काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मिसन–२०८४ नछोड्ने बताएका छन् । सत्तारुढ गठबन्धन परिवर्तन गरी एमाले सरकारमा गए पनि २०८४ सालको निर्वाचनमा पार्टीलाई निर्णायक शक्तिमा परिणत गर्ने आफूहरुको उद्देश्य भने नछोड्ने ओलीको भनाइ छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यथास्थितिवादी शक्ति र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश यस्तै अवस्थामा रहने भएकाले पनि एमालेले राष्ट्रियताको रक्षा, संवर्द्धन, सुशासन, विकास आदिको पक्षमा काम गर्नका लागि मिसन, २०८४ अभियान सञ्चालनमा ल्याउनु परेको जिकिर गरे । राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने उद्देश्यका साथ मिसन–२०८४ बनेको उनको भनाइ थियो ।
'देशका परिवर्तन आवश्यक छ, हुनुपर्छ । परिवर्तन हुन्छ । र जेसुकै परिवर्तन भएपनि हामी मिसन २०८४ छोड्दैनौं । नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो उद्देश्य जुन हो । यो मिशन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्रै होइन । त्यो भन्दा माथिको कुरा छ यो,' उनले भने ।
अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै मुलुकमा व्यवस्था बदलिए पनि अवस्था बदलिएन भन्ने कुरा सही नभएको दाबी गरे । विगतमा पनि मुलुकले धेरै ठूलो उपलब्धिहरु हात पारेको र अझ राम्रो गर्दै जानुपर्ने ओलीको भनाइ थियो । अध्यक्ष ओलीले मजदुरहरुको न्युनतम ज्याला पाउने कुरा समेत कानुनमा व्यवस्था गरिएको उल्लेख गर्दै उनले व्यवस्थासँगै मुलुकको अवस्थामा धेरै फेरबदल आएको बताए ।
