कञ्चनपुर — भीमदत्त नगरपालिका–१८ सालघारीका २९ वर्षीय धनबहादुर चौधरीलाई अहिले थारू पहिरनमा सजिएका महिलाको चित्र कोर्न भ्याइनभ्याई छ । थारू संस्कृति झल्किने चित्र कोर्नमै आफू रमाउने गरेको उनले बताए । ‘स्कुल पढ्दादेखि नै चित्रकलाप्रति रुचि राख्थें,’ उनले भने, ‘अहिले यसै पेसाबाट स्वरोजगार पनि बनेको छु ।’
रोजगारीका लागि युवाहरू विदेश गइरहेका बेला उनी भने गाउँघरमै आफ्नो रुचिको काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । आफूले दिनमा एक हजार पाँच सयदेखि दुई हजारसम्म आम्दानी गरिरहेको उनले बताए ।
‘सानैदेखि यो आर्ट्समा रुचि थियो, आफैं गर्दागर्दै सिकियो,’ चौधरीले भने, ‘१२ कक्षा पढ्दै स्कुल छाडेर यही पेसामा लागें ।’ उनी एक दशकदेखि यही काममा छन् । चित्रकला र ब्यानर साइन बोर्ड लेख्न उनी विभिन्न ठाउँ पुग्छन् । दिनभरि काम गरेर त्यसैबाट घर परिवारको गुजारा चल्ने गरेको उनले सुनाए । चौधरी ब्रस र पेन्सिलले भन्दा मेसिनबाट ‘स्प्रे गरेर’ अझ राम्ररी चित्र बनाउँछन् । ब्रसको प्रयोग कम गर्छन् । स–सानो काममा भने ब्रसकै प्रयोग गर्छन् । चित्रकला वा ब्यानर तथा होर्डिङ बोर्ड र साइन बोर्डलगायत बनाउँदा प्रतिवर्गमिटरको तीन सयदेखि ५ सय रुपैयाँसम्म ज्याला निर्धारण गरिएको उनले बताए ।
प्रविधि भित्रिएसँगै पेन्टिङको काम पनि कम भएको चौधरी बताउँछन् । उनका अनुसार पसलको नाम लेख्ने, साइन बोर्ड बनाउने तथा विभिन्न किसिमका कार्यक्रमको ब्यानरलगायत बनाउने काम अहिले मेसिनबाटै हुन्छ । २० वर्षदेखि पेन्टिङको काम गरिरहेका पुनर्वास नगरपालिका–८ का उदय सुनारले भने, ‘अहिले त कार्यक्रमका लागि ब्यानर बनाउने, होर्डिङ बोर्ड बनाउने सबै काम फ्ल्याक्स प्रिन्टले खाइदियो ।’ उनी १७ वर्षकै उमेरमा यो पेसामा लागेका हुन् । त्यतिबेला कला क्षेत्रमा निकै आकर्षण थियो । घरेलु तथा साना उद्योग कार्यालयले यो विषयमा तालिम पनि दिने गर्थ्यो । उनी तीनमहिने तालिम गरेर यस पेसामा लागेका हुन् । काम गर्दागर्दै उनले थप तीन महिनाको तालिम लिए । अहिले उनी फाइन आर्ट र कमर्सियल आर्टका चल्तीका कलाकार भएका छन् ।
नेपाल आर्टिस्ट संघले अरनिको दिवसको उपलक्ष्यमा महेन्द्रनगर बजार क्षेत्रको जिल्ला प्रशासन रोड छेउको पर्खालमा विभिन्न किसिमका कला संस्कृति झल्किने खालका पेन्टिङ गरिरहेको छ । पेन्टिङमा २२ जना कलाकार खटिएका छन् । मौलिक पहिरनमा थारू महिला, विभिन्न किसिमका नृत्यमा रहेका महिला, छलिया नृत्य, हुडकेली नृत्यलगायतका चित्र पर्खालमा कोरिएका छन् । ती चित्रले यस क्षेत्रको कला संस्कृतिलाई समेत झल्काएको छ । ‘सानोमा स्कुलको होमवर्क नगरी दुईतिर टुकी बालेर चित्र कोर्थें, राति दाइलाई देखाएर मात्रै सुत्थें,’ बेलौरी नगरपालिका–२ बैजुडाँडाका तुलसीराम चौधरीले भने, ‘अहिले यही पेसाले घर परिवारको गुजारा चलेको छ ।’ उनी दुई कक्षामा पढ्दादेखि नै चित्रकलामा लागेका हुन् । उनको परिवारमा दाइ, भाइ र भतिजीहरूसमेत राम्रो चित्र बनाउन सक्छन् ।
‘यो पेसा गरेर राम्ररी घरपरिवारको खर्च चलाउन सकिन्छ,’ चौधरी भन्छन्, ‘खाडीको कमाइभन्दा यसमै राम्रो हुन्छ, महिनाको ५०/६० हजारसम्म कमाउन सकिन्छ ।’ तर, अहिले व्यापार व्यवसायमा आएको मन्दीले यो पेसामा पनि मन्दी छाएको उनी बताउँछन् । उनका अनुसार बजारमा व्यवसाय राम्रो हुँदा व्यापारीले हरेक वर्ष पसलको नाम लेख्न बोलाउँथे । आकर्षक ढंगले सजाएर लेख्न लगाउँथे । तर अहिले त्यो सबै काम कम भएको छ । यो पेसामा नयाँ पुस्ताको आकर्षण पनि घट्दै गएको चौधरीले बताए । घट्दो काम र तालिमको अभावका कारण नयाँ युवा यसमा लाग्न सकेका छैनन् । अहिले कञ्चनपुरमा २५/३० जना मात्रै यो काममा रहेको उनले बताए ।
