सुप्रिम सहकारी ठगी प्रकरण अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, पुनसहित ६ लाई धरौटीमा छाड्ने आदेश

चार लाख धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश कारागार चलान

वैशाख ८, २०८१

दीपेन्द्र बडुवाल, घनश्याम गौतम

Supreme Cooperative Fraud Case President Gurung in custody pending trial, order to release 6 others on bail

भैरहवा — बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन आरोपित ६ जनालाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गर्न आदेश गरेको छ । शुक्रबार मध्याह्न थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको  छ भने पूर्वपदाधिकारीसमेत रहेका दीपेश पुनलाई भने चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश भएको छ ।

ठगी प्रकरणका मुख्य आरोपी ओखलढुंगाका जीबी राईभन्दा पछाडि बुटवलका गुरुङ सुप्रिमको अध्यक्ष बनेका थिए । राई अध्यक्ष हुँदा पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश संस्थाको कोषाध्यक्ष थिए । 

२०७६ मा सुप्रिम र रूपन्देहीको मसिनामा रहेको जय अम्बे बहुउद्देश्यीय संस्थालाई एकीकृत कारोबार गर्ने निर्णय भयो । उक्त निर्णयअनुसार बनेको नयाँ सञ्चालक समितिमा गुरुङ अध्यक्ष थिए भने दीपेश सचिव रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । पुनले बयानमा सुप्रिम सहकारीबाट खातामा रकम जम्मा भएको विषयबारे आफूलाई जानकारी नभएको बयान दिएका थिए । 

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीका अनुसार शुक्रबार साँझसम्म धरौटी बुझाउन नसकेपछि पुन र अर्का प्रतिवादी नवीन अछामीलाई पनि अध्यक्ष गुरुङसँगै कारागार पठाइएको छ । अदालतले काठमाडौंमा पक्राउ गरेर रूपन्देही ल्याइएका अछामीलाई १० लाख रुपैयाँ धरौटी बुझेर रिहा गर्न आदेश गरेको थियो । ‘पुन र अछामीले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको छ,’ मरासिनीले कान्तिपुरसित भने, ‘बाँकी धरौटी बुझाएर रिहा भएका छन् ।’ अदालतले सहकारीको भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डेलाई १८ लाख, नीता थापामगरलाई २ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार र रोशनी गुरुङसित २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ । 

अदालतले अध्यक्ष गुरुङलाई थुनामै राखेर थप अनुसन्धान गर्न भनेको छ । अदालतले प्रहरीले अनुसन्धानका लागि पोखरा कारागारबाट यहाँ ल्याएका कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश गरेको छ । त्यस्तै प्रहरीले पेस गरेका सहकारीका पूर्वअध्यक्ष एवं अहिलेका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका अन्य प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमबार साँझ जिल्ला अदालतमा अभियोजनपत्र दर्ता गराएपछि मंगलबारबाट प्रतिवादीसित बयान लिन थालिएको थियो । गत मंगलबार सहकारीका अध्यक्ष गुरुङ, सहकारीका पूर्वकोषाध्यक्ष पुन, भैरहवा शाखा व्यवस्थापक चापागाईंको बयान लिइएको थियो ।

सूचना अधिकारी मरासिनीका अनुसार बुधबार सार्वजनिक बिदा परेकाले बाँकी प्रतिवादीसित बिहीबार बयान लिएपछि थुनछेक बहस सुरु भएको थियो । शुक्रबार बिहान पहिलो प्रहरमा बाँकी बहस सकिएपछि आदेश भएको थियो । प्रतिवादीको बयानअनुसार सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसी फरार छन् । रकम हिनामिना भएको भन्दै बचतकर्ताले उजुरी गरेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाईंलाई पक्राउ गरेको थियो । प्रहरीले प्रतिवादी कायम गरेका अधिकांश सहकारीका संस्थापक, वर्तमान र पूर्वपदाधिकारी फरार छन् । 

इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययनपछि रायसहित अभियोजना दर्ता गराएको थियो । प्रहरीले माग गरेपछि सर्वसाधारणको रकम ठगी गरेको भन्दै १ हजार ८ सय ३१ जनाले उजुरी गरेका थिए । सहकारीमा जीबी राईसहितको समूहले सर्वसाधारणबाट बचत भएको १ अर्ब ३१ करोड रकममध्ये सहकारीका राई, पुन, गुरुङसहितका पदाधिकारी र कर्मचारीले ८६ करोड १८ लाख, २३ हजार अपचलन गरेको प्रतिवेदन प्रहरीले बुझाएको थियो । सहकारीमा १९ हजार ३ सय ९१ सदस्य छन् ।

सहकारी अनियमितता

दीपेन्द्र

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully