कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

फाल्गुन ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेजहरु केन्द्रीय कार्यसमितिबाट पारित भएका छन् । यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा चार वटा प्रतिवेदनहरु पेश हुँदैछन् ।

बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री  गगन थापाको  सांगठनिक तथा अर्को महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र पार्टीका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदनहरुमाथि छलफल भएको थियो ।

दुई दिनसम्म छलफलपछि संशोधनसहित चार वटै प्रतिवेदनहरु पारित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उनका अनुसार बैठकमा नेताहरुले राखेको धारणा र सुझावहरुलाई समेत मध्यनजर गर्दै संशोधनसहित प्रतिवेदनहरु पास भएका छन् । अब ती संशोधनसमेतलाई समेटेर तयार गरिएका दस्तावेज महासमिति हलमा पेश गरिनेछ । 

बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको छ ।

बैकठले कांग्रेस संघीय संसद्, संसदीय दलको कार्यसमितिको निर्वाचन गराउन सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा महासमिति बैठकमा छलफल गर्नुपर्ने दर्जनौँ एजेण्डाहरुका बारेमा गहन छलफल भएको थियो ।

नेताहरुले पदाधिकारीले छलफल नै नगरी प्रतिवेदनहरु तयार गरेको भन्दै असहमति र फरक मत समेत राखेका छन् । कतिपय नेताहरुले त अलग्गै प्रतिवेदन पेश गर्ने चेतावनी समेत दिए । 

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully