काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा बनेको संविधानको सुरक्षा र कार्यान्वयन अबको कार्यदिशा हुने बताएका छन् । महासमिति बैठकको सोमबार उद्घाटन गर्दै सभापति देउवाले संविधानको सार्थक कार्यान्वयनमा लाग्नुपर्ने बताएका हुन् ।
२०७२ सालमा कांग्रेसको नेतृत्वमा संविधान बनेको बताउँदै सभापति देउवाले त्यसको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।
'वर्तमान संविधान कांग्रेसको नेतृत्वमा बनेको हो । संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था कांग्रेको मान्यतामा बनेको हो,' उनले भने, 'संविधानको सार्थक कार्यान्वयन आजका मुख्य एजेन्डा हुन् । कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ छ । यो हाम्रो दायित्व पनि हो ।'
संविधानको उचित कार्यान्वयनले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्नेमा कांग्रेस स्पष्ट रहेको सभापति देउवाको भनाइ थियो । संविधान गतिशील दस्तावेज भएको भन्दै त्यसमा आवश्यक संशोधनको पक्षमा कांग्रेस रहेको पनि देउवाको भनाइ थियो ।
'संविधानको दीर्घ जीवनका लागि संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ । संविधान जनताको आशा, भरोसा र मर्यादा गर्ने विषय बन्नुपर्दछ । संविधान बनेको ८ वर्ष भइसकेको हो,' उनले भने, 'संविधानभित्र कार्यान्वयनका क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टतासमेत पहिचान गर्ने समय आएको छ । संविधानले व्यवस्था गरेको शासकीय स्वरुप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुनेगरी संविधान संशोधन गर्ने छटलफल प्रारम्भ गर्नुपर्दछ ।'
संविधानको रक्षा कांग्रेसको प्राथमिकतामा रहेको देउवाको भनाइ थियो ।
