घले समूह १० वर्षदेखि सुन तस्करीमा

गत वर्षको पुसयता १३८ किलो सुन तस्करी, विमानस्थलबाट बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको संलग्नता

पुस १०, २०८०

सुदीप कैनी

काठमाडौँ — दुबईबाट अवैध रूपमा १४ किलो सुन ल्याउने मीन घले र उनको समूह १० वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो हुँदै सुन तस्करीमा संलग्न रहेको खुलेको छ । गत मंसिर २१ मा मध्यराति फ्लाई दुबईको उडानबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेपछि भन्सार विभागले गरेको छानबिन र आरोपितहरूको बयानका आधारमा मीन घले समूहले सन् २०१४ देखि नै सुन ल्याउने गरेको प्रमाण भेटिएको हो । 

सुन ल्याउन गोरखाका चन्द्रलाई सबै बन्दोबस्त मिलाएर दुबई पठाउने मुख्य नाइके गोरखाकै मीन घले रहेको छानबिनमा देखिएको छ । सन् २०१४ देखि नै उनको विदेश आउजाउ अस्वाभाविक र शंकास्पद देखिएको छानबिन समितिका संयोजक तथा भन्सार विभागका निर्देशक मनिराम पौडेलले बताए । मीन त्यसयता ३६ पटक विदेश आवतजावत गरेको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । उनले कहिले आफैं त कहिले भरियालाई सुन ओसारपसारमा खटाउने गरेको पाइएको हो । चन्द्र प्रक्राउ पर्नुअघि मंसिर ३ मा मीन आफैंले १४ किलो सुन तस्करी गरेर ल्याएको पनि पुष्टि भएको छानबिन समितिले जनाएको छ ।

छानबिनकै क्रममा भेटिएका अर्का सुन बोक्ने भरिया स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पनि २०१५ देखि नै शंकास्पद रूपमा विदेश आवतजावत गरेको भेटिएको छ । उनी अहिलेसम्म ६६ पटक विदेश जानेआउने गरेका छन् । सन् २०१७ देखि चन्द्र ६० पटक विदेश आउजाउ गरेको छानबिनका क्रममा भेटिएको छ । ‘उनीहरू २/४ दिन मात्रै विदेश बसेर नेपाल फर्किहालेको ट्राभल हिस्ट्री देखिन्छ,’ पौडेलले भने, ‘कृष्णकुमारले २०१५ देखि नै सुन बोक्ने गरेको बयान पनि दिएका छन् । उनीहरूको विगत पनि अस्वाभाविक र शंकास्पद देखिएकाले छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई लेखिपठाउने निर्णय गरेका छौं ।’

पक्राउ परेकासँग १४/१५ जनाको पासपोर्टसमेत भेटिएकाले अन्य कानुनविपरीतका कार्यमा समेत संलग्न रहेको हुन सक्ने अनुमानको आधारमा सीआईबीलाई थप अनुसन्धान गर्न आग्रह गरिएको हो ।उनीहरूको गिरोहले १० वर्षदेखि सुन तस्करी गरिरहेको निष्कर्षसहित छानबिन समितिले दुबई, सिंगापुर, हङकङ, थाइल्यान्डलगायत सुन सहजै ल्याउन सकिने देशहरूमा पटक–पटक आवागमन गरिरहेका यात्रुमाथि निगरानी बढाउनुपर्ने र उक्त सूचना प्रहरी, भन्सार र अध्यागमनलाई दिने व्यवस्था मिलाउनुपर्ने सुझावसमेत दिएको छ । छानबिनका क्रममा गत वर्षको पुसयता (एक वर्षभित्र) मात्रै १ सय ३८ केजी सुन उक्त गिरोहले नेपाल भित्र्याएको पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।

सुन तस्करीका अर्का नाइके दनबहादुर गुरुङ ।

प्रतिवेदन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेयलाई आइतबार बुझाइएको हो । उनका अनुसार १४ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

दुबईबाट सुन पठाउने दुई भारतीय नागरिक अंकित अग्रवाल र गुरु भनिने व्यक्तिका बारेमा भने समितिले थप केही पहिल्याउन सकेको छैन । तस्करीमा संलग्नविरुद्ध भन्सार ऐनअनुसार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिने पाण्डेयले बताए । चन्द्र र कृष्णकुमारलाई नेपालबाट सुन ल्याउन मीन र लमजुङका डीबी भनिने दनबहादुर गुरुङले दुबई पठाउने गरेको खुलेको छ । दनबहादुर सुन तस्करीको अर्का नाइके रहेको पनि छानबिन समितिले ठहर गरेको छ । यसअघि दुई भरियाले ल्याएको १४ किलो सुन टोखास्थित बानियाँटारमा उनकै श्रीमतीले बुझेको खुलेको छ ।

विमानस्थलको शौचालय हुँदै तस्करी

तस्करहरूले विमानस्थलभित्रको शौचालयमा ल्याएर छाडेको सुन बाहिर निकाल्न भने नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी संलग्न रहेको प्रतिवेदनले औंल्याएको छ । ‘घले समूहले सुन ल्याउन सुरु गर्नुअघि नै क्यानका कर्मचारी शेरबहादुर तामाङले विमानस्थलको अपांगमैत्री शौचालयमा रहेको दराजको ढोकाको ताला निकाल्छन् । सो ताला ‘बानेश्वर कि हाउस’ मा लगेर दुई प्रति नक्कली खोल्ने साँचो बनाउँछन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ती दुई प्रति साँचो क्यानकै कर्मचारी शेरबहादुर बस्नेत र रमेश देउलालाई एउटा/एउटा दिन्छन् । दुवै साँचो पुनः देउलाले लिएर एउटा दनबहादुरलाई र अर्को क्यानकै कर्मचारी लेकबहादुर तामाङलाई दिन्छन् ।’ 

नक्कली साँचो कहिले बनाएको भन्नेचाहिँ छानबिनमा खुल्न सकेको छैन । ‘दनबहादुरले उक्त साँचो मीनकहाँ पुर्‍याउँछन् । मीनले उक्त साँचोसहित दुबईको टिकट र भिसा दिएर चन्द्रलाई दुबई पठाउँछन् । साथै उनले ५ दिरामको नोट पनि चन्द्रलाई दिन्छन् । उक्त नोटको फोटो चन्द्रले दुबईमा रहेका अंकित अग्रवाल र गुरुलाई ह्वाट्स्याप गरी पठाउँछन् र दुबई उड्छन् । दुबईमा उनीहरूलाई भेटेर फोटोमा पठाएको ५ दिराम नोट देखाउँछन् । सो नोटलाई फोटोसँग भेरिफाई गरी चन्द्रलाई उनीहरूले सुन राखिएको ज्याकेट दिन्छन्,’ प्रतिवेदनमा सुन तस्करीको घटनाक्रम उल्लेख गर्दै भनिएको छ, ‘चन्द्र घले दुबईको विमानस्थल पार गरी नेपालमा अवतरण गर्छन् ।’

विमास्थलबाट आगमन कक्षसम्म आइपुग्नासाथ उनी भीआईपी कक्षको शौचालयमा जाने र आफूसँग भएको साँचोले दराजको ताला खोली ज्याकेटसहितको सुन राख्ने प्रतिवेदनमा उल्लेख छ । त्यसपछि उनी आगमन कक्षमा भन्सार र प्रहरीको जाँचपास गएर बाहिर निस्कने गरेका थिए । विमानस्थल बाहिर सुन निकाल्ने सम्पूर्ण बन्दोबस्त भने क्यानका कर्मचारीले मिलाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

क्यानका कर्मचारी शेरबहादुर बस्नेत र भीआईपी रुमतर्फ ड्युटीमा रहेका क्यानकै कर्मचारी लेकबहादुर तामाङले सुन निकाल्न सहयोग गर्दै आएका थिए । उनीहरू मेटल डिक्टेटरलाई बाइपास गरेर भीआईपी कक्षको दोस्रो तलामा पुग्ने र त्यहाँ सुनसहितको ज्याकेट राधाकृष्णलाई दिने गरेको छानबिनमा संलग्न एक अधिकारीले बताए । ‘राधाकृष्ण उक्त ज्याकेट लगाएर आपत्कालीन द्वारबाट तेस्रो तलामा रहेको एसी मर्मत रुममा पुग्छन् । उक्त आपत्कालीन द्वारको साँचो राधाकृष्णसँग मात्रै हुन्छ । तेस्रो तलाको छत हुँदै इलेक्ट्रिकल कक्षमा प्रवेश गर्छन् । फेरि आपत्कालीन सीडी प्रयोग गरेर पुनः दोस्रो तलामा झर्छन्,’ ती अधिकारीले भने, ‘फोन गरेर बाहिर रहेका क्यानका अर्का कर्मचारी अनिल श्रेष्ठलाई डाक्छन् । त्यहाँ रहेको आपत्कालीन द्वारको साँचो बाहिरबाटै अनिलले खोलिदिन्छन् । पहिलो तलामा कर्मचारी शाखा छ । उनी प्रस्थानको बायाँतर्फको ढोकाबाट बाहिर निस्कन सफल हुन्छन् ।’ 

मंसिर २१ मा भने चन्द्र शौचालयमा छिर्न नपाउँदै सुराकीका आधारमा भन्सारका कर्मचारीले पिछा गर्न थालेपछि समातिएका थिए । सुन तस्करीका आरोपमा पक्राउ परेका व्यक्तिसँगको बयान र सोधपुक्षका आधारमा विमानस्थलभित्रको सुन बाहिर निकाल्ने रुट फेला परेको संयोजक पौडेलले जनाए । २०२३ मात्र भरिया कृष्णकुमारले १४ किलोका दरले ७ पटक, मंसिर ३ मा मीनले १४ किलो र चन्द्रले ४, ८ र १४ किलोसहित १ सय ३८ किलो सुन विमानस्थलको सोही रुट हुँदै बाहिर निकालेको स्विकारेको भन्सारले जनाएको छ ।

समन्वय कक्षको व्यवस्था गर्न सुझाव

भन्सार निर्देशक पौडेल संयोजकत्वको छानबिन समितिले यात्रुहरूको ट्राभल हिस्ट्री (विदेश आउजाउ गतिविधि) हेरेर निगरानी बढाउनुपर्ने सिफारिस गरेको छ । शंकास्पद मुलुकमा अस्वाभाविक रूपमा आउजाउ गर्ने व्यक्तिको विवरण अध्यागमन, भन्सार र प्रहरीलाई उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ । ‘अस्वाभाविक र शंकास्पद रूपमा पटक–पटक विदेश जाने र २/४ दिनमै फर्कनेहरूले सुन बोकेर ल्याउने गरेको भेटियो,’ पौडेलले भने, ‘सुन तस्करी रोक्न यस्ता यात्रुमाथि निगरानी बढाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छौं ।’ त्यसका लागि विमानस्थल कार्यालयले यात्रुको सूची अनिवार्य रूपमा भन्सार र प्रहरीलाई पठाउनुपर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ ।

विमानस्थलमा प्रहरी, भन्सार, अध्यागमन र विमानस्थल व्यवस्थापन कार्यालयका कर्मचारीसहितको समन्वय कक्षको व्यवस्था गर्नुपर्ने छानबिन समितिको सुझाव छ । कक्ष व्यवस्था भए सूचना समन्वय गर्नसमेत सहज हुने औंल्याइएको छ । भन्सार अधिकारीहरूसहित विमानस्थल प्रहरीसमेत सम्मिलित ६ सदस्यीय छानबिन समितिले सुन तस्करी जस्तो संगठित समूहको अनुसन्धान गर्न २५ दिनको म्याद अपुग रहेको समेत जनाएको छ । प्रक्राउ परेका व्यक्तिविरुद्ध २५ दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था छ । समितिले भने ९० दिनको म्याद राख्नुपर्ने निष्कर्ष निकालेको हो । 

शौचालयभित्रको दराज जस्ता तस्करी गरेर ल्याएका सामान लुकाउने छिद्रहरू रहेका स्थलहरू हटाउनुपर्ने सुझाव दिइएको छ । आपत्कालीन द्वार, ढोकाहरूमा समेत सीटीईभीटीको व्यवस्था गर्न सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । विमानस्थलभित्र सरसफाइ, खाजा, इन्जिनियरिङ, इलेक्ट्रिकलगायत सेवा प्रदायकका कर्मचारी आउजाउ गर्दा प्रयोग हुने ‘चोरबाटो र छिद्र’ हरू पहिचान गरी जाँचको भरपर्दो व्यवस्था तत्काल मिलाउनुपर्ने सुझाव दिइएको छ ।

सम्बन्धित समाचार

सुन तस्करी प्रकरण

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully