कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सलबलाउँदै गैंडा सिकारी, निकुञ्जभित्रै निर्धक्क सिकार

गैंडाको शून्य चोरी सिकार वर्ष मनाएपछिका दिनमा पनि गैंडा सिकारको क्रम बढ्दो
रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालाई सिकारीले निसाना बनाउने सिलसिला फेरि सुरु भएको छ । कात्तिक ३० को मध्याह्न निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा पोस्टबाट साढे तीन किलोमिटर दक्षिण पूर्वमा फरक–फरक खाल्डोमा पारेर मारिएका खागविहीन दुईवटा गैंडा भेटिएपछि निकुञ्जको सुरक्षा प्रबन्धमाथि नै प्रश्न उठेको छ ।

सलबलाउँदै गैंडा सिकारी, निकुञ्जभित्रै निर्धक्क सिकार

निकुञ्जका अनुसार एउटा गैंडा १० दिन पहिले र अर्को तीन दिन पहिले खाल्डोमा परेको अनुमान छ ।

गत भदौ १४ मा पनि निकुञ्जको यही क्षेत्रमा गैंडाको अस्थिपञ्जर फेला परेको थियो । निकुञ्ज कार्यालयका अनुसार त्यतिबेला अरू हाडखोर भेटिए पनि खाग फेला परेको थिएन । तस्करहरूले गैंडाको नाकमाथि हुने सिङजस्तो वस्तु खागका लागि नै गैंडा मार्ने गर्छन् । खाग नभेटिएपछि तस्करहरूले नै गैंडा मारेको निकुञ्जको आकलन छ । त्यो हाडखोर भेटिएको अढाई महिना पुग्दै गर्दा खाल्डोमा पारेर दुईवटा गैंडा मारिएका हुन् ।

निकुञ्जले दिएको जानकारीअनुसार चोरी सिकारीका कारण साउनयता कात्तिक मसान्तसम्म तीन गैंडा मरिसकेका छन् । तर, गैंडा कसले मार्‍यो र खाग कहाँ छ ? निकुञ्ज प्रशासनले पत्ता लगाउन सकेको छैन । गत वर्ष माघ ६ गते चितवन निकुञ्जको आडैमा रहेको मध्यबिन्दु नगरपालिका–२ सीतापुर, क्रान्तिघाट नारायणी नदीको भँगालोमा गैंडाका माउ–बच्चा मृत फेला परेका थिए । त्यो घटनामा पनि माउको खाग काटिएको थियो, बच्चाको खाग नै पलाएको थिएन । यो घटनामा संलग्न भएकाहरूलाई समाउन चार महिना लाग्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनामा संलग्न भएको भन्दै तीन जनालाई समाए पनि खाग अहिलेसम्म भेटिएको छैन ।

यी घटनाक्रमले गैंडा तस्करहरूको सक्रियता र चलाखी बढेको मात्रै देखाउँदैन, तस्करहरूले सिकारमा नयाँ तरिका पनि अपनाइरहेको देखिन्छ । जस्तो कि, नारायणी नदीको भँगालोमा मारिएका गैंडालाई करेन्ट लगाएर मारेको पुष्टि भयो । खाल्डो खनेर गैंडालाई मार्ने वर्षौं पुरानो विधि पछिल्लो घटनामा प्रयोग गरेको देखियो ।

‘गत वर्ष र अहिलेको पछिल्लो घटनाले के देखाउँछ भने तस्करहरू मौका कुरेर बसिरहने र जुनसुकै विधि अपनाएर पनि गैंडा मारेर खाग उम्काउने ताकमा हुन्छन्,’ चितवन निकुञ्जमा गैंडा चोरी सिकारविरुद्ध लामो समय काम गरेका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने, ‘यो भनेको संरक्षणकर्मीका लागि चुनौती हो ।’ त्यसैले निकुञ्ज प्रशासन हरसमय चनाखो रहनुपर्ने उनको सुझाव छ । नियमित गस्ती र बलियो सुराकी संयन्त्र बनाएर स्थानीयलाई पनि सजग बनाउँदै काम गरे संरक्षण प्रभावकारी हुने उनले बताए ।

चोरी सिकारको उत्कर्षदेखि शून्य सिकारसम्म

पूर्वप्रमुख संरक्षण अधिकृत कुँवरका अनुसार कपालमा जे रासायनिक तत्त्व हुन्छ, गैंडाको खागमा त्यसबाहेक अरू केही हुँदैन । तर यसमा यौनवर्द्धक औषधीय गुण हुन्छ भन्ने चिनियाँहरूको अन्धविश्वासका कारण खागको अवैध कारोबार हुने गरेको उनले बताए ।

गैंडा विश्वबाट लोप हुने अवस्था रहेको दुर्लभ वन्यजन्तु हो । नेपालको कानुनले गैंडा मारेमा वा यसको अंगको किनबेच, ओसारपसार गरे १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको छ । तर, अवैध व्यापारबाट हुने आर्जनको लोभमा गैंडा मार्नेहरू सक्रिय छन् ।

बासस्थानको समस्याले मात्रै होइन, अवैध चोरी सिकारीबाट पनि संरक्षण गर्ने उद्देश्यले गैंडा जोगाउनका लागि २०३० सालमा नेपालको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । त्यसको दुई वर्षपछि नै निकुञ्जको सुरक्षाका लागि नेपाली सेना पनि खटेको ‘गैंडालाई चार वर्ष’ नामक चर्चित पुस्तकसमेत लेखेका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए । सुरुमा दुई सय सैनिक तैनाथ भएको चितवन निकुञ्जमा २०४१ सालसम्म चोरी सिकार ठप्पजस्तै भएको दाबी कुँवरले आफ्नो पुस्तकमा गरेका छन् ।

माओवादी सशस्त्र संघर्ष उत्कर्षमा पुग्दै गर्दा चितवन निकुञ्जभित्र पनि गैंडाको चोरी सिकार अत्यधिक मात्रामा हुने गरेको थियो ।

निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०५५/५६ मा चोरी सिकारीले तीनवटा गैंडा मारेका थिए । तर, अर्को वर्ष १६ वटा र त्यसपछि पाँचवटा हुँदै आर्थिक वर्ष २०५८/५९ मा अहिलेसम्मकै सर्वाधिक ३७ वटा गैंडा मरेको निकुञ्जको तथ्यांक छ ।

माओवादीविरुद्ध पहिलो पटक संकटकाल घोषणा गरेलगत्तै निकुञ्जभित्र चोरी सिकार उत्कर्षमा पुगेको थियो । त्यतिबेला निकुञ्जभित्रका सेनाका ३८ वटा सुरक्षा पोस्टलाई घटाएर आठवटामा सीमित गराइएको थियो । त्यसैको फाइदा सिकारीहरूले उठाएका थिए । ६० सालपछि चोरी सिकारबाट मारिने गैंडाको संख्या घटे पनि २०६२/६३ को आन्दोलनसम्म पनि चोरी सिकार नियन्त्रणमा आउन सकेन ।

निरन्तरको गैंडा सिकारीका घटना रोक्न २०६३ भदौमा तत्कालीन मध्यवर्तीले नागरिक भेला नै राखेको थियो । ‘हामीले तीन दिनसम्म सेना, निकुञ्ज प्रशासन र नागरिक अगुवाहरूको संयुक्त मन्थन आयोजना गर्‍यौं,’ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कृष्णप्रसाद भुर्तेलले भने, ‘त्यसबाट गैंडा संरक्षणसम्बन्धी २० बुँदे कार्ययोजना तयार भयो । मध्यवर्तीका समुदाय, सेना र प्रशासनको भूमिका प्रस्ट्याउने काम गर्‍यौं ।’ निकुञ्ज र सेनाको जिम्मेवारीभित्र मात्रै रहेको वन्यजन्तु संरक्षणको विषयमा त्यतिबेला पहिलो पटक नागरिक समाज पनि संलग्न भएको उनले बताए । सोही कार्ययोजनाका आधारमा निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा समेत सुरक्षा पोस्टहरू थपिँदै गए । ५० भन्दा बढी सुरक्षा पोस्ट र समुदायको संरक्षणप्रति चासो र निगरानीले चोरी सिकार नियन्त्रणमा आउँदै गयो ।

२०६७ सालको पुस १९ देखि ३ सय ६५ दिनसम्म चोरी सिकारीले कुनै पनि गैंडा नमारेको भन्दै २०६८ सालको पुस २० मा पहिलो पटक गैंडाको शून्य चोरी सिकार वर्ष मनाइयो । भव्य रूपमा कार्यक्रम गरेको तीन महिनापछि २०६७ सालको चैत २० मा तस्करहरूले गैंडा मारे । त्यसपछि पनि गैंडा नमरेको होइन तर फाट्टफुट्ट मात्र घटना हुन थाले । आर्थिक वर्ष २०७२/७३ मा पहिलो पटक शून्य चोरी सिकार हुने सिंगो आर्थिक वर्ष भयो । अर्को आर्थिक वर्षमा सिकारीले एउटा गैंडा मारे । तर, आर्थिक वर्ष २०७४/७५ देखि लगातार चार आर्थिक वर्ष २०७६/७७ सम्म शून्य चोरी सिकार आर्थिक वर्ष रह्यो । कोरोना संकटसँगै आर्थिक वर्षर् २०७७/७८ देखि हालसम्म हरेक वर्ष चोरी सिकारीले गैंडा मारेका छन् ।

सजग समुदाय, बलियो सुराकी संयन्त्र

बिहीबार मध्याह्न खाल्डोमा परेका गैंडा देखेर चिन्तित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनको प्रतिक्रिया थियो, ‘चाडबाडको मौका छोपेछन् ।’ चोरी सिकार र तस्करीमा संलग्नहरू ठूलो सुरक्षा कमजोरी मात्रै होइन स–सानो भूलचुकबाट पनि फाइदा उठाउँछन् । जहाँ घटना भयो, त्यहाँ निकुञ्जको पर्याप्त गस्ती भई नै रहेको प्रमुख संरक्षण अधिकृत पुनले दाबी गरे । तर, आँखाले झट्ट देख्न गाह्रो हुने ठाउँमा खाल्डो खनेर गैंडा मार्ने र खाग पनि लैजाने काम तस्करहरूले ढुक्कसँग गरेका छन् ।

पूर्वप्रमुख संरक्षण अधिकृत कुँवरले पछिल्लो घटनामा गैंडाको राम्रैसँग निगरानी गरेको र गस्तीका बारेमा पनि जानकार रहेको टिम खटेको हुन सक्ने आकलन गरे । ‘सिकारीले समूह बनाएर अलि दिन समय दिएर यो काम गरेका होलान्,’ उनले भने, ‘यस्ता गतिविधि गस्तीले मात्रै भेउ पाइँदैन, राम्रो सुराकी संयन्त्र भएर सूचना पनि आउँछ र कारबाही सजिलो हुन्छ ।’ उनले गैंडा सिकार र खाग बिक्री व्यवसायमा लाग्नेहरूको नेपालभित्र तीनदेखि पाँच तहसम्ममा संयन्त्र हुने बताए ।

कुँवरका अनुसार गैंडा मार्न खट्ने एउटा समूह हुन्छ । मार्नेले खाग निकालेर स्थानीय व्यापारीलाई दिन्छ । त्यसले काठमाडौंका ठूला खाग व्यापारीसम्म पुर्‍याउँछ र काठमाडौंको खाग व्यापारीले चीन निर्यात गर्ने व्यक्तिलाई बेच्ने गर्छ । खाग किनबेच र गैंडा मार्नेहरूको ‘संरक्षण गर्ने’ भनेर अर्को गिरोह पनि खट्ने गरेको र त्यस्ता व्यक्तिले अप्ठ्यारो गर्दा ‘पहुँचवाला व्यक्ति’सँग सम्पर्क गर्ने, कानुनी सहायतामा सहजीकरण गर्ने जस्ता भूमिका खेल्ने कुँवरले बताए ।

‘गैंडा सिकार र किनबेच एक्लै नभएर संयन्त्रले गर्ने गतिविधि हो,’ उनले भने, ‘त्यसैले कहाँको सुरक्षा अवस्था कस्तो छ, कति बेला गैंडा मार्न जाँदा उपयुक्त हुन्छ, मार्न सुरु गरेपछि लगातार घटना गरी रहने या रोकिने जस्ता निर्णय गरेर सिकारी परिचालन गर्ने परिपाटी रहेको पाएको छु ।’ सम्भावित चोरी सिकारी र स्थानीय व्यापारी तथा पहिचान भएका अन्य खाग व्यापारीको पनि नियमित निगरानी हुन आवश्यक रहेको उनले बताए ।

कोरोना कालको उत्कर्ष हुँदै गर्दा २०७७ सालको भदौमा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर आएका अणनाथ बरालले चोरी सिकार नियन्त्रण इकाई र सुराकी संयन्त्रको कमजोरीको फाइदा सिकारीहरूले उठाउने गरेको बताए । ‘म निकुञ्जमा प्रमुख संरक्षण अधिकृत भएर आउँदा चोरी सिकार नियन्त्रण इकाईलाई प्रभावकारी बनाएको पाइएन,’ उनले भने, ‘सुराकी संयन्त्र छिन्नभिन्नजस्तै थियो । आएको हप्ता दिन नहुँदै गोली हानेर गैंडा मार्न थाले ।’ उनले २०७७ भदौ १६ र कात्तिक २० मा तस्करले मारेका गैंडा भेटिएको र त्यसमा संलग्नलाई पुस १३ पछि समाउन सकेको पनि बताए । उनले चोरी सिकार नियन्त्रण इकाई र सुराकी संयन्त्र ‘भताभुङ्ग’ जस्तै भएका कारण यस्तो भएको बताए । उनले आफ्नो कार्यकालमा लगातार ४२ जना आरोपितहरू समातिएको र उनीहरूले दिएको वयानलाई आधार मान्दा पहिल्यैदेखि नै निकुञ्जभित्र गोली हानेर गैंडा मार्ने गरेको खुलासा भएको बताए । बरालले शून्य चोरी सिकार साँच्चै थियो कि थिएन भन्ने प्रश्न खडा भएको बताउँदै २०७२ सालपछि शंकास्पद मान्छे खासै नसमातिँदा घटना भए/नभएको नखुल्ने गरेको बताए ।

चितवन जिल्ला अदालतले गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा २०७५ मंसिर ११ मा दुई जनालाई सजाय सुनायो । त्यसबेला भारत बिहारको पश्चिम चम्पारण गोबरहिया दोनका ४० वर्षीय छठु महतोलाई सात वर्ष कैद भएको थियो । त्यसै गरी चितवन माडीका रामा महतोलाई ५ लाख रुपैयाँ जरिवाना भयो । २०७३ जेठमा गैंडा मारेको मुद्दामा उनीहरूलाई दुई वर्षपछि यो सजाय भएको थियो ।

तर, चितवन निकुञ्जले दिने गरेको आधिकारिक विवरणमा यो मितिमा गैंडा मरेको देखिँदैन । निकुञ्जको विवरणमा २०७१ वैशाख २० गते पछाडि एकै पटक २०७३ चैत २६ मा चोरी सिकारीले गोली हानेर गैंडा मारेको उल्लेख छ । २०७१ वैशाख २० यता चोरी सिकारीका कारण कुनै पनि गैंडा नमरेको भनेर २०७३ माघ १५ मा शून्य चोरी सिकारका हजार दिन मनाइएको थियो ।

चितवन निकुञ्जको सुरक्षाका लागि हाल नेपाली सेनाको खड्ग दल गण र सबुज दल गणको गुल्म तैनाथ छ । प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा गस्तीमा कुनै कसुर बाँकी नराखेको दाबी गर्छन् । तर, भदौमा गैंडाको खागविहीन हाडखोर भेटेको क्षेत्रमै अर्को घटना दोहोरिँदा र घटना भएपछि पनि तत्काल चाल नपाउँदा प्रशासनको भूमिकामा प्रश्न खडा भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नियमित गस्तीका क्रममा खाल्डोमा मरेका गैंडा भेटिएको बताएका छन् । घटनाबारे कुनै संकेत सूचना पाएको देखिँदैन । चितवन निकुञ्ज नेपालमा एकसिंगे गैंडाको मुख्य बासस्थल हो । पछिल्लो गणनाअनुसार देशभर ७ सय ५२ गैंडा रहेकामा चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा मात्रै ६ सय ९४ गैंडा छन् । चोरी सिकारी कम भएका समयमा पनि निकुञ्जमा प्राकृतिक र अन्य कारणहरूले एकै वर्षमा ४३ वटासम्म गैंडा मर्दा संरक्षणकर्मीहरू चिन्तित थिए ।

सुराकी संयन्त्रलाई बलियो र व्यवस्थित नबनाउने चलन पुरानै रहेको पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर बताउँछन् । मध्यवर्ती व्यवस्थापन समितिका पूर्वअध्यक्ष भुर्तेल मध्यवर्तीका बासिन्दासँग समन्वय कमी हुँदै गएको बताउँछन् । ‘अहिले त सजाय भुक्तान गरेका पुराना सिकारीहरू धमाधम छुटिरहेका छन्, उनीहरूको गतिविधि निगरानी हुनुपर्ने हो,’ उनले भने, ‘यसमा मध्यवर्तीका बासिन्दाको सहयोग पनि लिँदा हुन्छ । तर, त्यस्तो चलन अहिले कम भएको पाएको छु ।’

चितवन निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका वर्तमान अध्यक्ष प्रकाश ढुंगाना कोरोना समयमा समुदायसँग समन्वय गर्ने काम केही शिथिल भए पनि अहिले त्यस्तो नभएको बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जको स्थापना कालदेखि नै संलग्न रहेका र प्रमुख संरक्षण अधिकृत भएर अवकाश लिएका रामपृत यादव समुदायलाई समेटेर गरिने संरक्षण कार्य प्रभावकारी हुने बताउँछन् । ‘अहिलेको घटनाक्रमले जोखिम बढाएको झैं लाग्छ,’ उनले भने, ‘यस्तो बेला समुदायलाई सजग र सचेत बनाउँदै प्रशासनका सबै इकाई अगाडि बढ्नुपर्छ ।’

प्रकाशित : मंसिर ३, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?