महासमिति बैठकले समयमै महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्छ : कोइराला

फाल्गुन ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका  केन्द्रीय सदस्य शेखर कोइरालाले आसन्न महासमिति बैठकले समयमै महाधिवेशन गर्ने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता कोइरालाले महासमिति बैठकका लागि तयार गरिएको सांगठनिक प्रतिवेदनमा आगामी महाधिवेशनको मिति उल्लेख गरिएको भन्दै महासमिति बैठकले त्यसको कार्यान्वयनको सुनिश्चतता गर्नुपर्ने बताए ।

बिहीबारदेखि बसेको बैठकमा महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार गरेको पार्टीको सांगठनिक प्रतिवेदनसहित तीन वटा प्रतिवेदनहरुमाथि छलफल चलिरहेको छ । थापाको प्रतिवेदनमा पार्टीको १५ औँ महाधिवेशन ०८२ सालको मंसिर मसान्तभित्र गर्नुपर्ने प्रस्ताव छ । 

नेता कोइरालाले महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिएका हुन् । पछिल्लो समय राजनीतिक दल र नेताहरुप्रति नागरिकमा भरोसा उडेको भन्दै उनले पार्टीको नेतृत्व पंक्तिले कतै हाम्रै असक्षमताका कारणले त निराशा बढिरहेको छैन ? भनेर महासमिति बैठकमा गम्भीर समीक्षा गर्ने बेला रहेको बताए । 

समयानुकुल हुने गरी पार्टीको विधान संशोधन गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ । 'बिधान लोकतान्त्रिक पार्टीको मेरुदण्ड हो । कांग्रेस पार्टीको बिधानमा धेरै त्रुटिहरु छन्, जसले गर्दा सांगठनिक गतिबिधिमा बाधा आइरहेको छ । यो महासमितिको बैठकले 'बिधान संशोधन मस्यौदा समिति' बनाएर बिधानलाई समयानुकुल परिमार्जन गर्न जरुरी छ,' नेता कोइरालाले भनेका छन्, 'आएका प्रस्तावहरुमा धेरै राम्रा कुराहरु समेटिएका छन् । तर यतिले मात्रै युवामा आशा जगाउन सकिँदैन । रोजगारी सिर्जना, सुशासन कायम गर्ने, उद्योगी, व्यवसायीका मागहरु संशोधन हुनेगरी थप स्पष्ट हुनुपर्छ ।'

नेता कोइरालाले शिक्षा स्वास्थ्य रोजगारी लगायत जनताको दैनिकीसँग जोडिएका विषयहरुमा पार्टीले अझै प्रष्टसँग कार्ययोजनासहितका नीतिहरु छलफलमा ल्याउनुपर्ने बताए । 'देशमा व्याप्त भ्रष्टाचार र आर्थिक अनुशासनहिनताले सुशासनलाई सुनिश्चित गर्न सकेको छैन । तसर्थ राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नुपर्दछ,' उनले भने, 'मन्त्रिपरिषद्ले गर्ने सबै निणर्य नीतिगत नभई विषयगत र प्राविधिक पनि हुन सक्छन् । अनुसन्धान गर्ने निकाय, अदालत र कानुनका बिचमा तालमेल नहुने हो र मन्त्रिपरिषद्का सबै निणर्यलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाइन्छ भने लोकतान्त्रिक संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्‍याउन सक्छ । यसमा कांग्रेसले बेलैमा विचार गर्नु पर्ने हुन्छ ।'

नेता कोइरालाले कानुनको नजरमा सबै बराबर हुन् भन्ने मान्यता स्थापित गर्नका लागि पनि कांग्रेसले नै जोडबल गर्नुपर्ने बताएका छन् ।  

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully