बद्ध संस्था, कानुनविद्लगायतले रिहा गर्न माग गरिरहेका छन् । सञ्चार सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूले पनि समाचार प्रकाशितपछि त्यसको प्रतिशोधमा सिरोहियालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

एआईजी श्याम ज्ञवाली लामिछानेको रोजाइमा पछिल्लो पटक प्रहरी प्रधान कार्यालयबाट सीआईबी प्रमुखमा सरुवा भएका छन् । सुन प्रकरणको अनुसन्धानमा सीआईबी प्रमुख किरण वज्राचार्यलाई ‘प्रमाण नष्ट गरेको आरोप’ लगाएर हेडक्वार्टर तानी ज्ञवालीलाई सीआईबीमा पठाइएको छ । 

ज्ञवाली आफैं दुईथरी जन्ममितिको विवादमा तानिएका एआईजी हुन् । लामिछानेको रोजाइमा रहेका ज्ञवालीको टोलीमार्फत कान्तिपुर अध्यक्ष सिरोहियालाई धरपकड गर्ने योजना बने पनि दिउँसो सीआईबी टोलीलाई कान्तिपुर कार्यालयबाट फिर्ता बोलाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई पठाइएको थियो ।

४ दिनदेखि हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । 

गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराए पनि ढिलासुस्ती भएकाले समस्या थपिएको बताए । ‘मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले अस्पताल पठाउन प्रहरीलाई आग्रह गरेको थियो । तर, प्रहरी ढिलाइ गर्‍यो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मात्रै जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरियो,’ कर्णले भने । 

प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । काव्यामा उपचार भइरहेको डाक्टर एसके सिंहले बताए । ‘पहिलेदेखि नै मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ,’ सिंहले भने, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । अहिले हामीले गरेका परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले छदेखि आठ घण्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’

सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ । स्वास्थ्य अवस्था असामान्य भएपछि काव्या अस्पतालका चिकित्सकले कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत जानकारी गराइएका छन् । अनिलको समेत सल्लाहमा थप उपचार अघि बढाइएको अस्पतालले जनाएको छ ।

प्रेसविरुद्ध राज्य प्रतिशोध

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully