गठबन्धनबारे कांग्रेसमा बहस, बालुवाटारमा तरंग

देउवासँग छलफल गरेको भोलिपल्टै मंगलबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री दाहालको ओलीसँग पनि वार्ता

फाल्गुन १०, २०८०

गंगा बीसी

Debate in Congress about alliance, waves in Baluwatar

काठमाडौँ — कांग्रेस महासमिति बैठक सुरु भएकै दिन सोमबार बेलुका पदाधिकारीको बैठकबीच कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर भने, ‘पार्टीभित्र बहस भए पनि गठबन्धनबारे शंका नगर्नुस् ।’ उनलाई दाहालको प्रश्न थियो, ‘महासमितिले तत्काल गठबन्धन तोड्ने निर्णय त गर्दैन नि ?’ देउवाको छोटो उत्तर थियो, ‘०८४ को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने मात्र बहस हो ।’

त्यसको अर्को दिन मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे । एमाले केन्द्रीय कमिटी बैठकपछि ओली दाहाललाई भेट्न बालुवाटार पुगेका थिए । दुवै नेताले राजनीतिक सन्देश दिन मात्र भेटेका हुन् कि अर्को समीकरणको तयारी हो ? यसबारे दुवै शीर्ष नेताले मुख खोलेका छैनन् । तर दाहाललाई बुझेका एक नेताले उनी जहिले पनि दुई विकल्प सँगै लिएर हेर्ने नेता हुन् ।

‘प्रधानमन्त्री प्रचण्ड जहिले पनि दुई विकल्प राखेर हिँड्नुहुन्छ । कसैले यसलाई दुई डुंगामा खुट्टा राखेको पनि भन्छन्,’ दाहालनिकट ती नेताले भने, ‘एउटा डुंगा डुब्न थाल्यो भने फुत्त अर्को डुंगामा हाम फाल्नुहुन्छ ।’ उनले गत वर्ष देउवाले प्रधानमन्त्री नदिँदा बालकोट र ओलीसँग राष्ट्रपतिमा कुरा नमिल्दा देउवातिर फर्केको उदाहरण दिए । ‘प्रचण्ड लेफ्ट–राइट गर्न सक्ने खुबी भएको नेता हो,’ ती नेताले कांग्रेसमा गठबन्धनबारे बहस भएको प्रसंग उल्लेख गर्दै भने, ‘अहिले प्रचण्ड राइट वे (दायाँ बाटो) मा हुनुहुन्छ, देउवासँग खटपट भए लेफ्ट टर्न गर्न विकल्प खुला छ ।’

बालुवाटार स्रोतका अनुसार दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याए आगामी दिनमा एमालेसँग सहकार्यको बाटो खुल्ने बताएका थिए । दुई नेताबीच एक्लाएक्लै भएको भेटले मुख्यतः वामपन्थीबीच संवाद जारी रहेको सन्देश दिएको छ । ‘अहिल्यै दाहाल र ओलीबीच सहकार्य भइहाल्छ भन्ने होइन, संवादले नजिक ल्याउँछ’ माओवादीका एक नेताले भने ।

१५ महिनादेखि सरकारको नेतृत्व गरिरहेका दाहाल कांग्रेसका मन्त्रीहरू (अर्थमन्त्री प्रकाशशरण महतलगायत) सँग सन्तुष्ट छैनन् । मन्त्रिपरिषद् सदस्य (मन्त्री) हेरफेर गर्न खोजे पनि देउवाले चाहेका छैनन् । सार्वजनिक रूपमा मन्त्रिपरिषद् हेरफेर गर्ने बताइसकेका दाहाल यो विषयमा असन्तुष्ट छन् । देउवाकै अडानका कारण उनले कांग्रेस, माओवादी, नेकपा एकीकृतका मन्त्रीहरू हेरफेर गर्न सकिरहेका छैनन् । 

कांग्रेस महासमितिमा महामन्त्री गगन थापाले ‘गठबन्धनको राजनीतिले त्यसलाई यति विकृत बनाएको छ कि कुहिने तहमा पुगेको, यो संस्कृतिले खराब–खराबलाई एक ठाउँमा ल्याउने काम गरेको’ भन्दै कांग्रेस एक्लै चुनावमा जानुपर्ने प्रस्ताव गरेका छन् । 

देउवा र दाहालबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारीअनुसार यो गठबन्धन सरकार चलिरहेको छ । समझदारीअनुसार दाहालले अझै करिब एक वर्ष सरकारको नेतृत्व गर्नेछन् । अर्को वर्ष पुससम्म समझदारी टिकिरह्यो भने देउवा प्रधानमन्त्री हुने बाटो खुला रहनेछ । कांग्रेस महासमितिको बहुमतले गठबन्धन सरकारबाट बाहिरिन पार्टीलाई दबाब सिर्जना गर्‍यो भने देउवा अप्ठ्यारोमा पर्नेछन् । 

गठबन्धनबारे महासमितिले गर्ने निर्णयलाई बालुवाटार अर्थात् प्रधानमन्त्री दाहालले पर्खिरहेका छन् । महासमितिमा पेस भएका प्रस्तावमा ‘सत्ता गठबन्धनप्रति इमानदार रहने’ उल्लेख भएकाले दाहाल अर्को समीकरणमा अघि बढ्ने रणनीतिमा छैनन् । एमाले माओवादी गठबन्धन भत्किएपछि गत फागुन ११ मा कांग्रेस माओवादीसहित गठबन्धन बनेको थियो । यो एक वर्षको अवधिमा देउवा र दाहालबीच सहकार्यमा कुनै खटपट आएको छैन । 

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस महासमिति बैठकले गर्ने औपचारिक निर्णयपछि टिप्पणी गर्नु उचित हुने बताए । ‘०८४ मा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने बहस चलेको देखिन्छ, अहिले गठबन्धन फेर्ने भन्ने छैन,’ उनले भने, ‘महासमितिले के निर्णय गर्छ, त्यस आधारमा गठबन्धनमा छलफल हुनेछ ।’ 

सचिव देवेन्द्र पौडेलले वामपन्थी जुट्ने गरी कांग्रेसले निर्णय गरेमा कांग्रेसलाई नै नोक्सान हुने टिप्पणी गरे । ‘वामपन्थी फुट्दा नै कांग्रेसलाई राजनीतिक फाइदा हुन्छ,’ उनले भने,

‘आफूलाई हानि हुने गरी कांग्रेसले गठबन्धन छाड्न कठिन छ ।’ दाहालनिकट केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले ०८४ मा कांग्रेस र माओवादी एक्लाएक्लै चुनाव लड्न कसैले नछेक्ने बताए । ‘गठबन्धन गर्नु गलत भनेर कांग्रेसले राजनीतिक अस्थिरतालाई निम्त्याउन खोजेको छ’ उनले भने ।

'कांग्रेसभित्रको बहसलाई गम्भीरतापूर्वक हेरिरहेका छौं' 

Debate in Congress about alliance, waves in Baluwatarअग्निप्रसाद सापकोटा, माओवादी उपाध्यक्ष 

कांग्रेस महासमिति बैठकमा गठबन्धनको विकल्पबारे प्रस्तुत प्रस्तावले सत्ता समीकरणमा पर्ने प्रभावलाई कसरी लिनुभएको छ ?

हामीले देशको सबभन्दा ठूलो पार्टी, गठबन्धनको साझेदार भएकाले कांग्रेस महासमिति बैठकलाई नजिकबाट हेरिरहेका छौं । बहसलाई सुनिरहेका छौं । उहाँहरूको बहसले अहिले नै गठबन्धनलाई तात्विक असर र प्रभाव पार्लाजस्तो लागेको छैन । तर महासमितिले गर्ने निर्णय चाहिँ महत्त्वपूर्ण हो । अन्तिम निर्णय के हुन्छ, हेरौं । 

कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन सरकारको कामप्रति प्रश्न उठाउनुभएको छ नि ?

चुनाव आउन धेरै समय बाँकी छ । संस्थापनइतर पक्षले पार्टीभित्र आफ्नो धार सृष्टि गर्न खोजेको देखिन्छ । यसले तत्काल गठबन्धनमा प्रभाव पर्दैन । अर्कोतर्फ कांग्रेस सभापति देउवाजी र प्रधानमन्त्रीबीच पनि कुराकानी भइरहेको छ । आगामी निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयको निर्णय त्यतिबेलै गर्ने कुरा हो । त्यतिबेला यो कार्यनीति फेरिन पनि सक्छ । परिस्थितिअनुसार २४ घण्टामै त कार्यनीति बदलिन सक्छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भइरहेको छ, गठबन्धनको विकल्प खोज्न लागिएको हो ?

यो भेटघाट शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउनका लागि हो । पीडितले शान्ति प्रक्रिया निष्कर्षमा पुगोस् भन्ने चाहेका छन् । प्रमुख प्रतिपक्षले यसलाई राजनीतिक दाउपेचको विषय बनाइरहेको छ । म सभामुख हुँदै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न लागेको थियो, अड्कियो । राजनीतिक स्वार्थका कारण यो अड्किइरहेको छ । त्यसकै लागि प्रमुख प्रतिपक्ष दलको नेता ओलीजीसँग निरन्तर छलफल गरिरहनुभएको छ । प्रधानमन्त्रीले कान्तिपुरमै लेख लेखेर भन्नुभएको छ, लोकतान्त्रिक शक्तिसँग सहकार्य, समग्र वामपन्थी एकीकरण, कम्युनिस्ट पार्टी पुनर्गठन आवश्यक छ भनेर । यो रणनीतिक विषय हो ।

०८४ को आमचुनावमा कांग्रेस एक्लै चुनाव लड्ने प्रस्तावमा माओवादीको किन टाउको दुखाइ ?

कुनै टाउको दुखाइ छैन । हामीले विधान अधिवेशन, केन्द्रीय समितिबाट स्पष्टसँग एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारीको निर्णय गरेका छौं । हल्लाखल्लाभन्दा पनि संगठन विस्तारमा जोड लगाएका छौं । त्यहीअनुसार देशभर राजनीतिक अभियानचलाउँदै छौं ।

कांग्रेस महासमिति बैठक

गंगा

Link copied successfully