काठमाडौँ — एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गृह मन्त्रालय कसले लिने भन्नेमा रस्साकस्सी चलेको छ । ०७९ पुस १० गते एमालेको समर्थनमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदा रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
त्यसैमा टेकेर लामिछानेले आफ्नो पार्टीले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय नै पाउनुपर्ने अडान राखेका छन । उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय पाउँदा पार्टीबाट आफैले नेतृत्व गरेर सरकारमा जाने चाहना लामिछानेले राखेका छन । तर, एमालेले विकसित पछिल्ला घटनाक्रम देखाएर गृह मन्त्रालय आफ्नो पार्टीले लिन चाहिरहेको एक नेताले बताए । अर्थमन्त्री माओवादीका उपमहासचिव वर्षमान पुनलाई बनाउने बलियो सम्भावना छ ।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान कायम राखेका छन् । गृह मन्त्रालयमा टुंगो लागिनसकेका कारण रास्वपाबाट पार्टीका उपसभापति डीपी अर्याललाई शपथ गराउने निर्णय गरेको छ । उनको मन्त्रालयको विषय पनि टुंगो लागिसकेको छैन ।
‘खासगरी गृह मन्त्रालय कसले लिने भन्नेमा एमाले र रास्वपाबीचमै मुख्य रस्साकस्सी छ,’ एमालेका एक नेताले भने । रास्वपाका एक नेताले गृह मन्त्रालयलाई सरकारमा सहभागिताको सर्त नबनाइएको संकेत गरे । ‘मुख्य कुरा मन्त्रालयभन्दा पनि सार्वजनिक सेवा र सुविधामा डेलीभरी गर्ने कुरा मुख्य कुरा हो । जुन मन्त्रालय पाउँदा पनि राम्रो काम गरेर देखाउन सक्दा हुन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ,’ रास्वपाका एक नेताले भने,‘मन्त्रालय बाँडफाँडका विषयमा संवाद गर्न सचिवालय बैठकले पार्टी सभापतिज्यूलाई जिम्मा दिइएको छ ।’
