काठमाडौँ — माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय लिएको छ । सांसदहरू झक्कु सुवेदी, रेणु चन्द र अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालको नाम चर्चामा आए पनि राष्ट्रपतिको मनोनीत कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले आफ्ना भाइसहित सुवेदी र अर्यालको नामबारे नेताहरूको धारणा माग गरेका थिए ।
राष्ट्रिय सभामा अर्याल र दाहालको कार्यकाल ४/४ वर्ष बाँकी छ भने चन्द र सुवेदीको ६/६ वर्ष । प्रधानमन्त्री दाहालले छलफलका लागि नाम अगाडि सारेपछि पदाधिकारीहरूले ६ वर्षे कार्यकाल भएका सुवेदी वा रेणु चन्दमध्येबाट एकलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने धारणा राखेको एक नेताले बताए । चारवर्षे कार्यकाल भएकालाई उम्मेदवार बनाउने भए अहिले राष्ट्रिय सभा उपाध्यक्ष रहेकी अर्याललाई नै बनाउनुपर्ने पनि धारणामा केहीले राखेका थिए । ‘मूलतः ६ वर्ष कार्यकाल भएका झक्कु सुवेदी वा रेणु चन्दलाई अध्यक्ष बनाउनुपर्छ भन्ने केही साथीको कुरा रह्यो । महिलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्छ भन्ने कुरा पनि आयो । पुरानो र अवसर नपाएकाले नारायण दाहाललाई अध्यक्ष बनाउनुपर्छ भन्नेहरू पनि हुनुहुन्थ्यो,’ ती नेताले भने ।
पदाधिकारीका फरक–फरक धारणा सुनेका अध्यक्ष दाहालले ‘नारायण दाहाल उम्मेदवार बनाउने निर्णय गरौं’ भनेर बैठक सकिएको घोषणा गरेका थिए । बैठकपछि सचिव चक्रपाणि खनालले निर्णय सार्वजनिक गरेका थिए । ‘राष्ट्रिय सभा अध्यक्षको सम्बन्धमा व्यापक रूपले छलफल भयो । बैठकको निर्णय नारायण दाहाललाई उम्मेदवार बनाउने भयो,’ खनालले भने ।
प्रधानमन्त्रीका भाइलाई राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने पदाधिकारीको निर्णयलाई लिएर माओवादीका सांसदसमेत रहेका केही नेताले भने असन्तुष्टि जनाएका छन् । स्थायी समिति सदस्यसमेत रहेका एक सांसदले भने, ‘राष्ट्रिय सभा अध्यक्ष बनाउनका लागि कुनै न्यायसम्मत त हुनुपर्यो । एउटा आधार त हुनुपर्यो । राष्ट्रपतिबाट मनोनीत हुने अनि अध्यक्ष खाने ?’
माओवादीको यो निर्णयसँगै नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार दाहाल हुनेछन् । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ । अध्यक्ष दाहालले शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा कांग्रेससँग गठबन्धन तत्काल तोड्नुको कारण राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भएको बताएका थिए ।
चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण, २०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि उनी २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकारसमेत भइसकेका छन् ।
राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन् । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । मनोनीत वामदेव गौतमले कहाँ भोट हाल्ने खुलाएका छैनन् ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुन् । २०४५ मै कांग्रेसको बाँके सभापति भएर काम गरेका उनी २०२८ मा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए । नेता सुशील कोइरालासँग विवादका कारण राजनीतिक रूपमा पछि परेका उनी दुई पटक बागी उम्मेदवारसमेत बनेका थिए । उनी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर २०७८ मा राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते मंगलबार हुनेछ । सोमबार ११ देखि १ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।
