कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सहकारीमा हिनामिना : गण्डकीमा बचतकर्ताको सवा ५ अर्ब जोखिममा

सहकारी ठगीका आरोपित जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी, कानुन व्यवसायीदेखि पत्रकारसम्म फरार
दीपक परियार

पोखरा — सञ्चालकले बचतकर्ताको रकम अपचलन गर्दा गण्डकी प्रदेशमा सवा ५ अर्ब रुपैयाँ जोखिममा परेको छ । गण्डकीका ९ सहकारीमा बचतकर्ताको ५ अर्ब २६ करोड रुपैयाँ जोखिममा परेको हो । बचत फसेपछि पोखरा–४ नालामुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित अड्डा अदालत धाउन थालेका छन् ।

सहकारीमा हिनामिना : गण्डकीमा बचतकर्ताको सवा ५ अर्ब जोखिममा

उक्त सहकारीमा मात्र १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताले गत बिहीबार पोखरामा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै भेटेर ज्ञापनपत्र बुझाए । सहकारी अपचलनमा संलग्नलाई कानुनको दायरामा ल्याएर रकम फिर्ता गर्ने वातावरण बनाइदिन उनीहरूले गृहमन्त्रीसँग माग गरे । यसअघि मंगलबार पोखरा आएका कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पनि ज्ञापनपत्र बुझाएका थिए ।

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

गत साउनमा सूर्यदर्शनका एक हजार ३५ बचतकर्ताले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ बिगो दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनमा सहकारी संस्थाबाट ठगी भएको पीडितको संख्या १८ हजार ७ सय र रकम १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ उल्लेख छ । सहकारीको सञ्चालक समितिका पूर्व र वर्तमान पदाधिकारी, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् । उक्त सहकारी ठगीका मुख्य नाइके संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) हालसम्म फरार छन् । उनी ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत हुन् । महानगरको प्रतिवेदनमा राईसहित सञ्चालक समितिको योजनामा विभिन्न फर्ममा अवैध लगानी गरेको, नक्कली कम्पनी खडा गरी लगानी गरेको, कमसल धितो र बिनाधितो आफ्नै नाममा ऋण लगानी गरेको उल्लेख छ । उनी अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनदेखि नेचर हर्ब र नेचर नेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम अवैध रूपमा लगानी गरेको प्रतिवेदनमा खुलाइएको छ ।

उपत्यकाकै सहकारीमा झन् धेरै समस्या, बचतकर्ताको अर्बौं निक्षेप हिनामिना

बागलुङमा विभिन्न शाखा भएको र पोखरामा उही नाममा छुट्टै स्थापना भएको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयअन्तर्गत सहकारी रजिस्ट्रारको कार्यालयको प्रतिवेदनअनुसार बागलुङका विभिन्न स्थानीय तहमा रहेका शाखाबाट बचतकर्ताको १ अर्ब ९० करोड रुपैयाँ हिनामिना भएको छ । पोखरामा ५७ करोड ९४ लाख रुपैयाँ दाबी गर्दै १४ जनाले जाहेरी र ५ सय २४ ले कागज गरेका छन् । महानगरको विज्ञ टोलीले पेस गरेको प्रतिवेदनमा इमेजको पोखरा कार्यालयबाट ६४ करोड ८८ लाख हिनामिना भएको देखिएको छ । ठगीको आरोपमा १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि ६ जना मात्रै पक्राउ परेका छन् । प्रहरीले उक्त मुद्दा जिल्ला अदालत कास्कीमा पठाइसकेको छ ।

देशैभर शाखा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको पोखराका दुई शाखाबाट बचतकर्ताको रकम अपचलनमा संलग्नको आरोपमा पक्राउ पुर्जी जारी भएका ११ जनामध्ये ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ । शिव शिखरको पोखरा–५ पर्स्याङ र पोखरा–१४ चाउँथे शाखाका गरी ७ हजार १ सय ७० बचतकर्ताको ५४ करोड २३ लाख रुपैयाँ हिनामिना भएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा छ ।

पोखरा–९ नयाँबजारमा मुख्य कार्यालय रहेर विभिन्न स्थानीय तहमा शाखा कार्यालय भएको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका ३० जनाविरुद्ध मंसिर १६ मा पक्राउ पुर्जी जारी भएकोमा हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् । सहकारीले बचतकर्ताको २६ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको सहकारी रजिस्ट्रारको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पक्राउ परेका छन् । उपाध्यक्ष विजय लम्साल, प्रेस सल्लाहकार एवं लेखा समितिका पूर्वसदस्य अर्जुन गिरी, कानुनी सल्लाहकार जनकल्याण पराजुली, सेयर सदस्य दीपकप्रसाद सुवेदी लगायत २५ जना फरारको सूचीमा छन् । लम्साल प्रेस युनियन कास्कीका उपाध्यक्ष हुन् । गिरी प्रेस चौतारी कास्कीका अध्यक्ष एवं एमालेका पोखरा–२१ इन्चार्ज, पराजुली एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन कास्कीका अध्यक्ष र सुवेदी पोखरा–२१ मा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

पोखरामै कार्यालय रहेको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका ६ हजार ३ सय ४५ बचतकर्ताको १० करोड ६९ लाख ३५ हजार रुपैयाँ हिनामिना भएको छ । उक्त सहकारीको सञ्चालक समितिका अध्यक्ष अजय श्रेष्ठसहित ५ जना पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका थप १० जना फरार छन् । पोखरा महागरपालिकामा ३ सय ६४ सहकारी संस्था दर्ता छन् । तिनको सेयर पुँजी ७ अर्ब ४२ करोड ७१ लाख रुपैयाँ छ । यी सहकारी संस्थामा १ लाख ८८ हजार ८२७ बचतकर्ताले १६ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बचत गरेका छन् । पोखराभित्रका सहकारीले १९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन् । एक स्थानीय तहभित्र मात्रै कार्यक्षेत्र रहेका सहकारीको नियमन सम्बन्धित स्थानीय तहले गर्छन् । दुई वा दुईभन्दा बढी स्थानीय तह वा प्रदेशभर कार्यक्षेत्र रहेका सहकारीको नियमन गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयअन्तर्गत सहकारी रजिस्ट्रारको कार्यालयले गर्छ । उक्त कार्यालयमातहत हाल ९ सय ४३ सहकारी छन् । यी सबैको कुल सेयर पुँजी १२ अर्ब ४ करोड रुपैयाँ छ । यी सहकारी संस्थामा ५८ अर्ब ४९ करोड रुपैयाँ बचत छ भने ६४ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको कार्यालयको अभिलेखमा छ ।

कार्यालयकी प्रवक्ता ईश्वरी ढकालका अनुसार यीमध्ये बागलुङको इमेज सहकारी, पोखराको मित्रमिलन, पर्वतका ग्रामीण विकास कृषि सहकारी र तपाईं हाम्रो बचत तथा ऋण सहकारी, लमजुङको कालिका बचत तथा ऋण सहकारीमा समस्या आएको छ । कार्यालयको अध्ययनले ग्रामीण विकासको ९ करोड, तपाईं हाम्रो बचतको २९ करोड ५८ लाख र कालिका बचतको ५ करोड रुपैयाँ सञ्चालक समितिबाट हिनामिना भएको छ । यी ५ वटा सहकारीले २ अर्ब ३६ करोड रुपैयाँ अपचलन गरेको देखिएको छ ।

सहकारी रजिस्ट्रार भेषराज रिजालले सहकारीमा समस्या देखिएपछि बचतकर्ताको निवेदनका आधारमा छानबिन गरी सम्बन्धित निकायलाई कार्यालयले प्रतिवेदन पठाउने गरेको बताए । ‘स्थानीय मिलेर खोलेका सहकारीमा समस्या आएको छैन,’ उनले भने, ‘बाहिर जिल्लाबाट ठग्ने नै उद्देश्यले आएका व्यक्तिले खोलेका सहकारी धेरै डुबेका छन् । बचतकर्ताले पनि धेरै ब्याज पाउने लोभमा नबुझी रकम जम्मा गर्नु हुँदैन ।’ प्रदेशभर ८५ स्थानीय तहमा कति संख्यामा सहकारी छन् र कति समस्यामा परेका छन् भन्ने तथ्यांक मन्त्रालयसँग छैन । मन्त्रालयका प्रशासन तथा सहकारी विकास महाशाखाका अधिकृत ठाकुरप्रसाद ढकालले जनशक्ति अभाव हुँदा त्यस्तो तथ्यांक राख्न नसकेको बताए ।

मित्रमिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्न तत्कालीन सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीले घूस लिएको आरोपमा पक्राउ परेका छन् । उनले सहकारीको कार्यक्षेत्र थप गर्न एक करोड ५ लाख रुपैयाँ घूस लिएको सहकारीका अध्यक्षको बयानमा छ । उनी हाल पुर्पक्षका लागि कास्की कारागारमा छन् । उनी ०७७ माघ ४ देखि ०७९ भदौ १९ सम्म रजिस्ट्रारका रूपमा कार्यरत थिए । सरुवा भइसक्दा पनि तत्कालीन समयमा रमाना नलिई उनले मित्रमिलनको कार्यक्षेत्र गण्डकीभर विस्तार गर्ने अनुमति दिएका थिए । सहकारीले तत्कालै स्याङ्जाको आँधीखोलामा गाउँपालिकामा शाखा विस्तार गरेको थियो । सञ्चालक समितिका पदाधिकारीले पराजुलीले रकम लिएर शाखा विस्तारको अनुमति दिएको विवरण अनुसन्धानका क्रममा प्रहरीलाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा सहकारीमा समस्या आएपछि स्थानीय तह र सहकारी रजिस्ट्रारको कार्यालयमा छानबिन प्रतिवेदन बन्ने क्रममै कसुरदार फरार हुने अवस्था रहेको बताउँछन् । ‘प्रहरीलाई सुरुमै अनुसन्धान गर्ने अधिकार छैन । नियामक निकायले कारबाही गर भनेर प्रतिवेदन बुझाएपछि मात्रै हामो क्षेत्राधिकारभित्र आउँछ,’ उनले भने, ‘स्थानीय तह र सहकारी रजिस्ट्रारको कार्यालयले बयान लिएर प्रारम्भिक अनुसन्धान गर्दासम्म ठगी गर्ने व्यक्ति विदेश पसिसक्छ ।’

सहकारी ऐन–२०७४ ले छानबिनको पहिलो अधिकारी स्थानीय तहलाई दिएकोले प्रहरीसम्म प्रतिवेदन आइपुग्दा ठगीका आरोपीले सहकारीमा बाँकी भएको रकमसमेत लिएर भाग्ने, प्रमाण नष्ट गर्ने प्रवृत्ति देखिएको उनले सुनाए । अदालतमा बुझाउने हदम्याद २५ दिनको मात्रै हुँदा अनुसन्धानमा समेत अप्ठेरो स्थिति सिर्जना भएको उनको अनुभव छ । ‘सहकारीमा कतिपय समाजका प्रतिष्ठित व्यक्ति, जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी जोडिन्छन्,’ उनी भन्छन्, ‘मिलिमतोमै सहकारी ठगी भएको देखिन्छ ।’ फरार आरोपितलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा काठमाडौंमा पत्राचार गरिसकेको र इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

प्रकाशित : माघ १४, २०८० ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?