०८४ मा एक्लै चुनाव लड्ने कांग्रेसको प्रस्तावमा माओवादीको टाउको दुखाइ छैन : उपाध्यक्ष सापकोटा

फाल्गुन १०, २०८०

कान्तिपुर संवाददाता

There is no headache for the Maoists on the Congress's proposal to contest the elections alone in 084: Vice President Sapkota

काठमाडौँ — कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’ उनलाई दाहालको प्रश्न थियो, ‘महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?’ देउवाको छोटो उत्तर थियो, ‘०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’

त्यसको अर्को दिन मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे । एमाले केन्द्रीय कमिटी बैठकपछि ओली दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । दुवै नेताले राजनीतिक सन्देश दिन मात्र भेटेका हुन् कि अर्को समीकरणको तयारी हो ? यसबारे दुवै शीर्ष नेताले मुख खोलेका छैनन् । यसै सन्दर्भमा माओवादी उपाध्यक्ष अग्नि सापकोटासँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी : 

कांग्रेस महासमिति बैठकमा गठबन्धनको विकल्पबारे प्रस्तुत प्रस्तावले सत्ता समीकरणमा पर्ने प्रभावलाई कसरी लिनुभएको छ ?

हामीले देशको सबभन्दा ठूलो पार्टी, गठबन्धनको साझेदार भएकाले कांग्रेस महासमिति बैठकलाई नजिकबाट हेरिरहेका छौं । बहसलाई सुनिरहेका छौं । उहाँहरूको बहसले अहिले नै गठबन्धनलाई तात्विक असर र प्रभाव पार्लाजस्तो लागेको छैन । तर महासमितिले गर्ने निर्णय चाहिँ महत्त्वपूर्ण हो । अन्तिम निर्णय के हुन्छ, हेरौं । 

कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन सरकारको कामप्रति प्रश्न उठाउनुभएको छ नि ?

चुनाव आउन धेरै समय बाँकी छ । संस्थापनइतर पक्षले पार्टीभित्र आफ्नो धार सृष्टि गर्न खोजेको देखिन्छ । यसले तत्काल गठबन्धनमा प्रभाव पर्दैन । अर्कोतर्फ कांग्रेस सभापति देउवाजी र प्रधानमन्त्रीबीच पनि कुराकानी भइरहेको छ । आगामी निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयको निर्णय त्यतिबेलै गर्ने कुरा हो । त्यतिबेला यो कार्यनीति फेरिन पनि सक्छ । परिस्थितिअनुसार २४ घण्टामै त कार्यनीति बदलिन सक्छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भइरहेको छ, गठबन्धनको विकल्प खोज्न लागिएको हो ?

यो भेटघाट शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउनका लागि हो । पीडितले शान्ति प्रक्रिया निष्कर्षमा पुगोस् भन्ने चाहेका छन् । प्रमुख प्रतिपक्षले यसलाई राजनीतिक दाउपेचको विषय बनाइरहेको छ । म सभामुख हुँदै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न लागेको थियो, अड्कियो । राजनीतिक स्वार्थका कारण यो अड्किइरहेको छ । त्यसकै लागि प्रमुख प्रतिपक्ष दलको नेता ओलीजीसँग निरन्तर छलफल गरिरहनुभएको छ । प्रधानमन्त्रीले कान्तिपुरमै लेख लेखेर भन्नुभएको छ, लोकतान्त्रिक शक्तिसँग सहकार्य, समग्र वामपन्थी एकीकरण, कम्युनिस्ट पार्टी पुनर्गठन आवश्यक छ भनेर । यो रणनीतिक विषय हो ।

०८४ को आमचुनावमा कांग्रेस एक्लै चुनाव लड्ने प्रस्तावमा माओवादीको किन टाउको दुखाइ ?

कुनै टाउको दुखाइ छैन । हामीले विधान अधिवेशन, केन्द्रीय समितिबाट स्पष्टसँग एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारीको निर्णय गरेका छौं । हल्लाखल्लाभन्दा पनि संगठन विस्तारमा जोड लगाएका छौं । त्यहीअनुसार देशभर राजनीतिक अभियान चलाउँदै छौं ।

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully