२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

अजित तिवारी

धनुषा — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोधमा सर्वत्र आलोचना भइरहेका बेला जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा हतियारसहित आएको प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा ल्याएको थियो । त्यसपछि बुधबार जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको थियो । पहिलो पटक दिइएको समय बिहीबार नै सकिएपछि शुक्रबार पुनः ५ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको हो ।

सिरोहियाका तर्फबाट कानुन व्यवसायीहरुले उनलाई गैरकानुनी रुपमा धरपकड गराएको र नागरिकता विवादको विषय थुनामा राख्न नपर्ने खालको भन्दै रिहा गर्न माग गरेका थिए । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए ।

मुद्दाको पक्ष र विपक्षीको बहस सुने पनि न्यायाधीश ज्ञवालीको इजलासले थप हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बखत सहकारीको बचत अपचलन गरेको प्रमाणसहित कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन/प्रसारण गरिरहेको थियो । त्यसपछि गृहमन्त्री लामिछानेले संसद्‌देखि पार्टीका कर्यक्रम तथा सामाजिक सञ्जालमार्फत कान्तिपुरविरुद्ध पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिइरहेको पृष्ठभूमिका उनी अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कार्यसमिति सदस्य महतोले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषा प्रहरीमा नागरिकतासम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।

कान्तिपुरमा प्रमाणसहित प्रकाशित समाचारपछि रुष्ट भएका लामिछानेले सत्ता–शक्ति आडमा प्रतिशोध लिएर सिरोहियालाई प्रहरी लगाएर धरपकड गरी अनुसन्धानका लागि जनकपुर ल्याएका थिए । सिरोहियालाई प्रतिशोध साधेर पक्राउ गरिएको भन्दै राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरबाट विरोध भइरहेको छ । विभिन्न राजनीतिक दल, पेसागत संगसंगठन, नागरिक समाज, सञ्चार सम्बद्ध संस्था, कानुनविद्‌ लगायतले सिरोहियाको पक्राउ गलत भन्दै रिहा गर्न माग गरिरहेका छन् । सञ्चार सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरुले पनि समाचार प्रकाशितपछि त्यसको प्रतिशोधमा सिरोहियालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सिरोहियामाथि लागेको अरोपमा पक्राउ गर्न पर्ने खालको विषय नभएको भन्दै प्रहरी पन्छिएको थियो । तर, गृहमन्त्री लामिछानेले जसरी पनि पक्राउ गर्नुपर्ने अडान लिएपछि यो विषय प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुगेको थियो । यतिसम्म की, ‘सिरोहियालाई पक्राउ नगरे राजीनामा दिन्छु भनेर लामिछानेले प्रधानमन्त्री दाहाललाई धम्की दिएको र दाहालले पनि सत्ता जोगाउन बरु पक्राउ गर्ने तर्फ लागेको’ विश्वस्त स्रोत बताउँछ । त्यसपछि दाहाल र लामिछाने दुवै सिरोहियालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि हतियारधारी प्रहरीको टोली कान्तिपुर कार्यालय पुगेको थियो ।

सिरोहिया पक्राउको चौतर्फी विरोध भएपछि दाहालले एक सार्वजनिक कार्यक्रममा ‘उहाँ निर्दोष हुनुहुन्छ, छुटिहाल्नु हुन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए भने सम्पादकहरुले विरोध स्वरुप ज्ञापनपत्र बुझाउने क्रममा पक्राउ गर्न आफैंले निर्देशन दिएको खुलाएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?