कांग्रेस महासमिति बैठक : 'लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानको प्रलाप बढ्यो'

मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ ।

फाल्गुन ८, २०८०

कान्तिपुर संवाददाता

Congress General Committee meeting: 'Delirium of populism, authoritarianism and revival increased'

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा लोकरिझ्याई , अधिनायकवाद  तथा पुनरुत्थानको प्रलाप बढेर गएको  टिप्पणी गरेका छन् । कांग्रेसको महासमिति बैठकमा मंगलबार कांग्रेस नीति प्रस्ताव गर्दै उनले निराशाको व्यापार गर्न खोजिएको आरोप लगाए  ।

'आम तहमा रहेका कतिपय निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हावी हुन खोजेको छ । समस्या तथा अप्ठ्याराहरूलाई पन्छाएर मुलुकलाई सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नु पर्नेमा त्यसको ठीक विपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ । मूलतः लोकरिझ्याइँ, अधिनायकवाद तथा पुनरुत्थानको प्रलाप बढेर गएको छ' उनले पेस गरेको दस्तावेजमा छ ।

खड्काको दस्तावेजमा लोकरिझ्याइँ, अधिनायकवाद र पुनरुत्थानबारेको विश्लेषण यस्तो छ :

लोकरिझ्याइँ : दायित्व र जिम्मेवारीबाट पन्छिनु र आफ्नो प्रस्ट दृष्टिकोणविना लोकप्रियताका लागि जे पनि बोल्नु नै लोकरिझ्याइँ हो । त्यही लोकरिझ्याइँ गर्नेहरूको हालको शासन व्यवस्था तथा प्रणालीप्रति कुनै पनि अपनत्व छैन । न त गौरवपूर्ण इतिहास छ, न त विश्वस्त भविष्य । न त लोकतन्त्र प्रतिको प्रतिबद्धता छ, न त भावी यात्राको प्रष्ट मार्ग चित्र नै । यिनीहरू सस्तो लोकप्रियताको नाममा समाजमा वितृष्णा र निराशाको राजनीतिक खेती गर्न प्रयत्नशील छन् । 

अधिनायकवाद : निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिएता पनि सारमा लोकतन्त्र बिरोधी नै हुन् । उनीहरूको पनि प्राप्त उपलब्धिमा कुनै अपनत्व छैन, न त राष्ट्रको वृहत्तर हितको दायित्व बोध छ, न जिम्मेवारी । भर्खरै स्थिरताको लय समात्दै गरेको लोकतान्त्रिक शासन व्यवस्थाको विरुद्धमा घृणाको राजनीति र त्यही घृणाको आवरणमा केही तत्वहरू फेरि अधिनायकवाद लाद्ने असफल दुष्प्रयास गरिरहेका छन् ।

पुनरुत्थानको कुचेष्टा : राजनीतिक दल र सरकारको काम गर्ने तौरतरिका तथा शैलीप्रति आम नागरिकको गुनासो, असन्तुष्टि तथा चित्त दुखाइ छ । यस्ता समस्यालाई व्यवस्थासँग जोडेर परिवर्तन विरुद्ध आवाज उठाउनेहरू पनि देखिएका छन् । राजनीतिक पुनरुत्थानको यो कुचेष्टा गैरजिम्मेवार र असान्दर्भिक सोच हो । इतिहासको अपव्याख्याले केवल भ्रम दिन्छ, सत्य दिँदैन । पुनरुत्थानको प्रयास जस्तो देखिने सडककर्म खासमा प्रयास होइन, यो केवल अर्थहीन कुचेष्टा मात्रै हो । 

.......................................................

उपसभापति खड्काले यस किसिमका समस्या तथा चुनौतीहरूको बुद्धिमत्तापूर्ण दीर्घकालीन समाधान गर्न सक्दा मात्र लोकतन्त्र संस्थागत हुने बताएका छन् । 'यस सवालमा नेपाली कांग्रेस सचेत र जानकार छ । त्यति मात्र होइन, यस किसिमको विषम परिस्थितिलाई सम्हाल्दै अगाडि बढेको सुनौलो विगत छ । वर्तमानमा पनि त्यो अठोट र क्षमता नेपाली कांग्रेससँग मात्रै छ' खड्काले भनेका छन् । 

नेपाली कांग्रेसलाई तात्कालीन नेकपाको सरकारले विसं २०७४ पछिको समय खेर फालेझैं अहिलेको समय खेर फाल्ने छुट नरहेको खड्काले उल्लेख गरेका छन् ।

'पछिल्लो निर्वाचनपछिको यो समय खेर नजाओस् भन्नेमा कांग्रेस दृढ छ । वि.सं. २०६२/०६३ को जनआन्दोलनको आहृवान गर्दा नै नेपाली कांग्रेसले आम नागरिकसँग भनेको थियो –'लोकतन्त्रको लागि यो अन्तिम आन्दोलन हो । अब अर्को पुस्ताले लोकतन्त्रकै लागि आन्दोलन गरिरहनुपर्ने छैन ।' हाल प्राप्त उपलब्धि र यसको अभ्यासलाई थप सुदृढ बनाउFदै वर्तमान समयमा देखा परेका असहजता, अप्ठ्यारा, समस्या, गुनासा तथा आम नागरिकका असन्तुष्टिलाई सम्हाल्दै अगाडि बढ्नु नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो'  खड्काको दस्तावेजमा छ । 

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully