सरकारको नेतृत्व आलोपालो, कार्यकालबारे गृहकार्य हुँदैछ : महासचिव पोखरेल

‘नयाँ गठबन्धन बनेको मितिदेखि आधा-आधा कार्यकाल दुई पार्टीले सरकारको नेतृत्व हुनेछ ।’ - माओवादी

फाल्गुन २१, २०८०

गंगा बीसी

The leadership of the government is changing, homework is being done about tenure: Secretary General Pokharel

काठमाडौँ — एमाले महासचिव शंकर पोखरलेले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरी अघि बढ्ने समझदारी भएको बताएका छन् । उनले एमाले र माओवादीबीच सरकारको नेतृत्व गर्नेबारे कार्यकाल कति हुने भन्नेबारे गृहकार्यकै चरणमा रहेको बताए ।

हाल माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेकाले अर्को कार्यकालबारे समझदारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनको भनाइ छ ।

‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ,’ उनले इकान्तिपुरसँग भने, ‘दुई पार्टीले कति-कति समय सरकारको नेतृत्व गर्नेबारे गृहकार्य भइरहेको छ ।’ पोखरेल नयाँ गठबन्धन बनाउने कार्यदलमा थिए ।

एमालेको कांग्रेस माओवादी गठबन्धन भत्काउने मूल रणनीति लिएको थियो । हाल दाहालकै नेतृत्वमा सरकारमा गएर अघि बढ्ने निर्णय गरको थियो । माओवादीका एक नेताका अनुसार एमाले माओवादी गठबन्धन बनेकै दिनदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल र ओलीबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने मौखिक समझदारी भएको छ  । 

माओवादीका एक वरिष्ठ नेताले अबदेखि आधा-आधा कार्यकाल सरकाको नेतृत्व गर्ने बताए ।‘नयाँ गठबन्धन बनेको मितिदेखि आधा-आधा कार्यकाल दुई पार्टीले सरकारको नेतृत्व हुनेछ,’ ती नेताको भनाइ छ, ‘०८४ को निर्वाचनसम्म सहकार्य गर्ने समझदारी छ ।’

यसरी हिसाब गर्दा दाहालले अझै करिब डेढ वर्ष सरकारको नेतृत्व गर्ने र बाँकी कार्यकाल ओलीले गर्नेछन् । ०७४ को निर्वाचनपछि बनेको एमाले माओवादी गठबन्धन सरकारमा ओली प्रधानमन्त्री भएका थिए । त्यसपछि जेठमा दुई पार्टीबीच एकता हुँदा ओली र दाहाल पार्टी अध्यक्ष बनेका थिए । ओली र दाहाल करिब साढे तीन वर्षपछि एउटै पार्टीमा रहेका थिए । सर्वोच्चले ०७७ फागुन २३ मा एमाले र माओवादी ब्युँताएपछि ओली र दाहाल अलग भएका थिए । 

गत आम निर्वाचनपछि करिब दुई महिना यी दुई नेताबीच  सरकारमा सहकार्य भएको थियो । राष्ट्रपति कसलाई बनाउने भन्नेमा कुरा नमिलेपछि एमाले माओवादी गठबन्धन टुटेको थियो ।

सत्ता गठबन्धन हेरफेर

गंगा

Link copied successfully