जनमतले भन्यो : नयाँ गठबन्धनमा मधेश सरकारबारे ठोस निर्णय हुनुपर्छ

'सम्मानजनक हिस्सेदारी' पाए संघ सरकारमा सहभागी हुने

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

Public opinion said: There should be a concrete decision about the Madhesh government in the new coalition

काठमाडौँ — जनमत पार्टीले नयाँ सत्ता गठबन्धनभित्र मधेश प्रदेश सरकारका विषयमा ठोस निर्णय हुनुपर्ने बताएको छ । सोमबार बसेको सचिवालय बैठकमा जनमतले मधेशमा जनता समाजवादी पार्टीकै नेतृत्वमा फेरि सरकारमा सहभागी नहुने निर्णय गरेको पार्टीका सचिव बीपी साहले बताए । 

मधेशमा जनमत र जसपाबीच भुईंतहसम्म मनमुटाव रहेको देखिन्छ ।  कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा झडपै भएपछि सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएर समर्थनसमेत फिर्ता लिएको थियो ।

त्यस्तै यसअघि पनि आलोपालो मधेश सरकारको नेतृत्व गर्ने सहमति भए पनि लागू नभएको जनमतको ठहर छ । सचिव साह भन्छन्, 'मधेश प्रदेश सरकारको विषयमा ठोस निर्णय हुनुपर्छ। जसपाकै नेतृत्वमा सहभागी हुँदैनौँ । यसअघि पनि आलोपालोको सहमति भएको थियो, लागू भएन। अहिले मुख्यमन्त्रीबारे प्रस्ट हुनुपर्छ ।'

त्यस्तै संघ सरकारमा सम्मानजनक हिस्सेदारी भएको अवस्थामा सरकारमा जानेबारे निर्णय गरिने पनि सचिव साह बताउँछन् । 'आजको बैठकले गठबन्धनको हामीप्रतिको धारणा आएपछि मात्रै कुनै निर्णयमा पुग्छौँ,' साहले भने । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । 

सत्ता गठबन्धन हेरफेर

कान्तिपुर

Link copied successfully