रवि लामिछानेको वतन खुलाऊ

वैशाख ५, २०८१

सम्पादकीय

Open the land of Ravi Lamichhane

सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम, रकम, मिति र कैफियतसहितको प्रतिवेदन तयार पारेपछि यो विषय अब नयाँ अध्यायमा प्रवेश गरेको छ ।

लामिछानेले आफू सहकारीको सञ्चालक, बचतकर्ता र ऋणी नरहेको दाबी गर्दै आएकामा उनले प्रक्रिया पूरा नगरी सुप्रिम सहकारीबाट ऋण लिएको तथ्य उत्खनन गरेर प्रहरीले प्रतिवेदन बनाएको छ । प्रहरीका तालुक मन्त्रालयको नेतृत्वमा स्वयं लामिछाने रहेकाले उनलाई अहिले प्रतिवादी बनाइएको छैन । तर, प्रहरीले गरेको अनुसन्धान र जिल्ला सरकारी वकिल कार्यालयले लेखेको अभियोजनपत्रमा ९ ठाउँमा कैफियत टिप्पणीसहित लामिछानेको नाम, उनले गरेको अपचलन मिति र कारोबार रकमसहित अभिलिखित हुनु आफैंमा निर्णायक प्रमाण हो । सम्मानित अदालतमा प्रस्तुत भएको प्रतिवेदन स्वयं गृहमन्त्री लामिछानेले भनेजस्तो अब कागजको ‘चिर्कटो’ होइन, यो यस्तो कानुनी दस्ताबेज हो जसका आधारमा कुनै पनि निष्ठावान राष्ट्रसेवकले कुनै पनि मितिमा अनुसन्धान गर्न सक्छ र न्याय अन्याय छुट्याउन सक्छ । 

जस्तोसुकै अपराधको पनि अनुसन्धान गर्न सक्षम भनेर विश्वास गरिएको नेपाल प्रहरीले गोर्खा मिडियामा पैसा सार्ने रवि लामिछाने र देशका गृहमन्त्री रवि लामिछाने एकै हुन् कि फरक हुन् भनेर छुट्याउन नसकेको प्रतिक्रिया दिएको छ । राज्य संयन्त्रको शीर्षस्थानमा बसेर कानुनमाथि यस्तो मजाक विभिन्न कालखण्डका शासकहरूले गरेका हुन्, देशको दुर्भाग्य के हो भने नयाँ भनिएका शासकहरूले पनि त्यसैको भद्दा अनुसरण गरेका छन् । अझ आफ्नै मातहतको नेपाल प्रहरीलाई रवि लामिछानेको नाम र वतन खुलाउन नसक्ने परिस्थिति सिर्जना गरी अनाथ बनाएका गृहमन्त्रीले देशलाई सुशासनको कस्तो यात्रामा लग्ने हुन् भन्ने चिन्ताजनक प्रश्न खडा भएको छ । 

लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक बन्ने प्रयोजनका लागि आर्थिक स्रोत जुटाउन सुप्रिम सहकारीको दुई करोड बचत अपचलन गरिएको प्रहरी प्रतिवेदनबाटै छर्लङ्ग हुन्छ । त्यति मात्र होइन, बुटवलको सुप्रिम सहकारीबाट मात्र करिब १४ करोड गोर्खा मिडिया नेटवर्कमा सार्दा लामिछाने कम्पनीको प्रबन्ध निर्देशक रहेको दस्ताबेज पनि प्रतिवेदनमा समावेश भएको छ । तर, लामिछाने भने प्रबन्ध निर्देशक (सञ्चालक) पनि कर्मचारीसरह हो भन्ने भाष्य प्रचार गरेर सर्वसाधारणलाई गुमराहमा पार्न सकिन्छ कि भन्ने ध्याउन्नमा लागेका देखिन्छन् । सेयरधनी सञ्चालक भनेको कम्पनीको निर्णयाधिकारी हो जो कम्पनीका हरेक नीति र निर्णयका लागि जवाफदेही हुन्छ । ‘माथि जेसुकै लेखिएको भए पनि यो कानुन रवि लामिछाने सञ्चालक प्रबन्ध निर्देशक रहे पनि कर्मचारीसरह नै हुनेछन्’ भनेर नेपालको कानुनमा कहींकतै लेखिएको भेटिएको छैन । त्यस्तो कानुन बन्ने परिकल्पना गर्न नसकिने भएकाले लामिछानेले उन्मुक्ति पाउने परिकल्पना गर्न पनि असम्भव छ । 

लामिछानेले आफ्नातर्फबाट दुई करोड लिएको, त्यसको दुई पटक किस्ता तिर्दा पनि सोही सहकारीको बचत दुरुपयोग गरेको र उनी प्रबन्ध निर्देशक रहेका बेला सुप्रिमबाट मात्र १४ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको तथ्य अब प्रतिपक्षीको दाबी मात्र होइन, स्वयं प्रहरीको अनुसन्धान प्रतिवेदनका रूपमा अदालतमा प्रस्तुत भएको छ । आफैं मातहतको प्रहरीले अनुसन्धान गरी यस्तो प्रतिवेदन दिएपछि कुनै पनि नैतिकवान नेताले थप अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्ने हो । साँच्चै गृहमन्त्रीसँग सार्वजनिक नैतिकता, पदीय जिम्मेवारी र कानुनी जवाफदेहिताको न्यूनतम अनुभूति छ भने उनले प्रहरीलाई तत्काल निर्देशन दिनुपर्छ– ‘त्यसरी सर्वसाधारणको बचत हिनामिना गर्ने रवि लामिछाने को हो ? ऊमाथि पूर्ण अनुसन्धान गर, बयान लेऊ र अदालतमा मुद्दा दायर गर ।’ तर सहकारीको बचत अपचलनमा संलग्न रवि लामिछानेमाथि कानुनी कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले मार्गप्रशस्त गर्छन् भने मात्र सुशासनको अपेक्षा गर्न सकिन्छ । उनी पनि शक्ति र सत्तालाई आफ्नै स्वार्थको कवच बनाउन आएका हुन् भने त्यो देशकै दुर्भाग्य हो । 

फेरि, यो कुनै दुई व्यक्ति वा संस्थाको दुईपक्षीय लेनदेन मात्र होइन । गोर्खा मिडियाले दोहन गरेका पोखराको सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय, चितवनको सहारामा आठ हजार, बुटवलको सुप्रिम सहकारीमा १० हजार, काठमाडौंको स्वर्णलक्ष्मीमा १३ हजारसहित करिब ४९ हजार बचतकर्ताको ५० करोडभन्दा बढी गोर्खा मिडियामा पुगेको दस्ताबेजबाटै पुष्टि भइसकेको छ । सूर्यदर्शन सहकारीबाट त ३० करोड सारिएको भनेर दुई पक्षबीच तमसुक नै भएको छ । कुनै पनि शक्तिका आडमा बचत हिनामिनाको अनुसन्धान रोकिएमा यही नजिरमा सयौं सहकारीका लाखौं बचतकर्ता मर्कामा पर्नेछन् । किनकि जीबी र रविहरूका लागि सहकारी एउटा मौका भए पनि आम सर्वसाधारणका लागि सहकारी जीवनशैली हो । अहिले ३१ हजार ३ सय ७३ सहकारीमा ७३ लाख ८१ हजार २ सय १८ सर्वसाधारण बचतकर्ता छन् । यी सहकारीबाट ४ खर्ब ७८ अर्ब बचत र ४ खर्ब २६ अर्ब ऋण परिचालन भएको छ । सर्वसाधारणको बचत सुरक्षण गर्दै समुदाय र समग्र अर्थतन्त्रलाई सुरक्षित बनाउन पनि यो विषयमा गहन जाँचबुझ आवश्यक छ । कांग्रेस, एमाले, माओवादी वा रास्वपाका लागि यो राजनीतिक दाउपेचको विषय हुन सक्छ तर सर्वसाधारण बचतकर्ता र देशको अर्थतन्त्रका लागि यो भविष्यकै मुद्दा हो । 

बचतकर्ता सडकमा, गैरकानुनी ऋण लिने लामिछाने सत्तामा 

लामिछानेका समर्थक केहीले यस्तो पनि भाष्य बनाउन खोजेका छन्– ‘सहकारीबाट रकम लिनेको के कसुर ? दिनेको पो अपराध हो । कारबाही उसैलाई हुनुपर्छ ।’ कुनै व्यक्ति, संस्था, सहकारी वा बैंकलाई छक्याउन सकेका बेला जति पैसा लिए पनि हुन्छ, कसुर दिनेकै हुन्छ भन्ने हो भने दुनियाँको सभ्यता समाप्त हुनेछ । अहिलेसम्म नलेखिएको यस्तो विधान रवि लामिछानेकै पालामा लेखिन सम्भव छैन । कानुनकै सन्दर्भमा पनि सहकारी ऐनमा २०७४ को दफा १२२ ले ऋणीले पनि बेइमानी गरेमा जरिवाना र जेल सजायको स्पष्ट व्यवस्था छ । ‘झूटा विवरण दिई ऋण लिएमा, धितो कमसल ठहरिएमा वा कर्जा हिनामिना गरेमा बिगो भराइ, बिगो बराबरको जरिवाना र ६ वर्षसम्म जेल सजाय’ हुने व्यवस्था छ । जब राखेको धितो कमजोर भएमा कारबाहीको व्यवस्था छ भने धितो नै नराख्नेलाई कारबाही हुँदैन भन्नु अर्को प्रहसन हो । तर, सर्वसाधारणको बचतमाथि भएको यो प्रहसन कुनै पनि कोणबाट रोचक भने छैन । 

हो, आज शक्तिको छायामा परेको प्रहरीले रवि लामिछानेको पहिचान खुलाउन सकेको छैन । हिजो शक्तिमा रहेका कृष्णबहादुर महराका बाबुछोराले सुन तस्करसँग २ सय ५६ पटक फोन संवाद गरेको प्रतिवेदन लेख्दा पनि प्रहरीले ती ‘कृष्णबहादुर महरा’ को हुन् भनेर पहिचान खुलाउन सकेको थिएन । तर सञ्चारमाध्यमको निरन्तर खबरदारी र संसद्मा तत्कालीन प्रमुख प्रतिपक्षी र रास्वापासमेतको निरन्तर आवाजपछि गठन भएको जाँचबुझ आयोगले ती कृष्णबहादुर महरा पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष हुन् भनेर पहिचान खुलायो । त्यही प्रतिवेदनका आधारमा गृहमन्त्री लामिछानेले महरालाई पक्राउ गर्न निर्देशन मात्र दिएनन्, मुद्दाबाट उन्मुक्ति दिने सीआईबी प्रमुख किरण वज्राचार्यलाई पनि कारबाहीको शैलीमा सरुवा गरे । शक्तिको छायामा डगमगाउने प्रहरी हाकिम फेरि अर्को सत्ताको कोपभाजनमा पर्छन् । त्यति मात्र होइन, निर्देशन दिने राजनीतिकर्मी पनि उम्कन पाउँदैनन् भन्ने स्वयं महरा प्रकरणबाटै प्रस्ट हुन्छ ।

आज वैकल्पिक शक्तिको राप र ताप उम्दा छ । तर, लामिछाने र उनका सहयात्रीहरूले के बिर्सनु हुँदैन भने विगतमा विभिन्न कालखण्डमा यस्तो ताप विभिन्न शक्तिसँग थियो । जनताको भरोसालाई विशेषाधिकार ठानेका कारण विगतमा शक्तिशाली मानिएका व्यक्ति र संगठन आज लिलिपुट भएका हुन् । जनताको एउटा स्वभाव के हुन्छ भने नयाँ केही गर्छु भन्नेलाई भरोसा गर्न जति आतुर हुन्छन्, भरोसालाई बिर्ता ठान्नेलाई हविगत देखाइदिन रत्तिभर पनि समय बर्बाद गर्दैनन् । राजनीतिको यो रीतबाट रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी अलग रहन सम्भव छैन । त्यसैले उनलाई भरोसा गरेको समुदायलाई विश्वस्त बनाउन पनि गृहमन्त्रीले सहकारीको बचत अपचलनमा निष्पक्ष छानबिनमा अवरोध गर्नु हुँदैन । वर्तमान गृहमन्त्रीले प्रहरी र सरकारी वकिललाई उनीहरूको परिभाषित कर्तव्यपालनामा व्यवधान गर्छन् भने देश दुनियाँ त्यहीं ठप्प हुने होइन । फेरि समय आउँछ जसले प्रहरी, गृहमन्त्री र सरोकारवाला सबैमाथि अनुसन्धान हुने वातावरण बनाउँछ । किनकि तथ्य कहिलेकाहीं बरालिन सक्छ तर पराजित कहिल्यै हुँदैन ।

सहकारी अनियमितता

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully