राजनीतिक हलचलपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

फाल्गुन २१, २०८०

कान्तिपुर संवाददाता

After the political upheaval, the Congress called a meeting of the Central Performance Committee

काठमाडौँ — सत्ता समीकरण फेरिएसँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबादुर देउवाले मंगलबार दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

बैठक सभापति देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन जना मन्त्रीलाई सोमबार साँझ नै शपथ गराउने तयारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरिसकेका छन् । प्रधानमन्त्रीले औपचारिक रूपमा नयाँ मन्त्रीहरूको नाम पठाउने पनि बताएका छन् ।

कांग्रेस मन्त्रीले राजीनामा नदिएपछि हटाएर उनी नयाँ मन्त्री बनाएको पत्र लिएर गएका हुन् । अहिलेसम्म ३ जना मन्त्रीको टुंगो लागिसकेको छ । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने पक्का भइसकेको छ ।

जसपाले पनि छिट्टै नै मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका विषय थप गर्नुपर्ने भनेपछि दलहरूले छलफल लम्ब्याएका हुन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्‍मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

कान्तिपुर

Link copied successfully