भविष्यमा गठबन्धन गर्ने कि नगर्ने तत्कालीन परिस्थितिमा निर्भर हुनेछ : देउवा

फाल्गुन ७, २०८०

कान्तिपुर संवाददाता

Whether to form an alliance in the future will depend on the current situation: Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने स्पष्ट पारेका छन् । महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् । 

कांग्रेस महामन्त्री गगन थापाको प्रतिवेदनमा गठबन्धन गर्न नहुने निर्णय महासमिति बैठकबाट लिनुपर्ने उल्लेख रहेको भनिएका बेला सभापति देउवाले सुरुमै गठबन्धन गर्ने कि नगर्ने भन्ने अहिले निर्णय गर्न नहुने बताएका हुन् ।

सोमबार ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा देउवाले भने, 'भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कलीन परिस्थितिमा निर्भर भएको हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ ।'

वर्तमान सत्ता गठबन्धन २०७९ को निर्वाचन पहिले चुनावका लागि मात्रै नबनेको देउवाको भनाइ थियो । उनले २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि अन्य पार्टीहरू मिलेर गठबन्धन बनाएको बताए । 'अहिले हामी गठबन्धनको अभ्यासमा छौं । अहिलेको गठबन्धन सरकारका लागि मात्रै बनेको होइन । केही समय पहिले प्रतिनिधिसभालाई असामयिक विघटन गर्ने र मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधिहरू भए,' उनले भने, 'संविधानको रक्षाका लागि कांग्रेसकै पहल र प्रयत्नमा गठबन्धन बनेको हो । निर्वाचन पूर्वको गठबन्धन त्यसैको निरन्तरता हो ।'

कांग्रेस महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । 

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully